भूकम्पबाट पुगेको क्षतिको प्रारम्भिक जानकारी - फोटो फिचर सहित
काठमाडौं । शनिबार गएको ७ दशमलव ५ रेक्टर स्केलको भूकम्पले देशका विभिन्न ठाउँमा भौतिक तथा मानविय क्षति भएका खबर आएका छन् । प्रारम्भिक खबर अनुसार देशका विभिन्न ठाउँमा मानविय क्षतिसँगै घरहरु भत्किएका छन् । भूकम्पका कारण सुनसरीको दुहबीमा चार जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एकै परिवारका तीन जना रहेको जनाइएको छ । मकवानपुरमा पनि भूकम्पले क्षति पु¥याएको छ ।
भूकम्पका आएका बेला अतालिएर दुई जनाको ज्यान गएको छ । हटौंडा चिसापानीमा दुई जनाको ज्यान गएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । यस्तै काठमाडौंको थानकोटमा पनि घर भत्किएका छन् । थानकोटमा एक बालकको ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् । पहाडी क्षेत्रका अधिकांश माटाका घरहरु भत्किएको स्थानीय बासिन्दाले जनाएका छन् । काडमाडौंको कपनमा सात तले घर भत्किएको छ । घर भित्र केही मानिस पुरिएको बताइएको छ ।
उद्दार कार्य भैरहेको कपनका रेवन्त कोइरालाले जानकारी दिनुभयो । यस्तै विराटनगरको एभ्रेस्ट आइरन कम्पनीको पर्खाल भत्किदा पाँच जना घाइते भएका छन् । उनीहरुको विराट शिक्षण अस्पतालनमा उपचार भैरहेको उज्यालोका विराटनगर सम्वाददाता सुमन तिमल्सिनाले जानकारी दिनुभएको छ ।
ललितपुरको झमसिखेलमा पखार्लहरु भत्किएको तर मानविय क्षति भने नभएको सहकर्मी सुनिता पहरीले जानकारी दिनुभयो । यस्तै काठमाडौंको मरुहिटीमा दुई तीन वटा घर भत्किएको स्थानीयले जानकारी दिएका छन् । काठमाडौंकै नागार्जुन नगरपालिका–९ को रामकोटमा ५० भन्दा बढी घर भत्किएको छ । एउटा घरले चार जना थिचेको बताइएको छ । ललितपुर पाटनको च्यासलमा पुराना घरहरु भत्किएका छन् ।
काठमाडौंको बानेश्वरमा रहेको शान्तिनगर गेट भत्किएको छ । तीन जना च्यापिएर घाइते भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । यसैगरी काभ्रेको पाँच खालमा पनि घरहरु भत्किएको जानकारी प्राप्त भएको छ । सिन्धुपाल्चोक चौतारा अधिकांश घर भत्किएको स्थानीयले बताएका छन् । भत्किएका घरमा मानिसहरु पुरिएको आशंका गरिएको छ । काठमाडौंको दरबार हाइ स्कुल पनि भत्किएको छ ।
दाङको घोराहीमा भूकम्प आएपछि भाग्ने क्रममा घरको छतबाट खसेर दुई जना घाइते भएका छन् । उनीहरुको राप्ति उपक्षेत्रिय अस्पतालमा उपचार भैरहेको हाम्रा दाङ सम्वाददाता हेमराज शर्माले जानकारी दिनुभएको छ । अन्य ठाउँका थप विवरण आउन भने बाँकी छ ।
