नर्स बन्ने सपना त्यागेर कलाकार भएँ : नायिका वर्षा सिंह क्षेत्री
रामकृष्ण ढकालको चर्चित गित 'भो मायाको कुरै नगरू' बोलको म्युजिक भिडियोबाट आफ्नो अभिनय यात्रा शुरु गरे लगत्तै एका एक चर्चा कमाउन सफल भै २ दर्जन भन्दा बढी म्युजिक भिडियो, हुदै केहि नेपाली चलचित्र तथा विज्ञापनहरुमा आफ्नो अभिनय क्षमता प्रदर्शन गरी नेपाली कलाक्षेत्रमा एक अलग पहिचान वनाएकी वर्षा सिंह क्षेत्रीको सशक्त भूमिका रहेको र सिने क्षेत्रमा महिला निर्माता तथा निर्देशकको अभाव खड्किरहेको अवस्थामा एक जुझारु र प्रतिभाशाली महिला निर्देशक सावित्री खत्रीको बहुप्रतिक्षीत चलचित्र काफल पाक्यो प्रर्दशनको तयारीमा व्यस्त वर्षासंग उहांको बाल्यवस्था तथा समसामयीक विषयमा गर्नु भएको कुराकानीको सारांश ।
वाल्य अवस्था कसरी वित्यो ? सम्झिनुहुन्छ ?
मेरो जन्म महोत्तरी जिल्लाको बर्दीवासमा २०४२ सालमा भएको हो । बाल्यवस्थाको धेरै समय मैले जनकपुरमा विताए । मलाई मेरो परिवारमा सवैले अत्यन्त माया गर्नुहुन्थ्यो । विशेष मेरो मामु मलाई धेरै माया गर्नुहुन्थ्यो । साह्रै हठ र छुच्ची स्वभावको थिए , सानोमा म । घरमा बावाले होम ट्युसन राखी दिनु भएको थियो । खासै घुम्न र खेल्न पाईन्नथ्यो । घरमा अनुशासीत तरिकाले रहनु पथ्र्यो ।

औपचारिक शिक्षा कहांबाट कहिल्यै शुरु गर्नु भयो ?
परिवारमा मलाई राम्रोसंग गुणस्तरीय शिक्षा दिनु पर्छ भन्ने चाहना बमोजिम त्यतीखेरको अवस्थामा नजिकै स्तरीय विद्यालय नभएकोले पनि जनकपुर स्थित भोला सिंह बोर्डिङ्ग स्कूलबाट नर्सरी देखि औपचारिक शिक्षा शुरु गरेकी हुं । जति खेर मेरो उमेर शायद ३ वर्षको थियो । पहिलो पटक विद्यालय जादा म रमाएको थिए, खुशी थिए । तर मामुलाई सम्झेर धेरै रुने गर्थे । कक्षा ४ सम्म सोही विद्यालयमा अध्ययन गरेपछि पुनः बर्दिवास स्थित जनता माध्यामिक विद्यालयमा एकै पटक ७ मा भर्ना भएर अध्ययन गर्न थाले । पछि त्यहि विद्यालयबाट एस.एल.सी २०५५ सालमा प्रथम डिभिजनमा पास गरे । प्लस टुको अध्ययन भने जनकपुरको रारा कलेजमा सकेर काठमाण्डौमा आई पद्य कन्यामा व्याचलर अध्ययन शुरु गरे ।

पढ्नमा कतिको रुचि हुन्थ्यो र पढाई कस्तो थियो ?
मेरो पढाई एकदमै राम्रो पनि होईन नराम्रो पनि थिएन सामान्य नै थियो । तै पनि मेरो बावा मामुको चाहना धेरै पढोस भन्ने नै थियो र त्यसैकारण पनि मलाई सधै होम टिउसनको व्यबस्था गरि दिनु भएको थियो । शिक्षा भनेको महत्वपूर्ण हो भन्ने राम्रोसंग बुझेको थिए । नेपाली विषय गाह्रो लाग्थ्यो , अंग्रेजी अलि पढ्न रुचि हुन्थ्यो र परिणाम पनि त्यसकै राम्रो आउथ्यो ।
बाल्यवस्थामा के मा रुचि हुन्थ्यो ?
