Header Ads

कलिलो उमेरमा विवाह भएकोमा सारै पछुतो

काखमा एउटा तीन वर्षकी नानी र एक वर्षको बाबुलाई च्यापेर अर्छानी–३ हिलाखानीकी ललिताकुमारी पुन श्रीमान्सँगको सम्बन्ध तोड्न अदालत धाइरहेकी छिन् । कार्कीगाउँ–५ पिपलतरा माइतीघर भएकी पुनले विद्यालयमा पढ्दा अर्छानीका अमरबहादुर घर्तीसँग मायामा परेर बालविवाह गरिन् तर उनलाई अहिले भने छुट्न हतारो भएको छ । सोह वर्षको उमेरमा विवाह गरेकी पुनले घरमा आफू र छोराछोरीलाई श्रीमान्ले शारीरिक यातना दिने गरेको र पालनपोषणमा पनि ध्यान नदिएकाले सम्बन्धविच्छेदका लागि अदालत धाउनुपरेको बताइन् । “सधैँ शारीरिक यातना भोग्नुपर्ने र छोराछोरीका लागि पनि कुनै स्याहार नहुने घरमा बसेर के गर्नु ?” – ललिताले भनिन् । कलिलो उमेरमा विवाहका लागि हतार गरेकी पुन अहिले सम्बन्धविच्छेदका लागि अदालत धाउनुपर्दा भने पछुतो मानिरहेकी छिन् । “पहिले विवाह गर्दा यस्तो होला भन्ने थाहा भएन तर बेलैमा बुद्धि नपुयाउँदा भने निकै दुःख पाइने रहेछ,” ललिताले पछुतो मान्दै भनिन् । गत असोजमा जिल्ला अदालत जाजरकोटमा श्रीमान्सँग सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेदेखि नै माइतीघर बस्न थालेकी ललिताले निकै कष्टका साथ दुई छोराछोरीको पालनपोषण गरिरहेको बताइन् । त्रिभुवन उच्च माध्यमिक विद्यालय खलङ्गाको कक्षा १२ मा पढ्ने ललिताले श्रीमान्सँग आधा अंश र छोराछोरीको पालनपोषण खर्चको दाबीसहित सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा हालेको बताइन् । पुन त प्रतिनिधि पात्रमात्र हुन् । महिला तथा बालबालिका कार्यालयका अनुसार यस वर्ष मात्रै कार्यालयको जानकारीमा भएका पाँच जोडी सम्बन्धविच्छेदको मागसहित अदालत पुगेका छन् । यी सबैले कलिलै उमेरमा विवाह गरेका छन् । उमेर नपुगेरै विवाह गरेका र विवाह दर्ताको उमेर नहँदै सम्बन्ध तोड्ने जोडी धेरै देखिएका छन् । तर धेरै घटना बाहिर आएका छैनन् । जिल्लाका ग्रामीण भेग तथा सदरमुकाममै कलिलै उमेरमा विवाह गरेर पछि छुट्न पुगेका धेरै जोडी छन् । विद्यालय पढ्ने बेलादेखि नै प्रेम गरेर विवाह गर्ने र उमेर पुगेपछि विभिन्न कारण देखाएर सम्बन्ध तोड्ने चलन बढेको सरोकारवाला बताउँछन् । जिल्लामा बालविवाहको दर निकै उच्च भएपछि यस्तो समस्या पनि बढी देखिएको महिला तथा बालबालिका कार्यालय जाजरकोटका बाल कल्याण अधिकृत डम्बर रोकायले बताइन। जाजरकोट जिल्लामा बालबालिकाको स्थिति प्रतिवेदन–२०७० अनुसार जिल्लाका विवाह बन्धनमा बाँधिएका ६७ हजार ३३२ व्यक्ति मध्ये १९ वर्ष मुनिको उमेरमै विवाह गर्ने ४९ हजार ८६२ रहेका छन् । राष्ट्रिय जनगणना–२०६८ लाई आधार मानेर तयार गरिएको उक्त प्रतिवेदनमा सबैभन्दा बढी १५ देखि १९ वर्षसम्मको उमेरमा विवाह गर्ने ४४ हजार २९ बालबालिका भएको उल्लेख छ । त्यसैगरी १० वर्षकै उमेरमा विवाह गर्ने १६५ जना र १० देखि १४ वर्षको उमेरमा विवाह गर्ने पाँच हजार ६६८ जना बालबालिका रहेका छन् । प्रतिवेदनका अनुसार बालविवाह गर्नेमा बालकभन्दा बालिका धेरै छन् । महिला तथा बालबालिका कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा बाल उमेरमै विवाह गर्ने ६५ प्रतिशतमध्ये ६२.८७ प्रतिशत बालिका र ३७.१३ प्रतिशत बालक रहेका छन् । अभिभावकको कमजोरी, उचित परामर्शको अभाव र पाश्चात्य संस्कृतिको प्रभावले गर्दा सानै उमेरमा विवाह गर्ने चलन जिल्लामा बढ्दो रहेको सरोकारवालाको भनाइ छ । सानै उमेरमा घरधन्दाको निहुँ बनाएर छोराको र अर्काको घरमा जानैपर्ने सोचेर छोरीको बिहे गरिदिने चलनले पनि बालविवाहको दर बढाउन सहयोग गरेको जिल्ला बालक्लब सञ्जाल जाजरकोटकी अध्यक्ष मेलिना कार्कीले बताइन । बदलिँदो परिवेशका कारण भन्दै ग्रामीण भेगका विद्यालयमा १० कक्षा वा उच्च मावि तह पढ्ने बेलासम्म प्रेममा परेर अधिकांशको बिहे हुने गरेको उनले बबताइन । पढ्दै गरेका किशोरीहरुलाई उचित सल्लाह र परामर्शको खाँचो रहेको अध्यक्ष कार्कीको भनाइ छ । जिल्लामा बालविवाहको दर बढ्दै गए पनि बालविवाह गर्न उक्साउने र बाध्य बनाउने अभिभावक र अन्य दलालविरुद्ध कुनै कारबाही भने भएको पाइँदैन ।
Powered by Blogger.