११ वर्षमै स्नातक पास गरेपछी अमेरिकाको राष्ट्रपति बन्ने लक्ष्य
एजेन्सी । केही समयअघि अमेरिकामा एक जना वर्षका वृद्धले स्नातक उत्तीर्ण गरेको समाचार आयो र सबैलाई अचम्मित बनायो । अमेरिकामै फेरि अर्को अचम्म भएको छ । एकजना ११ वर्षका बालकले स्नातक उत्तीर्ण गरेर सबैलाई छक्क पारिदिएका छन् ।

क्यालिफोर्नियाको साक्रामेन्टोमा बस्ने तनिष्क अब्राहम नामका बालकले अमेरिकन रिभर कलेजबाट १८ सय विद्यार्थीसँगै मे २० मा स्नातक डिग्री हासिल गरेका हुन् । उक्त कलेजबाट स्तानक डिग्री हासिल गर्ने अब्राहम अहिलेसम्मकै कान्छो विद्यार्थी रहेको कलेजले जनाएको छ ।
तनिष्कले गणित, विज्ञान र विदेशी भाषा अध्ययन गरी ३ विषयमा स्नातक गरेका हुन् । उनले १० वर्षको उमेरमै हाइस्कुलको परीक्षा पास गरेका थिए र ७ वर्षको उमेरदेखि नै अमेरिकन रिभर कलेजमा अध्ययनरत थिए । उनी ४ वर्षको उमेरदेखि नै मेन्सा इन्टरनेसनलको सदस्य रहेका थिए ।
मेन्सा इन्टरनेसनल निकै तिक्ष्ण बुद्धि भएका मानिसहरुको यस्तो अन्तराष्ट्रिय संगठन हो जसमा निकै उच्च आइक्यू स्तर भएका मानिसहरु सदस्य हुन्छन् । स्मरण रहोस् गत वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई बधाइ दिएर क्षमताको प्रसंसा गर्दै पत्र लेखेपछि तनिष्क चर्चामा आएका थिए ।