मेरो रुचि सानै देखि नृृत्य र अभिनयमा थियो । त्यो पनि जब मैले टेलिभिजन हेर्न थाले तत्पश्चात । मलाई पनि टेलिभिजनमा देखिने गरे जस्तै गरी नाच्न रहर लाग्न थाल्यो र पढ्ने समय सके पछि एक्लै टेलिभिजन खोलेर टेलिभिजनमा देखिने जस्तै नृत्य गर्ने कोशीस गर्थे । मामुसंग घुम्न र चलचित्र हेर्न जान मन लाग्थ्यो ।
सिनेमा क्षेत्रमा लाग्नुको कारण ?
सानै देखि टेलिभिजन र चलचित्र हेर्थे र विशेष गरी नेपाली चलचित्र नै हेर्थे । स्क्रिनमा नृत्य गरेको देखेर एकदम रहर लाग्ने र अरुले गरेको नृत्य हेरेर त्यस बाट सिक्ने क्रममा मेरा केही साथीहरुले देखे पछि विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा मेरो नाम पनि सिफारिस गरे । सांस्कृतिक कार्यक्रमबाट शुरु भएको मेरो नृत्य प्रदर्शनले चर्चा कमाए पछि जिल्लाका विभिन्न स्टेज कार्यक्रममा पनि सहभागी हुन थाले र सवैले मन पराउन थाल्नु भयो । मेरो पहिलो चाहना त नर्स नै थियो । नर्स वनेर विरामीको सेवा गर्ने ठुलो उद्देश्य बोकेर हिडेकी थिए , त्यसै क्रममा मैले जिरी प्राविधिकमा तयारी समेत गरे तर नाम ननिस्के पछि पूनः जनकपुरमा गएर नर्सिङ्गको ईन्ट्रान्स दिए त्यहां भने नाम निस्कियो तर आफुलाई जनकपुर वस्ने त्यति रुचि नभएको कारण काठमाडौ आएर कलेज भर्ना भएर व्यबस्थापन पढे । काठमाण्डौ आए पश्चात वावाले मेरो चाहना वुझ्नु भएको थियो सोही क्रममा सुवाष गजुरेललाई वावाले यसलाई पनि कलाकारितामा रुचि छ, भने पछि उहांकै पहलमा मैले काठमाण्डौमा नृत्य तथा अभिनय सिक्न थालें र त्यसै क्रममा रामकृष्ण ढकालको स्वरमा आलोक नेम्वाङ्गले निर्देशन गर्नु भएको गीतमा अभिनय गर्ने मौका पाए । पारिश्रमीक पनि राम्रै पाए त्यसले झन हौसला बढायो । त्यही गीतबाट मेरो अभिनय यात्रा शुरु भयो । तत् पश्चात अन्य थुप्रै गीतहरुको म्युजिक भिडियोमा अभिनयकोलागि प्रस्ताव आयो र आफ्नो पनि रुचि वढ्दै गयो ।
कस्तो लाग्यो यो क्षेत्र ?
हामीले स्क्रिनमा देख्दा रमाईलो लागे पनि भित्री रुपमा गाह्रो छ । विशेष नायिकाहरुलाई समस्या नै छ भन्छु म । मेरो लागी त परिवारबाटै राम्रो सहयोग छ । म चलचित्र तथा म्युजिक भिडियो छानेर मात्रै गर्ने गर्छु । समाजमा अपाच्य र परिवारमासंगै वसेर हेर्न नमिल्ने खालका कुनै पनि दृष्य म दिन सक्दिन त्यो मेरो दृढता हो । त्यस कारण म भन्दा धेरै पछि आएकाहरु चर्चा चुलिएको देखिन्छ । तर त्यो क्षणिक नै हुने गरेका छन् । जुन कुरा नेपाली दर्शकहरुले पनि बुझ्नु भएको छ । उनीहरु आफै पलायन हुने गरेका छन् । केही त्यस्ता चरित्र भएकाहरुले यस क्षेत्रलाई वदनाम गराउने प्रयत्नमा लागेका छन् । त्यसबाट हामी सिनेकर्मी र नेपाली दर्शक सजग हुनु जरुरी छ र सम्बन्धित निकायले पनि यसलाई अनुगमन गर्नु पर्ने देखिन्छ ।

नेपाली चलचित्र क्षेत्रको भविष्य कस्तो देख्नु भएको छ ?
