Header Ads

फेरि चम्किइन् साम्बा, अहिलेसम्म ६० खेलमा ६८ गोल गरिसकेकी छिन्

 काठमाडौं, ११ कात्तिक । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ फेरि एक पटक अन्तर्राष्ट्रिय फुटबलमा छाएकी छिन् । उनले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले महिला फुटबलमा भारत विरुद्धको अपराजित यात्रा कायम राखेको छ ।   

ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा खेलमा सोमबार सावित्राकै दुई गोल मद्दतमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो 

इरानसमेत सम्मिलित ट्राईनेसन फुटबलमा इरानले यसअघि नै दुई खेल जितेर उपाधि पक्का गरिसकेको थियो । त्यस कारण नेपाल र भारतबीचको खेल प्रतिष्ठाको लडाईँको रुपमा पनि थियो ।


त्यसका कप्तान सावित्रा नायक बन्दै नेपालल जित दिलाउन महत्वपूर्ण भूमिका खेलिन् । साम्बाले खेलको दोस्रो र ६३औं मिनेटमा गोल गरिन् । भारतका लागि करिस्माले ८१औं मिनेटमा गोल फर्काएपनि पर्याप्त भएन ।


यसअघि पहिलो खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको थियो । त्यसअघि इरानले भारतलाई २-० ले पराजित गरेको थियो ।


नयाँ मुख्य प्रशिक्षक नविन न्यौपानेको पहिलो अन्तर्तराष्ट्रिय भ्रमणमा नेपालले मिश्रित प्रदर्शन गर्‍यो । उनले महिला टिमको प्रशिक्षकको रुपमा डेब्यु खेलमा हार व्यहोरेपनि पहिलो जितको स्वाद भने भारत विरुद्ध नै पाए ।


भारतविरुद्ध ६ वर्षदेखि अपराजित नेपाल


दक्षिण एसियाका कुनै समयमा भारत सबैभन्दा बलियो टोलीको रुपमा थियो । पछिल्लो समयमा बंगलादेश र नेपालले भारतको दबदबालाई तोड्ने काम गरेको छ । साफ महिला च्याम्पियनसिपमा पछिल्लो दुई संस्करणको उपाधि भारतले जित्नुले पनि त्यो पुष्टि गर्छ ।


जसमा दुवै पटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो । सन् २०१९ यता नेपाल भारतसँग हारेको छैन । त्यसमा नेपालले भारत विरुद्ध अपराजित खेल संख्या ५ पुर्‍याएको छ ।


पछिल्लो पटक सन् २०१९ डिसेम्बरमा पोखरामा भएको १३औं साग फाइनलमा नेपाल भारतसँग २-० ले पराजित भएको थियो । त्यसयता नेपालले भारतलाई ३ पटक पराजित गरिसकेको छ । नेपालले अहिलेसम्म भारतलाई ४ पटक हराउँदा ३ जित यही अवधीमा आएको थियो ।


पछिल्लो ६ वर्ष भित्र नेपालले दुई पटक साफ महिला च्याम्पियनसिपमा भारतलाई हराइसकेको छ । सन् २०२२ र २०२४ को साफ महिला च्याम्पियनसिप सेमिफाइनलमा नेपालले भारतलाई समान १-० ले पराजित गरेको थियो ।

यस्तै सन् २०२३ फेब्रुअरीमा भारतको चेन्नाईमा भएको दुई मैत्रीपूर्णमा खेलमा नेपालले भारतसँग बराबरी खेलेको थियो । पहिलो मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिँदा दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।


त्यसपछि भर्खरै भएको मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २-१ ले पराजित गर्दै आफ्नो डोमिनेन्स कायम राखेको हो ।

भारत विरुद्धको जितलाई कप्तान सावित्राले पनि महत्वपूर्ण मानेका छन् । त्यसका पनि भारतलाई उसैको मैदानमा पराजित गर्नु चानुचने कुरा होइन । नेपालले भारतलाई दोस्रो पटक उसैको मैदानमा पराजित गरेको हो ।


यसअघि सन् २०१९ फेब्रुअरीमा भुवनेश्वरमा भएको हिरो वुमन्स गोल्डकपमा नेपालले पहिलो पटक भारतलाई २-१ ले पराजित गरेको थियो । ‘राष्ट्रिय टोलीसँग यो साता मिश्रित नतिजा आयो । तर भारतको चुनौतीलाई फेरि पार गर्नु यो महत्त्वपूर्ण थियो,’ कप्तान सावित्राले आफ्नो फेसकुमा स्ट्याटस लेखेका छन्, ‘एसियान कप गुमाउनुको पिडा अझै छ किनकि हामीलाई थाहा छ कि हामी अझ उचाइमा पुग्न सक्षम छौं ।’


