Header Ads

जब राहात सामग्री बाटोमै यसरी लुटिन थाल्यो… ‘त्रिपालको ठाउँमा जस्तापाता माग्न थाले, हामीले कहाँबाट दिने हो ?

काठमान्डौ । भूकम्प पीडितका लागि पठाइएको राहत सामग्री बाटोमै लुटिन थालेपछि गोरखाका पीडित युवाले स्कर्टिङ गरेर गाउँमा राहत सामग्री पुर्‍याउनु परेको समाचार प्राप्त भएको छ । राहत सामग्री बोकेको ट्रक तथा ट्र्याक्टरलाई गोरखाको बाह्रकिलो बजारदेखि अघिपछि स्कर्टिङ गरेर युवाले गाउँमा राहत सामग्री पुर्‍याएका हुन् । माथिल्लो खोप्लाङका लागि सदरमुकामबाट लगिएको राहत सामग्री तल्लो खोप्लाङ क्षेत्र (खारखोला) मा भूकम्पपीडितले नै लुटेपछि अहिले राहत सामग्री बोकेका ट्रक ट्र्याक्टरलाई स्कर्टिङ गरिएको हो ।
 राहत सामग्रीको दुरुपयोग रोक्न सुरक्षाकर्मी खटाइएको स्थानीय प्रशासनले जनाएको छ । त्यस्तै, प्रहरीले आँबुखैरेनी गोरखा सडकखण्डमा स्कर्टिङ गरेर सोमबार दिउँसो एकदर्जनभन्दा बढी राहत सामग्री बोकेका गाडी जिल्ला दैवी प्रकोप उद्धार समितिको मातहतमा ल्याएको छ । क्षेत्र नं १ र २ को अधिकांश गाविसमा सडक सञ्जाल पुगेको छ । त्यस क्षेत्रमा गाडीमार्फत राहत सामग्री पठाइएको छ । राहत बोकेका गाडीमा स्थानीय भूकम्पपीडितसँगै सुरक्षाकर्मी पनि साथ रहन्छन् । विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकलगायतका क्षेत्रमा रहेका गाविसमा सडक पहुँच छैन । त्यहाँ हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको छ ।

 गोरखाको क्षेत्र नं २ स्थित गाँखु गाविसका १२ जना युवाले राहत सामग्री बोकेको ट्रकलाई स्कर्टिङ गरेर गाउँमा राहत सामग्री वितरण गरेका छन् । भारतबाट आएको एक एलपी ट्रकमा रहेको खाद्यान्न तथा त्रिपाललगायतका राहत सामग्री बोकेको ट्रकलाई स्थानीय युवाले स्कर्टिङ गरेका हुन् । त्यो राहत सामग्री गाँखु गाविस–५ का भूकम्पपीडितलाई बाँडिएको छ । त्यस्तै, राहत सामग्री लिएर क्षेत्र नं ३ को आरुघाट बजारतर्फ जाँदै गरेको बोलेरो महेन्द्रा जिपका चालकलाई स्थानीयवासीले लछारपछार गरेपछि स्थानीय प्रशासनले अहिले राहत सामग्री बोकेका गाडीमा सुरक्षाकर्मी राखेको छ ।

एक जना सशस्त्र प्रहरी र दुई जना नेपाल प्रहरीले राहत सामग्री बोकेर गाउँतर्फ गएका गाडीको सुरक्षा गर्दै आएका छन् । यता प्रहरी प्रधान कार्यालयले राहत ओसारपसारको क्रममा लुट्ने प्रयास भएमा गोली हान्न समेत निर्देशन दिएको छ । अधिकांश ठाउँमा राहत पुगिसकेको र कतै लुटिने काम भएमा अब पिडितबाट नभई अपराधीक समूहबाट त्यस्तो काम हुने भन्दै अपराधीकै रुपमा व्यवहार गर्न प्रहरी प्रधान कार्यालयले मातहतलाई निर्देशन दिएको हो । उता ओखलढुंगामा भूकम्प पीडितहरुका लागि विभिन्न संघ संस्थाहरुले उपलब्ध गराएको राहत सदरमुकाम थन्किएको छ । ढुवानीमा समस्या तथा सरकारी वितरण संयन्त्र गाउँमा नहुँदा राहतको खाद्यन्न सदरमुकाममै थन्किएको हो ।

ओखलढुंगामा १७ हजार ८ सय घरबार बिहीन भएका छन् । हालसम्म पाँच हजार मात्र पाल वितरण भएको छ । कतै कतै पीडितले दोब्बर राहत माग्न थालेका छन् भने एकपटक पनि नपाएका पीडित भने सरकार कतिखेर राहतको पोको बोकेर आउला भनेर आश गरिरहेका छन् । शहर र शहरबाट नजिक रहेका गाउँमा राहत पुगेपनि पनि टाढा त पुग्दै पुगेको छैन, किनभने राहत बीचबाटोमै कब्जा हुन्छ । यो पनि गाउँमा राहत नपुग्नुको मुख्य समस्या हो । दृष्य के देखियो भने जहाँ राहत पुगेको छ ५/७ दिनपछि त्यहाँ एकपटक पनि राहत नपुगेको जस्तो देखिन थालेको छ । अहिले पिडितको रोजाई बढेको पनि बताइएको छ ।

‘पानी, चाउचाउ र बिस्कुट माग्दै आएका पीडितले अब भात माग्न थाले, कोहीकोहीले त पुलाउ चाहियो भन्नेसम्म पनि सुनियो ।’ राहत वितरणको काममा व्यस्त एक सहभागीले भने , ‘त्रिपालको ठाउँमा जस्तापाता माग्न थाले, हामीले कहाँबाट दिने हो । केही ठाउँका पीडितले एक प्याकेट चाउचाउ र एक बोत्तल पानी पनि नपाउने तर केही स्थानकाले मँहगा र सुविधायुक्त राहतका सामग्री खोज्नु गलत हो । टाठाबाठाले दोब्बर र महँगा सामानको माग गरिरहँदा गरीब र बोल्न नसक्ने चाहिँ एकछाक खान नपाएर मर्ने अवस्था आउन नदिन सरकारले समानुपातिक हिसाबले राहत वितरण गर्नु पर्छ ।
Powered by Blogger.