Header Ads

कहाँ छन् आठ लाख त्रिपाल ? शून्य भन्सारमा ल्याएका त्रिपाल व्यवसायीद्वारा दुरुपयोग

काठमाडौं, जेठ ४ । शून्य भन्सार सुविधा पाएपछि व्यापारीहरूले दुई साताभित्र साढे आठ लाख थान टेन्ट, त्रिपाल र तारपोलिन भित्र्याएका छन्। तर ती सामान भूकम्पपीडित नागरिकले सहजै बजारबाट सस्तो मूल्यमा खरिद गर्न नपाएपछि व्यापारीलाई दिइएको सुविधा नियन्त्रण गर्ने निर्णयमा सरकार पुगेको छ। सरकारले नागरिकलाई सहुलियत दरमा टेन्ट र त्रिपाल खरिद गर्न दिने सुविधा दिए पनि व्यवसायीले त्यसको दुरुपयोग गरेका छन्। केही स्थानमा व्यवसायीले त्रिपाल र पाल लुकाएको घटना बाहिर आएको छ।

यसले भन्सार छुटमा भित्र्याएको त्रिपाल र पालमा कतिपय व्यवसायीले बढी मूल्य असुली कालोबजारी गरेको पाइएपछि आइतबार भन्सार विभागले त्यस्ता व्यवसायीमाथि निगरानी राख्न पत्राचार गरेको छ। व्यापारीले त्रिपाल र टेन्ट सहजै नदिई लुकाएको आशंकामा स्थानीयले राजधानीकै बालाजु, थलीलगायतका स्थानमा पसल कब्जामा लिने प्रयास गरेपछि प्रहरी परिचालन गर्नुपरेको घटनालाई समेत आधार बनाई भन्सार विभागले यस्तो पत्राचार गरेको हो। भन्सारको पत्रमा तीन सय ३४ वटा व्यापारिक कम्पनी तथा फर्ममाथि निगरानी राख्न भनिएको छ।

 पत्रमा केही कम्पनीहरूले आठपटकसम्म भन्सार छुटमा ४५ हजार थानस म टेन्ट र त्रिपाल भित्र्याएको जानकारी दिइएको छ। भन्सारले निगरानीका लागि प्रधानमन्त्री कार्यालय र त्यसमार्फत सबै निकायहरूलाई आग्रह गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। भन्सार विभागका अनुसार यस्तो पत्र गृह मन्त्रालय, राजस्व अनुसन्धान विभाग, वाणिज्य विभागलगायतका नियमनकारी निकायमा समेत पठाइएको छ।

 भन्सार सुविधामा भित्र्याएका त्रिपाल र टेन्ट कति परिणाममा बजारमा छन् भन्ने जानकारी यो पत्र नपाउँदास म वाणिज्य विभागलगायतका केही सरकारी कार्यालयसँग थिएन। बजार अनुगमन गर्ने जिम्मा पाएको वाणिज्य विभागका महानिर्देशक शम्भु कोइराला नियमित रूपमा बजार अनुगमन भएको बताउँछन्।

 'त्रिपाल र टेन्टमा कालोबजारी गर्ने व्यवसायीमाथि आइतबारमात्र कारबाही गरिएको छ', उनले भने, 'विभागले अन्य समयको तुलनामा बजार अनुगमन निरन्तरता दिएको छ।'आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.