Header Ads

सौन्दर्य प्रतियोगिताको ताज बिजेता के भन्छन् ?


सौन्दर्य प्रतियोगिताको लहर चलेको छ अहिले। वार्षिक दर्जनौं शीर्षकमा यस्ता प्रतियोगिता हुने गरेका छन्। भाषा, संस्कृति, भेषभूषा एवं मौलिकताको संरक्षणदेखि युवापुस्ताको प्रतिभा प्रस्फुटन, आत्मविश्वासमा अभिवृद्धि, व्यक्तित्वमा विकास हुने दाबी आयोजकको हुन्छ। 
आयोजकको स्वरमा स्वर मिलाउँछन् विजेता। कतिपयले सामाजिक कार्यमा उदाहरणीय कार्य पनि गरेका छन्। सन् २०१५ का लागि भएका सौन्दर्य प्रतियोगिताका विजेता यस बारेमा के भन्छन् त? केही प्रतिनिधि विजेताको अनुभूति :
प्रतिभाको महत्त्व बुझेँ
विष्णु चेम्जोङ, मिस लिम्बू
मिस लिम्बू २०१५ को ताज पहिरिन पाउनु मेरो लागि ठूलो खुसीको कुरा हो। यस समुदायमा सबैको ध्यान आफूतिर आकर्षित भएको पाएकी छु। 
उपाधिसँगै विभिन्न क्षेत्रमा काम गर्ने अवसर प्राप्त भएको छ। आत्मविश्वासमा वृद्धि भएको छ।
प्रशिक्षणका क्रममा धेरै कुरा सिक्ने अवसर पाउनुका साथै आफूमा निहित प्रतिभाको महत्त्व पनि बुझ्ने मौका पाएकी छु। 
अब मेरो लक्ष्य र चाहना भएको आफ्नो समुदायको भाषा, संस्कृतिको प्रवद्र्धन गर्नु हुनेछ। यसमा सबैको साथ पाउने विश्वास लिएकी छु।

भाषा संस्कृति बिर्सिए
सरिना स्थापित, मिस नेवा

मिस नेवा: प्रतियोगिता जित्दा मैले नसोचेको खुसी पाएँ। खुसीसँगै जिम्मेवारी पनि थपिएको छ। 
नेवारी समुदायको प्रतिनिधित्व गर्दै समाजका लागि केही गर्ने मेरो चाहना छ। खासगरी युवा पुस्ताले नेवार संस्कृति र भाषा बिर्संदै गएका छन्। 
भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन थोरै भए पनि योगदान दिन सकें भने यो ठूलो उपलब्धि ठान्नेछु। 
कतिपय नेवारी समुदायमा अझै परम्परावादी सोच छ। मानव जीवनका लागि उपयोगी नहुने परम्परा समाजबाट हटाउने प्रयास गर्नु सबैको जिम्मेवारी हो। 
मिस नेवाका रूपमा यसमा म पनि लाग्नेछु।
उपाधि ठूलो कुरा
रोइलिङ थापा, मिस नेसनल
मिस नेसनलमा भाग लिएपछि मैले धेरै कुरा सिक्ने मौका पाएँ। यो अनुभव जीवनभरको लागि उपयोगी हुने विश्वास लिएको छु। 
प्रतिभावान् युवायुवतीका लागि यस्तो प्रतियोगिता राम्रो अवसर हो। 
जसले जुनसुकै क्षेत्रमा प्रवेश गर्न र आफूमा भएको प्रतिभा उजागर गर्न बाटो सहज बनाइदिन्छ। 
प्रतियोगितामा सहभागी भई उपाधि जित्नु नै मेरो लागि ठूलो उपलब्धि हो। साथसाथै आत्मविश्वास बढेको छ। 
सामाजिक कार्यमा योगदान दिने अवसर पाएको छु। यसलाई म जीवनको महत्त्वपूर्ण उपलब्धि ठानेकी छु।
जिम्मेवार महसुस भएको छ
संगीता नापित, मिस नेपाल कल्चर
सौन्दर्य प्रतियोगितामा सहभागी भएपछि आत्मविश्वासमा वृद्धि भएको छ। अरूबाट राम्रो कुरा सिक्ने बानीको पनि विकास भएको छ। 
जुनसुकै परिस्थितिमा आफैं लड्न सक्ने आत्मविश्वास छ। यसलाई मैले जीवनको मन्त्रको रूपमा लिएकी छु। 
सौन्दर्य प्रतियोगिताले यी कुरासँगै जिम्मेवार बनाएको छ। बाँचुन्जेल नेपाली संस्कृति संरक्षणका लागि काम गर्नेछु। 
सधैं नेपाली भएर बाँच्नेछु। शीर्ष उपाधि जितेपछि सामान्य व्यक्तिभन्दा बढी जिम्मेवार महसुस भइरहेको छ।
शैक्षिक चेतना फैलाउँछु
सजुम कटुवाल, कलेज दिभा अफ दि इयर
सौन्दर्य प्रतियोगिताले जीवनका लागि धेरै उपयोगी कुरा सिकाएकोछ। 
बोल्ने, हिँड्ने, अरूसँग व्यवहार गर्ने तरिका सिक्न पाएँ। ममा आत्मविश्वास बढेको छ। 
यसले स्वावलम्बी बनाउने पक्का छ। कतिपय कुरा सिकेर मात्र हुँदैन त्यसलाई प्रयोग पनि गर्न सक्नुपर्छ।
यो कुरा हरेक युवाले मनन् गर्दै अगाडि बढ्न आवश्यक छ। गरिब र महिलाका लागि अझै शिक्षा सहज भइसकेको छैन। 
शिक्षाबिना विकास सम्भव छैन।त्यसैले म शिक्षासम्बन्धी सचेतना फैलाउन चाहन्छु।-स्रोत:साभार/अन्नपूर्ण पोस्ट् डट कम बाट
Powered by Blogger.