यो तस्बिरको वास्तविक यस्तो हो - तपाई पनि वास्तबिकता जान्नुहोस !
काठमान्डौ । आफ्नो दाजुको अंगालोमा रहेकी बालिकाको यो तस्वीर हेर्दा बालिका निकै तर्सेको र दाजुले ढाढस दिए जस्तो देखिन्छ । तस्वीरलाई नेपालका भूकम्प पीडित बालबालिका भन्दै विभिन्न क्याप्सनहरु राखेर सामाजिक सञ्जालमा शेयर गरिएको छ ।

भारतीय केही टेलिभिजन च्यानले त आमाबाबु गुमाएका बालबालिका भनेर यो तस्वीर दोर्याई तेर्याई देखाएर ‘ठूलै’ समाचार बनाए । कहाँ सम्म भने यी दुई दाजुबैनी अहिले कहाँ कस्तो अवस्थामा छन् भनेर खोज्न समेत आग्रह गरियो । फरक वास्तविकता यो तस्वीरको वास्तविकता भने फरक छ । करिब एक दशकअघि उत्तरी भियतनाममा खिचिएको तस्वीर हो यो ।
भियतनामका फोटोग्राफर ना सन गुएनले सन् २००७ मा खिचेको तस्वीर हो यो । नेपालमा भूकम्पपछिको तस्वीर भन्दै शेयर र भारतीय टेलिभिजनले समेतले देखाउन थालेपछि उनले आफ्नो ट्विटर ह्याण्डल @nasonnguen बाट यसबारे स्पष्ट पारेका थिए । #GoHomeIndianmedia भनेर ट्विट गर्नेहरु केहीले चाहीं भारतीय मिडियाको खिसिट्युरी गर्दै यो तस्वीर शेयर गरे ।
फोटोग्राफर ना सन गुएनले बीबीसीलाई बताए अनुसार उनले यो तस्वीर सन् २००७ मा भियतनामको क्येन ताई गाउँमा खिचेका थिए । “म त्यस गाउँ हुँदै गइरहेको थिए त्यसैबेला मेरो आँखा यि दुई बालबालिकामा पर्यो,” उनको भनाई बीबीसीले उद्धृत गरेको छ,“यिनीहरुका बाबुआमा खेतमा गएकाले उनीहरु घर बाहिर खेलिरहेका थिए । अचानक अपिरिचित व्यक्ति देखेपछि बैनी चाहीं रुन थालिन् । त्यसैबेला दाजुले बैनीलाई अंगालो हाले ।” ना सनले यो तस्वीर आफ्नो ब्लगमा राखेका थिए ।
बीबीसीका अनुसार यो तस्वीर त्यसको तीन वर्षपछि ‘छोडिएका अनाथ’ क्याप्सन सहित फेसबुकमा शेयर भएको थियो । उनी भन्छन, “कसैले यो तस्वीरलाई बर्माका अनाथ बालबालिका भने, कसैले सीरियाका युद्ध पीडित भन्दै शेयर गरे ।”
पछिल्लो समय नेपालमा गएको भूकम्पमा बाबुआमा गुमाएका बालबालिका भन्दै हिन्दी न्यूज च्यानले पनि देखाए ।-न्यूजअभियान डट कम बाट
