Header Ads

टीओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने युवक आफैं पुगे प्रहरीमा

 काठमाडौं, २६ असोज । जेन-जी प्रदर्शनका बेला ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्नेहरु को हुन् भन्नेबारे चर्चा भइरहेका बेला प्रहरीले समेत अनुसन्धान थालेको छ । बिजुलीबजारको पुलमा ‘पेस्तोल’सहितको भिडियो बाहिर आएपछि त्यसबारे प्रहरीले चासो देखाएको थियो ।  


काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले  भने त्यसबारे अनुसन्धान भइरहेको बताए । बाहिर आएका विषयहरुबारे प्रहरीले जाँच गरिरहेको पुष्टि गरेका उनले विस्तृत  विवरण चाहिँ खुलाएनन् ।

तर, प्रहरी स्रोतका अनुसार, हतियार देखाउँदै गरेको भिडियो भाइरल हुन थालेपछि ती व्यक्ति स्वयम् प्रहरीको सम्पर्कमा पुगेका छन् । सुरुमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका तेन्जेन दावाले भिडियोमा देखिएको व्यक्ति आफू भएको बताएका छन् । 

‘उनी त्यहाँ एउटा पेस्तोल जस्तो देखिने चिज लिएर समेत गएका रहेछन्, हामीले अनुसन्धान गरिरहेकाले त्यहाँको प्रहरीले हामीलाई नै पठाइदियो,’ काठमाडौं प्रहरीका एक अधिकृतले भने, ‘त्यसपछि अहिले सोधपुछ भइरहेको छ ।’

स्रोतका अनुसार, दावाले चाहिँ त्यो पेस्तोल सक्कली नभएको बताएका छन् । ‘उसले सक्कली होइन भन्छ, तर त्यो पेस्तोलको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेर समाजमा त्रास फैलाउने काम भएको छ,’ ती अधिकृतले भने । प्रहरीका अनुसार, अहिले भाइरल भएको भिडियोसमेत केही समय पहिलेकै हो ।

‘आन्दोलनमा टीओबीको टिसर्ट र ज्याकेट लगाएका मानिसहरुको भूमिका रहस्यमय रहेको भन्दै चर्चा हुन थालेपछि त्यस्ता टिसर्ट लगाउनेबारे खोजी हुन थाल्यो,’ ती प्रहरी अधिकृतले भने, ‘त्यस्तोमा पुरानो भिडियो पनि भाइरल भएको हुनसक्ने देखिएको छ ।’

जिल्ला प्रहरी परिसर, भद्रकालीमा अहिले ती व्यक्तिसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

Powered by Blogger.