Header Ads

१२ वर्षपछि बडिखेल हत्याको रहस्य यसरी खुल्यो, पत्नीको अवैध यौनसम्बन्ध

काठमाडौं । प्रहरीले १२ वर्षदेखि रहस्यमा रहेको बडिखेल हत्याकाण्डको अनुसन्धान सकेको छ । मदिराको नसामा चन्द्रबहादुर पहरीले बहिनी, ज्वाइँ र भान्जाभान्जीसहित पाँचजनाको हत्या गरेको खुलेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । पहरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

ललितपुरको तत्कालीन बडिखेल गाविसको खेलगाउँ (हाल गोदावरी नगरपालिका)को नगरकोटी परिवारकै पाँचैजनाको घाँटी रेटेर बीभत्स हत्या भएको थियो । १६ असोज ०६० मा भएको सो हत्याको रहस्य हालसम्म खुलेको थिएन । महानगरीय अपराध महाशाखाले सूक्ष्म तरिकाले घटनाको अनुसन्धान गरी पहरीले नै हत्या गरेको तथ्य बाहिर ल्याएको हो ।

 पहरीले बहिनी धनकुमारी, ज्वाइँ हीरालाल भन्ने भानु, भान्जीहरू लुरी र टुकुली तथा भान्जा रवीन्द्र नगरकोटीको हत्या गरेका थिए । प्रहरीले यसअघि पनि शंका गरी पहरीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनको संलग्नता खुलेको थिएन । पारिवारिक झगडाले सो हत्या भएको महानगरीय प्रहरी आयुक्त एआइजी विज्ञानराज शर्माले बताए । प्रहरीका अनुसार घटनाको ५–६ दिनअघि नै पहरीले बहिनी र ज्वाइँलाई मार्ने धम्की दिएका थिए । ज्वाइँ र आफ्नो श्रीमतीको अनैतिक सम्बन्ध रहेको भन्दै उनीहरूबीच झगडा भएको थियो ।

 १६ असोज ०६० अष्टमीका दिन दुवै परिवारले राँगा काटेर भोज खाएका थिए । मदिराको नसामा राति १२ बजे उनी मार्ने योजनाका साथ ज्वाइँको घरमा गएका थिए । दुई परिवारबीचको दूरी करिब ६ मिनेटको बाटो रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्वाइँको घरको ढोका बन्द भएकाले पहरी ट्वाइलेटमाथिको छानाबाट घरको भर्‍याङमा उक्लिए । घरमा मासु काट्न राखिएको दाउ बोकेर उनी बहिनी–ज्वाइँ सुत्ने माथिल्लो कोठामा गएका थिए । कोठामा सुतिरहेका दुईजनालाई दाउले घाँटीमा पटक–पटक हानेर हत्या गरेका थिए । 

बहिनी–ज्वाइँ सुत्ने कोठा भए पनि त्यो दिन भान्जा रवीन्द्र र भान्जी लुरी सुतेको हत्यापछि मात्र पहरीले थाहा पाएका थिए । कोठामा छिरेको जूनको उज्यालोबाट भान्जाभान्जी रहेको थाहा पाएको प्रहरीमा उनले बयान दिएका छन् । भान्जाभान्जीको हत्यापछि दाउ लिएर तल्लो तलामा गई उनले बहिनी, ज्वाइँ र अर्की भान्जीको हत्या गरेको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए । ‘तीनैजनालाई पटक–पटक दाउले घाँटीमा हानेर हत्या गरेपछि उनी दाउ नै लिएर निस्केका थिए,’ एसएसपी खनालले भने, ‘घरको पूर्वतर्फ रहेको खोलामा पुगेर रगत लागेको कपडा फालेर नुहाई अर्को कपडा लगाई बाँसको झाडीमा चुरोट खाई बसेको अनुसन्धानमा खुलेको छ ।’ प्रहरीका अनुसार पहरीले कपडा फेरेर झाडीमा बस्ने वेलासम्म बिहानको करिब तीन बजेको थियो ।

उनी पछि ६ बजे मामाको श्राद्धका लागि पण्डित गोपाल ओझालाई बोलाउन ओझाको घर गएका थिए । साढे १० बजे कान्छो छोरा आई नगरकोटी परिवारको हत्या भएको बताएपछि उनी केही थाहा नभएको नाटक गरी घटनास्थल गएका थिए । सोधपुछका लागि प्रहरीले त्यसवेला नै पक्राउ गरे पनि उनले ढाँटेका थिए । तीन वर्षदेखि चाँगुनारायणमा बस्दै आएका पहरीलाई महाशाखाले यसपटक पक्राउ गरेर अनुसन्धान गर्दा ढाँट्न सकेनन् ।
Powered by Blogger.