Header Ads

धरहराको टुप्पोबाट चरा उडे झैं मान्छे यसरी उछिट्टिँदा

हरि काप्री । सुन्धारा नजिकै काठमाडौं मलमा मेरो फेन्सी पसल छ । तीन वर्षदेखि मैले यो काम गर्दै आएको छु । नजिकै आफ्नै दाइको पनि अर्को कपडा पसल छ । मेरो पसल चाहिँ धरहराको ठ्याक्कै उत्तरपट्टि पर्छ । धरहरा र आसपासमा हुने चहलपहल पसलबाट प्रष्ट देखिन्छ । वैशाख १२ गते दिउँसो म पसलमै थिएँ ।

ग्राहक र अरु साथीहरु पनि सँगै थिए । साथीहरुसँग गफ गरिरहेको बेला एक्कासी रिंगटा लागेजस्तो भयो । र्याकमा भएका सामान भूईंमा झर्न थाल्यो । भुईंचालो आयो भनेर साथीहरु भागे । म पनि निस्कें । भागेर कता जाउँ कता भैरहँदा धरहरामा आँखा पर्यो । धरहरा त बाँस हल्लिए झैं हल्लिरहेको छ । हल्लिँदा हल्लिँदै मैले देखें–माथि बार्दलीमा रहेकी एउटी महिला चरो उडे झैं धरहराबाट बत्तिइन् ।

के गर्ने, के नगर्ने अन्योल र अत्यास हुन थाल्यो । त्यहीबेला धरहराको टुप्पोको भाग भोटेबहालतिर ढल्यो । अनि उतिखेरै अर्को फेदतिरको भाग पनि ढल्यो । धरहरा ढल्ने बित्तिकै बुङ्बुङ्ती धुलो उँड्यो । सबैतिर रुवाबासी चल्न थाल्यो । मान्छेको कोलाहल बढ्न थाल्यो । सबैको भागाभाग भयो । त्यहीबेला मैले आफ्नो दाइलाई झट्ट सम्झें । दाइ भएको पसल हेरें । पसलमा केही भएको थिएन । धरहरा उत्तरतिर ढलेको भए पसलमा लाग्थ्यो । हामी दाइभाइलाई नै पुथ्र्यो होला ।

तर धरहरा हाम्रो पसल भएतिर ढलेन । दाइको पसल खुला देखेपछि मलाई ढुक्क भयो । त्यसपछि म भागिन । धरहरा ढलेको ठाउँतिर गएँ । त्यहाँ मान्छेको रुवाबासी थियो । धेरैजना पुरिएका थिए । उनीहरुलाई निकाल्नुपर्छ भनेर हामी लाग्यौं । मलाई त्यो दृश्य अझै सम्झना छ, मैले मात्र १३ वटा शव निकालें । एउटी बच्चीलाई जिउँदै निकाल्यौं । केहीबेरमा प्रहरी पनि पुगे र उद्धारको काम भयो ।

जिन्दगीमा कहिल्यै नसोचेको र कल्पना नगरेको घटना भयो । त्यो दिन सम्झँदा अहिले पनि अत्यास लाग्छ । झन् भूकम्पको धक्का आइरहँदा डर बढ्दै जान्छ । पराकम्प कम हुँदै जाँदा पसल खोल्न थालेको छु । तर साथीभाइ भेट हुने बित्तिकै भूकम्पकै कुरा हुन्छ । पसलबाट धरहराको भग्नावशेषले झन् झस्काउँछ । अब जे नहुनपर्ने भैहाल्यो । सधैं डर र त्रासमा मात्र बस्न भएन ।

तनाव र शोकलाई बिर्सेर अब पुनर्निर्माण गर्ने बेला भएको छ । हामी युवा एकजुट भएर लाग्यौं भने ढलेको धरहरा मात्र होइन, टुटेको मन पनि जोडिन्छ । (प्रस्तुति : मिलन तिमिल्सिना/उज्यालो ९० नेटवर्क बाट जन हितका लागि साभारित सामाग्री)
Powered by Blogger.