Header Ads

भ्रष्टाचारको जालोमा फिफाः उपाध्यक्षसहित सात वरिष्ठ अधिकारी पक्राउ

जुरिच, (एजेन्सी) जेठ १४ । भ्रष्टाचारको आरोपमा विश्व फुटबलको नियामक निकाय फिफाका सात वरिष्ठ अधिकारीहरुलाई बुधबार जुरिचबाट पक्राउ गरिएको छ । उनीहरुको पक्राउपछि अमेरिका र स्वीडेनमा दुईवटा फरक अनुसन्धान शुरु गरिएको छ ।

स्वीटजरल्याण्डका अधिकारीहरुले सन् २०१८ र २०२२ को विश्वकप फुटबलको आयोजक छनौटका क्रममा भ्रष्टाचार भएको भन्दै फरक अनुसन्धान शुरु गरेको हो । सातजना वरिष्ठ अधिकारीहरुसहित १४ जनालाई अनुसन्धानको दायरामा राखिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
भ्रष्टाचार काण्ड मच्चिएपनि फिफाले अगामी शुक्रबार हुन गइरहेको अध्यक्ष पदको चुनाव भने नरोकिने भएको छ । फिफामा पाँचौं कार्यकालका लागि प्रमुख प्रत्यासी रहेका अध्यक्ष सेप ब्लाटर भने पक्राउ पर्ने सात जना मध्येमा रहेका छैनन् । यसको साथै अनुसन्धान भएपनि फिफाले सन् २०१८ र सन् २०२२ को विश्वकप आयोजक छनौट प्रक्रिया रद्द वा पुनः छनौट नहुने प्रष्ट पारेको छ ।

यसपटक अध्यक्ष पदका लागि ब्लाटरको प्रतिद्वन्द्वी मानिएका जोडर्नका राजकुमार अलि बिन अल हुसेनले आजको दिनलाई फुटबलको इतिहासमा दुःखद् दिनको संज्ञा दिएका छन् । आज जुरिचमा रहेको फिफाको मुख्यालयमा पनि छापा मारिएको थियो जहाँबाट आवश्यक कागजात जफत गरिएको छ ।

जरासम्म भ्रष्टाचार
अमेरिकी न्यायीक विभागले भ्रष्टाचारमा १४ व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको जनाएको छ । यसमा फिफाका पूर्व उपाध्यक्ष ज्याक वार्नरसमेत रहेका छन् । उनीमाथि २४ वर्षको कार्यकालमा घुसबापत् १ सय ५० मिलियन डलर अकुत सम्पत्ति कमाएको आरोप छ । आज पक्राउ पर्ने सात जनालाई प्रहरीले एउटा पाँच तारे होटलबाट पक्राउ गरेको थियो ।

 पक्राउ पर्नेमा फिफाका उपाध्यक्ष तथा कोनकाफका प्रमुख जेफ्री वेभ, कोस्टारिका फुटबलका प्रमुख एडवार्डो लि, भेनेजुएला फुटबलका अध्यक्ष राफायल एस्क्यिुभेल, दक्षिण अमेरिकी फुटबल संघका कोनमेबोलका अध्यक्ष युजिनो फिगुएर्डो, फिफा क्लब सदस्य हाजे मारिया मारिन, फिफा विकास अधिकारी हुलियो रोचा र कोनकाफका प्रमुखका एटाचे कोस्टास टाकास रहेका छन् । ‘फिफामा भ्रष्टाचार जरासम्म गाढिएको देखिएको छ ।

त्यहाँ जताततै व्यवस्थितरुपमा भ्रष्टाचार भएको पाइएको छ,’ अमेरिकी महान्यायाधिवक्ता लोरेटा लिन्चले भनिन् । अमेरिकी न्यायीक विभागका अनुसार धेरैले आफ्नो आरोप स्वीकार गरिसकेका छन् । यसमा कोनकाफका पूर्व प्रमुख चाल्र्स ब्लेजरसमेत रहेका छन् । ब्लाजरले एफबीआईसँग काम गरेर यस अनुसन्धानमा सहयोग गरेको अमेरिकी मिडियाले बताएको छ ।

छुन सकेन ‘काला राजकुमार’ ब्लाटरलाई
यति लामो समयसम्म फिफाको अध्यक्ष भएर काम गरिसक्दा र बारम्बार भ्रष्टाचारको कुरा उठिरहँदा आश्चर्यजनक रुपमा सेप ब्लाटरलाई भने कसैले केही गर्न सकेको छैन । एउटा स्वीस पत्रिकाले ब्लाटरलाई फुटबलका ‘काला राजकुमार’को संज्ञासमेत दिएको छ ।

 सेप ब्लाटर सँधै बाँच्छन् किनभने उनी र घुसको बीचमा कोही न कोही आउँछ, स्वीटजरल्याण्डका एक सांसदले भने । सन् २०१८ र २०२२ को विश्वकपको आयोजक छनौटको विषयमा लिएर फिफा विवादको घेरामा रहँदै आएको छ ।
Powered by Blogger.