Header Ads

न्यायाधीश बमका हत्यारा स्माइली मगरलाई यसरी गरियो सार्वजनिक

ट्रक ड्राइभरमा साउदी गएका थिए संजय स्माइली मगर
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्ने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान व्यूरोले आज सार्वजनिक गरेको छ ।

 केन्द्रीय अनुसन्धान व्यूरोले आज यहाँ पत्रकार सम्मेलन गर्दै विसं २०६९ जेठ १८ गते ललितपुर युएन पार्कनजिक न्यायाधीश बमलाई गोलीहानी हत्या गर्ने रामेछाप खनियाँपानी–७ का २८ वर्षीय स्माइली मगर रोजगारीका लागि २०७१ मङ्सिर २८ मा साउदी अरब पुगेकामा इन्टरपोलको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।

 चुरे भावर राष्ट्रिय पार्टीका केशव मैनाली र बाबु थापा भन्ने मेघबहादुर थापाबीचको मुद्दामा पार्टीका तत्कालीन उपाध्यक्ष थापाले आफ्नो पक्षमा फैसला नआएको भन्दै न्यायाधीश बमको हत्या गर्न मगरको सहयोग लिएको आरोपमा अभियुक्त मगरलाई पक्राउ गरिएको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिनुभयो ।

 स्माइली मगर पैसाका लागि नभई राजनीतिक लाभका लागि हत्यामा सङ्लग्न भएको अनुसन्धानबाट खुलेको व्यूरो प्रमुख मल्लले बताउनुभयो । मल्लले भन्नुभयो, “हत्यामा सङ्लग्न बाबु थापासहित अन्य चार जनालाई गत पुसमा नै पक्राउ गरिएको थियो, तर स्माइली सवारी चालक भिसामा काम गर्न साउदी अरब पुगेका थिए ।”

 पुसमा पक्राउ पर्नेमा बाबु थापा, शिव भन्ने करन चौधरी, ‘नवीन’ भन्ने प्रेमराज खड्का र दीपक कर्ण रहेका थिए । बाबु थापासहितको समूह पक्राउ गरेपछि इन्टरपोलमार्फत सूचना जारी गरेर स्माइलीलाई पक्राउ गरिएको हो । साउदी अरबमा पक्राउपछि नेपाल ल्याउन अदालतको आदेश चाहिने भएकाले समय लागेको व्यूरोले जनाएको छ ।
Powered by Blogger.