Header Ads

भैरहवा र पोखरामा पनि नेपाल-मलेसिया हवाई उडान गर्न सरकारको प्रस्ताव

काठमाडौं । सरकारले पोखरा र भैरहवामा पनि उडान गर्न मलेसियालाई प्रस्ताव गर्ने भएको छ। दुई मुलुकबीच शुक्रबार हुने हवाई सम्झौता पुनरावलोकनमा नेपालले यस्तो प्रस्ताव गर्न लागेको हो। यी दुई स्थानमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधिन छन्। हाल मेलेसियाका वायुसेवाले काठमाडौंमा मात्र उडान सञ्चालन गरिरहेका छन्। नयाँ विमानस्थल निर्माण पूरा भएपछि नेपालले मलेसियाली वायुसेवाको नेपाल उडान बढाउन कुनै पनि गन्तव्यमा सेवा सञ्चालन गर्न पाउने सुविधासहितको प्रस्ताव गर्ने भएको छ। मलेसियाले नेपाली वायुसेवाले सबै गन्तव्यमा उडान गर्न पाउने गरी अनुमति प्रदान गरिसकेको छ।

 संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले नयाँ सम्झौतामा नेपालले निर्माणाधिन भैरहवा र पोखरासहितका कुनै पनि गन्तव्य (एनी प्वाइन्ट अफ नेपाल) भनेर सम्झौतामा प्रस्ताव गर्न लागेको जानकारी दिए। उनका अनुसार नेपालले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य अगाडि बढाइसकेकोले काठमाडौं बाहिरका विमानस्थलबाट पनि सीधै अन्तर्राष्ट्रिय उडान गर्न यस्तो सम्झौता प्रस्ताव अगाडि सारिएको नेपालले जानकारी दिए। नयाँ विमानस्थल निर्माण पूरा भएपछि नेपालले मलेसियाली वायुसेवाको नेपाल उडान बढाउन कुनै पनि गन्तव्यमा सेवा सञ्चालन गर्न पाउने सुविधासहितको प्रस्ताव गर्ने भएको छ। मलेसियाले नेपाली वायुसेवाले सबै गन्तव्यमा उडान गर्न पाउने गरी अनुमति प्रदान गरिसकेको छ।

 उनका अनुसार नेपालको हित हुनेगरी सम्झौता पुनारावलोकन गरिने भएकोले नयाँ विमानस्थलमा उडान तथा अवतरणको एजेण्ड अगाडि सारिएको हो। सरकारले मलेसियासँग सन् २००७ को डिसेम्बर १२ मा गरेको हवाई सम्झौता पुनरावलोकन गर्न लागेको हो। सम्झौता पुनरावलोकनका लागि बिहीबार र शुक्रबार मलेसियाका प्रतिनिधिमण्डलसँग वार्ता गरिनेछ। सम्झौता पुनरावलोकन गर्न मलेसियाको तर्फबाट मलेसिया सिभिल एभिएसनका उस सचिव पी चन्द्रशेखरनको नेतृत्वमा सात सदस्यीय प्रतिनिधि मण्डल काठमाडौं आइसकेको छ। नेपालको तर्फबाट पर्यटन सचिव सुरेशमान श्रेष्ठले नेतृत्व नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम,नेपाल नागरिक उड्डयन प्राधिकरणसहितको १० सदस्यीय टोली तयार भएको छ।

 मन्त्रालयका अनुसार बिहीबार दुवै पक्षका एजेन्डाका विषयमा बृहत छलफल गरी सम्झौताका लागि एजेन्डा तयार गरिनेछ। नयाँ सम्झौतामा मलेसियाले सातामा ४२ वटा उडान माग गरेको छ। हाल सातामा २८ वटा उडान गरिरहेको मलेसियाको प्रस्तावमा आवश्यक छलफल गर्ने र दुवै पक्षलाई मान्य हुने विन्दूमा सहमति गर्ने उपसचिव नेपालले जानकारी दिए। मलेसियाले जति उडान अनुमति पाउँछ नेपालले पनि त्यति नै प्रयोग गर्न सक्ने हुन्छ। नेपाललाई अहिले ४२ उडानको आवश्यकता नभए पनि मलेसियाको आवश्यकताका आधारमा २८ देखि ४२ भित्र रहेर सहमति हुने पनि मन्त्रालयको भनाइ छ।

 हवाई सम्झौता पुनरावलोकनमा नेपाल र मलेसियाबीच कोड सेयरिङ (एउटा वायुसेवाका यात्रु अर्को वायुसेवार्फत उडान गर्न सक्ने), एनी प्वाइन्ट अफ नेपालसहितका विषयमा पनि सहमति हुनेछ। अहिले मलेसियाबाट मलेसियाली राष्ट्रिय ध्वजाबाहक मलेसिया एयरलाइन्स र मालिन्दोल सातामा सात/सातवटा र एयर एसिया एक्सले सातामा १४ वटा उडान गरिरहको छ। नयाँ सम्झौतामा उडान थपको अधिकार प्रदान गरिए अन्य वायुसेवा आउने वा भएकैले उडान क्षमता बढाउन बाटो खुल्ने मन्त्रालयको भनाइ छ।-समाचार अन्नपूर्ण पोस्ट बाट  साभार !
Powered by Blogger.