Header Ads

पार्वती, के तिमी गर्भैमा नाच्थ्यौ ? (बाल्यकाल देखि अहिले सम्म फर्केर हेर्दा छर्लङ्ग)

पार्वती राई, कलाकार । टुकुटुकु हिँड्न थालेदेखि नै म नाच्थेँ रे । नाच्दै हिँड्थेँ रे । टिभी हेरेर हिरो–हिरोइनले नाचेको नक्कल गर्थें रे । मेरो बुवा भन्नुहुन्छ– तैँले तातेताते हिँड्न थालेदेखि नै नाच्न थालेकी होस् । बुवा दिनभरि काम गरेर थाकेर आउनुहुन्थ्यो । उहाँका लागि मैले एकपटक नाचिदिनुपर्ने । मेरो नाच हेरेपछि उहाँलाई आराम मिल्थ्यो । म फेरि पैसाबिना नाच्दिनँथें । बुवाले पैसा दिएर भन्नुहुन्थ्यो, ‘मेरो जेठा छोरा नाच–नाच ।’ हामी दिदीभाइ छौँ । म जेठी छोरी हुँ, तर सानोमा बुवाले मलाई जेठाछोरा भन्नुहुन्थ्यो । छोरा र छोरीबीच समाजमा जुन भेदभाव छ भनौं । बुवाले मलाई छोरालाई जत्तिकै माया गरेको होला सायद, जेठा छोरा भनेर । बुवाले कला क्षेत्रमा आउन मलाई निकै सपोर्ट गर्नुभयो ।

बुवाले पढ भनेका बेला म निदाउँथेँ । तर, नाच्न भन्नुभयो भने, मेरो अनुहारै उज्यालो हुन्थ्यो । किनभने, पैसा पनि पाइने, पढ्नु पनि नपर्ने । कुनै डान्स कम्पिटिसनका लागि बिहानै रिहर्सलका लागि जानु छ भने म राति १२ बजेतिरै ब्युँझन्थेँ । सानोमा फूपूहरु मलाई लिएर फिल्म हेर्न जानुभएछ, मलाई याद छैन । यो कुरा फूपूले अचेल मलाई सुनाउनुहुन्छ । फूपूहरु फिल्ममा मस्त हुनुभयो होला । जब फिल्ममा गीत बज्न थाल्यो, म उठेर नाच्न थालेँछु । नाच्दै–नाच्दै हलको भर्याङसम्म पुगेँछु र लडेँछु । लड्दै भर्याङ तल पुगेर बेसरी रोएँछु । म चिच्याएर रोएपछि हलमा अरुलाई डिस्टर्ब हुनेभयो । अनि, फूपूहरुले फिल्म नहेरी आउनुभएछ । सानो बच्चामा त त्यति नबुझ्नुपर्ने हो । तर, हिरो–हिरोइन रुदाँ म पनि रुन्थेँ रे ।
बेलाबेला आफ्नै सुरमा पनि नाच्थेँ रे । तर मलाई याद भए अनुसार सबैभन्दा पहिले धेरै मान्छेका सामु नाचेको त्यस्तै एक वा दुई कक्षामा पढ्दा हो । स्कुलको वार्षिकोत्वस थियो । आफ्नै सुरमा नाच्ने भएर पनि होला, पार्वती नाच्छे भन्ने प्रायः शिक्षकहरुलाई थाहा थियो । सबैले मलाई नाच्न भने । म नाचिदिएँ । भोलि स्कुलमा नाच्ने हो, भनेपछि निकै अभ्यास गरेर गएकी थिएँ । लुकिछिपी लुकिछिपी हेर्नेले, सुटुक्क मेरो मन चोर्नेले, बोलको गीत त्यतिबेला हिट थियो । यही गीतमा नाचेँ । सबैले प्रशंसा गर्नुभयो । शिक्षकहरुले निकै हौसला दिनुभयो । पार्वती पछि गएर ठूलो कलाकार हुन्छे भन्नुहुन्थ्यो । स्कुलमा मलाई धेरैले माया गर्नुहुन्थ्यो ।

