गर्भवती बुहारीलाई जिउँदै जलाउनेलाई यस्तो फैसला
राजविराज । अन्तर्राष्ट्रिय महिला दिवसका दिन गर्भवती बुहारीलाई जिउँदै आगो लगाई हत्या गर्ने सासू र जेठानीलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत सप्तरीले राजविराज नपा–७ की ४४ वर्षीया मनी विवी भनिने बानो खातुन र २० वर्षीया नुरजहाँ खातुनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।
जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले उनीहरुलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको अदालतले जनाएको छ ।
उनीहरुले १०४औं अन्तर्राष्ट्रिय महिला दिवसका दिन ०७० फागुन २४ गते दिउँसो २ बजे कोठामा सुतिरहेकी गर्भवती नजरानालाई मट्टीतेल छर्केर आगो लगाई हत्या गरेका थिए ।
घटनापछि भागिरहँदा पक्राउ परेका आरोपितहरु अदालतको आदेशले ०७० चैत २४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

