Header Ads

प्रधानमन्त्रीले नै भ्रष्टाचार गरेपछि जेल सजाय

सोल । दक्षिण कोरियाकी पहिलो महिला प्रधानमन्त्री भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइएको छ । बिहीबार सर्वोच्च अदालतले उनीमाथि लागेको उक्त मुद्दाका सम्बन्धमा यसअघिको अदालतको फैसला सदर गरेपछि उनीलाई जेल चलान गर्न आदेश दिइएको हो । यो फैसलापछि अब उहनीलाई जेल चलान गरिने छ ।

उनीमाथि घुस लिएको आरोप लागेको थियो र त्यस विषयमा मुद्दा पनि जारी रहेको थियो । उक्त मुद्दालाई बिहीबारको सर्वोच्च अदालतको फैसलाले सदर गरिदिएको बताइएको छ । एकहत्तर वर्षीया पूर्व प्रधानमन्त्री हन म्याङ सुकले दक्षिण कोरियामा सन् २००६ देखि एक वर्षसम्म प्रधानमन्त्रीका रूपमा सेवा गरेकी थिइन् ।
उनीलाई सन् २०१० मा नै करिब ७ लाख ६० हजार अमेरिकी डलर बराबरको रकम घुस लिएको आरोपमा मुद्दा परेको थियो । उक्त मुद्दामा भएको सुनुवाईका क्रममा उनको सो आरोप प्रमाणित भएको हो । उनीलाई सार्वजनिक ओहदामा रहेका व्यक्तिले अवैध रकम स्वीकारेको भन्दै त्यसका लागि दुई वर्षको जेल सजाय तोकिएको छ ।

आफ्नो राजनीतिक दलका राष्ट्रपतिका उम्मेदवारलाई जिताउनका लागि सन् २००७ मा व्यापारीबाट घुस रकम स्वीकार गरेको आरोप उनीमाथि लागेको थियो । सन् २०१३ मा कोरियाली उच्च अदालतले सो रकम स्वीकार गरेकोमा दोषी ठहर गरेको थियो । उक्त फैसलाको विरुद्धमा सर्वोच्च अदालतमा अपिलमा पनि गएकी थिइन् ।

उक्त अदालतले यसअघिको अदालतको निर्णयलाई नै सदर गरेको छ । यसअघिको अदालतले पनि उनलाई दुई वर्षको जेल सजाय नै तोकेको थियो । उनलाई यसअघिको फैसलाका कारण स्वतन्त्र छोडिएको भए पनि बिहीबारको यस फैसलापछि जेल चलान गरिने अब पक्का भएको समाचारमा जनाइएको छ ।

उनी दक्षिण कोरियाको पहिलो महिला प्रधानमन्त्री थिइन् भने पूर्व प्रधानमन्त्रीका रूपमा जेल सजाय भोग्ने पनि उनी नै पहिलो प्रधानमन्त्री भएकी छन् । उनी अहिले पनि सांसद छिन् । राष्ट्रिय सभाको सांसदका रूपमा रहेकी उनले अब स्वतः उक्त पद त्याग्नुपर्नेछ ।

तर उनले भने यो फैसला नस्वीकार्ने बताएकी छन् । उनले भनिन्– म यो फैसला स्वीकार गर्ने पक्षमा नै छैन । आफू राजनीतिक रूपमा शिकार भएको बताउँदै उनले भनिन् – मलाई राजनीतिक रूपमा चरित्र हत्या गर्न खोजिएको छ म यो स्वीकार गर्ने पक्षमा छैन ।

– एजेन्सी
Powered by Blogger.