म जन्मेको त उदयपुरमा हो । तर, म सानै छँदा बुवाआमा काठमाडौं आउनुभयो । म काठमाडौंमै हुर्केकी हुँ । बुवाले काठमाडौंमा व्यापार गर्नुहुन्थ्यो । अहिले हाम्रो टोखामा पशुपालन फार्म छ । बुवाले मेरा लागि एउटा टेपरेकर्ड किनिदिनुभएको थियो । खाली क्यासेटमा तीन रुपैयाँमा एउटा गीत भर्न पाइन्थ्यो । नेपाली फिल्मका गीत भरेर लैजान्थेँ । टेपरेकर्डमा गीत बजाएर नाच्थेँ । सानोमा काठमाडौं जोरपाटी बेसीगाउँमा देउसीभैलो खेल्न खुब हिँडेँ, भाइ र दुई–चारजना अरु साथी बटुलेर । केटाहरुलाई टेपरेकर्डको तार जोड्नका लागि लैजान्थेँ । म लिडर हुन्थेँ । म टेपरेकर्ड बजाएर नाच्थेँ । अरुले ताली बजाउँथे । भाइलाई भने मेरो हिरो बनाउँथे, आफूलाई हिरोइन हुनुपरेको । भाइ पनि मेरो साइडमा हिरोजस्तै बनेर त्यत्तिकै हल्लन्थ्यो । अझ बुवाले मेरो छोरी देउसी–भैलो खेल्न आउँदै छ है, धेरै पैसा दिनु भनेर साथी, छिमेकीलाई भनिदिनुहुन्थ्यो । लाज नलाग्ने केटाकेटी उमेरसम्म मैले यसै गरेँ । पैसा दिएर नाच भनेपछि नाचिदिन्थेँ ।

चाडपर्व पारेर कहिलेकाँही हाम्रो परिवार उदरपुरमा हजुरबा, हजुरआमालाई भेट्न जान्थ्यो । घरको हजुरबाले मलाई नाच्न लगाउनुहुन्थ्यो । म नाच्थेँ । नाचेपछि मलाई सबैले पैसा दिनुहुन्थ्यो । कति राम्रो नाचेकी भनेर फुरुंग पार्नुहुन्थ्यो । यो देखेर मेरो भाइ अति नै इष्र्या गथ्र्यो । केटाकेटी बुद्धि, भाइ मसँगै कम्पिटिसन गरेर नाच्थ्यो । अहिले ऊ करातेको गुरु छ, सिभिल इन्जिनियरिङ गर्दै छ । यसरी गाउँ गएका बेला मावलीगाउँ, उदयपुर कटारी पनि जान्थ्यौँ । कटारीमा हजुरबाको ठूलो किनारा पसल थियो । व्यापारकै सिलसिलामा हजुरबा कहिलेकाहीँ इन्डिया जानुहुन्थ्यो । उहाँसँग भारतीय नोट हुन्थ्यो । उहाँले मलाई भारतीय नोट दिएर नाच्न लगाउनुहुन्थ्यो । मेरी नातिनी कति राम्रो नाचेकी भनेर टाउकोमा फूल लगाइदिनुहुन्थ्यो । भारतीय नोट पाउन, हजुरबाको माया पाउन पनि म मामाको घर जानेबित्तिकै नाच्थेँ । म मामाघर गएको वरपरकालाई थाहा भइहाल्थ्यो । अब पार्वती नाच्छे भनेर वरपरका मान्छे हेर्न आउँथे । मजस्तै साना केटाकेटी भने मलाई हजुरबाले दिएको भारतीय नोट हेर्न खोज्थे । मलाई पनि ठूलो पैसा पाएँछु जस्तो लाग्थ्यो ।