साम्बाको फेभरेट विपक्षी भारत

पछिल्लो समय नेपाल भारतमाथि हावी बनिरहँदा त्यसका कप्तान सावित्रा चम्किएकी छिन् । चाहे भारतलाई हराउन होस् या भारतलाई बराबरीमा रोक्न । त्यसमा सावित्राकै भूमिका महत्वपूर्ण रहँदै आएको छ । भारत विरुद्ध नेपालको प्रदर्शनको आँकडा हेर्दा पनि यो प्रमाणित हुन्छ ।


नेपालले भारत विरुद्ध अहिलेसम्म ४ जित हात पार्दा तीन जितमा सावित्राकै महत्वपूर्ण योगदान छ । उनले दुई जितमा दुई-दुई गोल गरेका छन् भने एक जितमा भारत विरुद्ध पछि परेको अवसथ्मा बराबरी गोल फर्काउँदै खेललाई पेनाल्टीसम्म पुर्‍याएकी थिइन् ।


भारतलाई एक पटक हराउँदा भने रश्मि कुमारी घिसिङले एक मात्र गोल गरेकी थिइन् । यस्तै भारत विरुद्ध चेन्नाईमा २-२ को बराबरी खेल्दा पनि सावित्राले नै दुवै गोल गरेकी थिइन् ।

नेपालले अहिलेसम्म भारत विरुद्ध गरेको कूल १४ गोलमा ९ गोल सावित्राले नै गरेकी छिन् । यसले पनि भारत विरुद्ध सावित्राको प्रदर्शन कस्तो छ भने देखाउँछ ।

यस्तै भारत पनि नेपाल विरुद्ध खेल्दा सावित्रालाई लिएर सजग हुने गर्छ । नेपालसँग पछिल्लो खेलअघि नै भारतीय टिमका प्रशिक्षक कृस्पिन क्षेत्रीले सावित्रा नेपालको महत्वपूर्ण र खतरा खेलाडी भएको बताएका थिए ।


६० खेलमा ६८ गोल

सावित्राले अहिलेसम्म नेपालका लागि ६० खेलमा ६८ गोल गरेकी छिन् । सन् २०१४ मा पाकिस्तान विरुद्ध साफ महिला च्याम्पियनसिपमा डेब्यु गरेकी उनी पछिल्लो एक दशक नेपालको महत्वपूर्ण खेलाडी र मुख्य गोलकर्ता नै बनेकी छिन् ।


नेपालका लागि सर्वाधिक गोलकर्ता बन्ने क्रममा उनले दुई पूर्व कप्तानहरु जमुना गुरुङ र अनु लामालाई पछि पारेकी हुन् ।


सावित्राले गरेका अन्तर्राष्ट्रिय गोलहरू


१) साफ च्याम्पियनसिप, इस्लामावाद २०१४ : १ गोल

२) दक्षिण एसियाली खेलकुद, भारत २०१६ : २ गोल

३) साफ च्याम्पियनसिप, भारत २०१६ : १२ गोल

४) ओलम्पिक छनोट पहिलो चरण २०१८ : १ गोल

५) हिरो गोल्डकप २०१९, भारत : ४ गोल

६) साफ च्याम्पियनसिप २०१९, विराटनगर : ४ गोल

७) ओलम्पिक छनोट, दोस्रा चरण : २ गोल

८) नादेझ्दा कप २०१९, कीर्गिस्तान : ७ गोल

९) मैत्रीपूर्ण खेल २०१६ र २०१७ नेपाल र मलेसिया : २ गोल

१०) दक्षिण एसियाली खेलकुद २०१९, पोखरा : ३ गोल

११) साफ च्याम्पियनसिप २०२२, काठमाडौं : २ गोल

१२) मैत्रीपूर्ण खेल २०२३ : ३ गोल

१३) ओलम्पिक छनोट २०२३, काठमाडौं : १ गोल

१४) वाफ च्याम्पियनसिप २०२४, साउदी अरेबिया : ९ गोल

१५) साफ च्याम्पियनसिप २०२४ : २ गोल

१५) भाएनेट इन्टरनेसनल वुमन्स च्याम्पियनसिप : २ गोल

१७) एएफसी वुमन्स एसियन कप छनोट : ९ गोल

१८) भारत विरुद्ध मैत्रीपूर्ण खेल : २ गोल

Powered by Blogger.