भविष्यमा नेपाली चलचित्र क्षेत्रलाई कस्तो वनाउने भन्ने कुरा आम दर्शक र यस क्षेत्रका नीति निर्मातामा भर पर्छ । किन कि, समयको माग कस्तो छ, दर्शकको चाहना के छ ? वजार कस्तो छ भन्ने जस्ता साधारण कुराहरु पनि हामी त्यति ध्यान दिदैनौं । नयां नयां प्रविधीहरु आईरहेका छन् । त्यो प्रविधिलाई लिएर जानु जरुरी पर्छ । समय अनुसार र दर्शकको चाहना बमोजिम हामीले यस क्षेत्रलाई अनुशासित र मर्यादित तरिकाले लिएर गएमा भविष्य एकदम राम्रो छ । यस क्ष्ोत्रको वारेमा पूर्ण रुपमा जानकार सिनेकर्मिहरुलाई मात्र नेतृत्व दिए विकास हुन सक्छ । नेपाली दर्शकहरु नक्कली प्रचार प्रसारको भरमा चलचित्र हेर्न जान्छन तर निराश भएर फर्कन्छन् । त्यसले गर्दा राम्रो चलचित्र वनाए पनि सवै त्यस्तै त हुन् नि भन्ने धारणा चिर्नु जरुरी देख्छु । दर्शकबाट पनि विदेशी चलचित्र हेरेर नेपाली चलचित्रको वारेमा कमेन्ट गर्ने वानीलाई निरुत्साहित गर्नु पर्छ । अनि मात्र नेपाली चलचित्र क्षेत्रको विकास सम्भव हुन्छ ।
कहिले सम्म यो क्षेत्रमा रहने सोच राख्नु भएको छ ?
म पूर्ण रुपमा कलाकार हुं । कलाकार भएर बांचेको छु कलाकार भएरै मर्ने प्रण गर्छु । म समय र दर्शकको चाहना अनुसार कहिले कलाकार कहिले निर्माता त कहिले यसै क्षेत्रसंग सम्बन्धित कार्यक्रम आयोजक तथा ईभेण्ट म्यानेजमेन्ट संचालक रुपमा नै रहिरहने छु । मेरो बावा पनि स्वयं यसै क्षेत्रसंग सम्बन्धित भएको र मेरो आफ्नै ईभेन्ट म्यानेजमेन्ट व्यवसायी भएकोले पेशा नै यै रहेनछ ।
अन्तमा, तपाईको बहु प्रतिक्षीत चलचित्र काफल पाक्यो कस्तो वनेको छ ? कतिको आशावादी हुनुहुन्छ ?
दर्शकले धेरै समय पश्चात पृथक धारको चलचित्र हेर्न पाउनु हुने छ । म यो चलचित्रबाट निकै आशावादी छु । प्राय चलचित्रमा नायक हावी भएका चलचित्रमात्र हेर्ने दर्शकलाई नौलो स्वाद छ । यसमा नायिका अर्थात मेरो भूमिका हावी भएको छ । पूर्ण रुपमा नेपाली माटो सुहाउदो चलचित्र बनेको छ । महिलाहरुको लागि अत्यन्त मनोरंजन प्रदान गर्नेछ । गित संगीत पनि दर्शक श्रोताहरुले धेरै मन पराउनु भएको छ । नेपाली चलचित्र नहेर्ने दर्शकलाई पनि यस चलचित्रले हलसम्म पुरयाउनेछ । चलचित्रको प्रोमो मात्र नै सवैले मन पराउनु भएको छ । धेरै पछि नायक जिवन लुईटेलले अलग भूमिका निर्वाह गर्नु भएको छ । पुरुष वाहुल्यता रहेको चलचित्र निर्माण तथा निर्देशन क्षेत्रमा महिलाको अथक प्रयास र मेहनतले चलचित्र सफल हुनेमा आशावादी छु ।