मैले धेरै स्कुल फेरेँ । बुवाले धेरै ठाउँमा कोठा सर्नुभयो, कोठा सरेपछि पहिलेको स्कुल टाढा हुन्थ्यो । नजिकैको स्कुलमा भर्ना हुन्थेँ । सबैभन्दा पहिले महांकालको अरुणोदय माविमा पढेँ, त्यसपछि सिद्धार्थ बोर्डिङ स्कुल, हिलारी बोर्डिङ स्कुल । अरुणिमा हाइहर सेकेन्डरी स्कुलबाट एसएलसी गरेँ । इन्टर जय देवकोटा मल्टिपल कलेजबाट गरेँ । बिए आरआरबाट गर्दै छु । पछिल्लो समय कलाकारितामा लागेपछि पढाइ केही डिस्टर्ब भएको छ ।

नृत्यकक्षा मैले तीन–चार कक्षा पढेपछि लिएकी हुँ । पहिले प्रेमलाल श्रेष्ठको डान्स सेन्टरमा सिकेकी हुँ । त्यसपछि अरुण घिमिरेको डान्स सेन्टरमा सिकेँ । सात–आठमा पढ्दा स्कुलमा डान्स प्रतियोगिता भएको थियो, म प्रथम भएकी थिएँ । सुरु–सुरुमा डान्स कम्पिटिसनहरुमा भाग लिएँ । राष्ट्रिय नाचघरमा त्यतिबेला विभिन्न संस्कृतिका नृत्य प्रतियोगिता भइरहन्थे । समूहमा नाच्थेँ । ०६२ सालतिर होला, कान्तिपुर टेलिभिजनको भोलिको नेपाल कार्यक्रम भाग लिएँ । यो हो मेरो माइतीघर बोलको गीतमा नाचेकी थिएँ, प्रथम भएँ । त्यसपछि मलाई म्युजिक भिडियोहरुमा अफर आउन थाल्यो । अहिलेसम्म झन्डै चार सय गीतको भिडियोमा नृत्य गरेकी छु । म थुप्रै तीज गीतमा नाचेकी छु । तीज राईहरुको खास पर्व त होइन तर मेरी आमा निकै धार्मिक हुनुहुन्छ । राई संस्कृति भए पनि मेरी आमा व्रत बस्नुहुन्छ, बिहान–बेलुका पूजापाठ गर्नुहुन्छ । त्यही भएर पनि होला मलाई तीज फापेको छ ।

अमेरिका, अस्ट्रेलिया, मलेसिया, कतार, दुबई, बहराइन, हङकङलगायत देशका गएर आफ्नो नृत्य कला प्रदर्शन गरेकी छु । अमेरिका, अस्ट्रेलियामा रहने नेपाली माझ पुग्दा मलाई कमैले चिन्छन् जस्तो लाग्थ्यो । उनीहरुले पपगीतमा खेल्ने मोडल, पप गायकगायिकालाई मन पराउँछन् होला भन्ने सोच्थेँ । लोकगीत सुन्दैनन् होला जस्तो लाग्थ्यो । तर, नेपालीले जहाँ गए पनि आफ्नो संस्कृति भुल्दा रहेनछन् । अमेरिकाको कुरा हो । न्युयोर्कमा प्रस्तुतिपछि प्रेस मिट थियो । एकजनाले सानी छोरी लिएर आउनुभएको थियो । उहाँले भन्नुभो, ‘म तपाईंको नृत्यको प्रशंसक त भइहालेँ । मभन्दा पनि मेरी सानी छोरी तपाईंकी फ्यान छे । तपाईंको नृत्य युट्युबबाट डाउनलोड गरेको छु, छोरीकै आग्रहमा । सुत्ने बेला मेरी छोरीलाई तपाईंको नाच एकपटक हेर्नैपर्छ ।’

अमेरिकाको अटलान्टा भन्ने ठाउँमा पुगेँ । त्यहाँ नेपालीभाषी भुटानीहरु हुनुहुन्थ्यो । परिवारका सबैजना काममा जानुहुँदो रैछ । वृद्धवृद्धा भने घरमै बस्नुहुन्थ्यो । एकजोडी वृद्धाको बसिबियाँलो मेरो नाच रहेछ । उहाँहरुका छोराछोरी, नातिनातिनाले युट्युबबाट मेरा नयाँ–नयाँ म्युजिक भिडियो, स्टेज पर्फर्मेन्स, डाउनलोड गरिदिनुपर्दो रैछ । त्यहाँ पुग्दा ती वृद्धवृद्धाका नातिनातिनाले मलाई भेटे र भनेँ, ‘हाम्रो हजुरबा, हजुरआमाको दिन काट्ने मेलो नै तपाईंको नृत्य हो ।’ उहाँहरुले मलाई भेट्न पाएकोमा खुसी देखाउनुभयो । यस्ता कुराले अर्कै आनन्द मिल्छ ।

स्टेजमा नाच्दा दर्शकहरु मसँगै नाच्न आउनुहुन्छ । विदेशमा यो अलि कम हुन्छ । किनभने, त्यहाँको स्टेज अग्लो र झकिझकाउ हुन्छ । स्टेजमा उक्लने हिम्मत कमैले गर्छन् । तर, देशभित्रैका कार्यक्रममा म नाचिरहेका बेला थुप्रै दर्शक सँगै नाच्न आउनुहुन्छ । यसरी नाच्नेमा महिला–पुरुष दुवै हुन्छन् ।

खासगरी पश्चिमतिरका कार्यक्रममा बढी पुरुष दर्शकले माया देखाउँछन् । ‘आई लभ यु पारु’ भनेर चिच्याउँछन् । कार्यक्रम सकिएपछि कति केटाहरुले नजिकै आएर ‘पाए त बिहे गर्थें’ भन्छन् । कतिले ‘संसारकै सुख दिन्छु भन्न पनि भ्याउँछन्’ हाँसेर टारिदिन्छु । खुसी पनि लाग्छ । यो सबै मेरो कलालाई भनिएको हो । यसको मतलब मेरो प्रतिभालाई माया गरिएको हो । नत्र मेरोजस्तो रुप हुने थुप्रै छन्, मलाई नै भन्नुपर्ने के थियो र ?

मेरो नाच हेरिसकेपछि कति अभिभावक आएर भन्नुहुन्छ, ‘कति राम्रो नाचेको, मेरी छोरीलाई पनि तपाईंजस्तै बनाउने मन छ । तपाईंले कहाँ डान्स सिक्नुभयो ? मेरी छोरीलाई कहाँ सिकाउने होला ?’ उहाँहरुलाई जहाँ सिकाए पनि हुन्छ । तर, निरन्तरता ठूलो कुरा हो भन्छु । भर्खरै स्याङ्जाको खाल्टेगाउँ होमस्टेमा म्युजिक भिडियोका लागि गएकी थिएँ । गुरुङ गाउँ रहेछ । त्यहाँ एकजना इन्डियन आर्मीका पेन्सनवाला हुनुहुँदो रहेछ, क्याप्टेनबा । उहाँले सुरुमा मलाई सोल्टिनी भनेर रमाइलो गर्नुभयो । हामी केही दिन बस्यौँ । उहाँले म नाचेको हेर्नुभयो । आउने बेला उहाँले मलाई छोरी भनेर बिदाइ गर्नुभयो । उहाँले मलाई छोरी भनेर बिदाइ गर्दा परिस्थिति नै भावुक भएको थियो । जस्तो कि म उहाँकै छोरी हुँ र म धेरै दिनका लागि टाढा जाँदै छु । 
(ध्रुवसत्य परियारसँगको कुराकानीमा आधारित । रातोपाटि डट कम बाट ।)
Powered by Blogger.