बाबुलाई गैँडाले मारेपछि बालबालिकाको बिचल्ली
चितवन— चितवनको माडी १ पाण्डवनगरका ४० बर्षिय सोमलाल बोटले रिउ नदीमा माछा मारेर परिवार पाल्थे। चार छोराछोरीको पालन पोषण माछा बेचेकै भरमा हुँदै आएको थियो। गत वर्षको असारे भेलमा माछा मार्न गएका उनी फर्केनन्। माछा मार्दैगर्दा खोलामा पानी खान चितवन निकुञ्जबाट निस्किएको गैंडाले उनलाई एक्कासि आक्रमण गर्यो। उनी खोलामै सदाका लागि विदा भए।
त्यसपछि छोराछोरी पाल्ने अभिभारा श्रीमती ईन्द्रकुमारीको थापलोमा आयो। इ्रन्द्रकुमारी बोटे श्रीमानको मृत्युपछि चितवन निकुञ्जले दिएको क्षतिपूर्तिको रकम तीन लाख हातमा छउन्जेल घरमा बसिन्।
सानो छाप्रो बनाइन्। केही पैसाले खेत बन्दकीमा लिइन्।
खेतको खान्कीले छोराछोरीलाई खान लाउन दिन नसकेपछि सन्तान एक्लै छाडेर उनी अर्को गाउँमा काम खोज्न गइन्। 'पटिहानीको होटलमा काम गर्नुहुन्छ तर कहिलेकाँही आउनुहुन्छ' उनकी छोरी कल्पना बोटले भनिन्, 'न त आमाको माया छ न राम्रो खानेकुरा नै।'
अभिभावक नै नभएपछि ठूली छोरी १७ वर्षिया कल्पना भाइबैनी पाल्न नजिकै रहेको एउटा होटलमा काम गर्न थालेकी छिन्। ज्यालाले भाइ बहिनीको छाक टार्छिन्। उनी स्वयं पनि पति पीडित छिन्। ललाई फकाई बिहे गरेको श्रीमान भागेर कता गयो गयो। जन्मेको दुईवर्षे छोरा पनि उनले भाइबहिनीसँगै हुर्काउनु परेको छ।
आठ वर्षीय सविन, १० बर्षकी बैनी सविनाको पालन पोषण गर्ने जिम्मा कल्पनाको काँधमा छ।
कल्पना होटलमा काम गर्न गएपछि दुवै बालकालिका झन् पीडित हुन्छन्। 'गाउँलेले दिएको कपडा लगाउँछन् , गाउँलेले दिएको खाना खान्छन्,' छिमेकी बसन्ती बोटले भनिन् 'आमाले हेर्नुपर्ने हेर्दे हेर्दिनन् ।'
आक्कल झुक्कल आमाले चार पाँच किलो चामल छाडेर जान्छिन्। त्यसले उनीहरुको गर्जो टर्दैन। अलपत्र बालबालिकाको पढाइ शुरु भएको छैन। घरेलु संस्कार नपाउँदा नयाँ मान्छे देख्दा पनि भाग्छन्। गफ गर्न खोजे लैजान्छकी भन्ने डरले रुन थाल्छन्। पढ्न मन भए पनि पढाइदिने कोही छैन।
घरभित्रको अवस्था झनै मार्मिक छ। थोत्रो गुन्द्री त्योमाथि भुइँमै झुत्रो डस्ना। धुलाम्मे चुलोको कराहीमा पाकेर साह्रो भएको भात बाहेक अरु खान्की यिनीहरुका लागि सपना जस्तै हो। दाल पनि भात, तिहुन पनि भात।
अघिल्लो बर्ष माघे बोटलाई पनि माछा मार्ने क्रममै गैंडाले हानेर मारेको स्थानीय इन्द्रमायाँ बोट बताउँछिन्।
उनीहरुको परिवारमा पनि पीडा उस्तै छ। माछा मार्न जाँदै धेर आदिबासी अकालमै ज्यान गुमाउन बाध्य छन्।
चितवन निकुञ्जसँगै जोडिएको उक्त बस्तीमा बन्यजन्तुको त्रास छ। कुनबेल कतिखेर जंगली हात्ती, गैंडा, बाघ भालु आउँछ पत्तो हुँदैन। जीवननै धरापमा राखेर बसेका उनीहरुको गाउँमा केही बर्षको फरकमा बन्यजन्तुले ५ जनाको ज्यान लिएको छ। दुई वर्षअघि एक जरिया बोट दम्पत्तिकै हात्ती आक्रमणबाट ज्यान गएको थियो।
छिमेकी रमेश अधिकारीलाई समेत बन्यजन्तुले ज्यान लिएको घटना उनीहरुमा ताजै छ । यसरी बन्यजन्तुको आक्रमणमा घरका मुलीहरुको ज्यान जाँदा अन्य परिवार भने छिन्न भिन्न हुने गरेका छन् ।
ती बालबालिकाको बारेमा निकुञ्ज ऐनले पनि केही बोलेको छैन भने सहयोग गर्नै पनि कोही नहुने ईन्द्रमायाँले बताईन् ।
चितवन निकुञ्जको तथ्यंक अनुसार आर्थिक बर्ष २०६६,६७ बनयजन्तुको आक्रमणमा मध्येवर्ती क्षेत्रमा ७ जनाको मृत्यु तथा ३० जना घाईते भएका छन् । २०६७,६८ मा हात्तीले मात्रै ९ जनाको ज्यान लिएको थियो भने २ जनाको गैंडाले मारेको छ ।
यस्तै २०६८,६९ मा १० जनाको ज्यान गएको छ भने । २०६९,७० मा १५ जनाले ज्यान गुमाए । उक्त समयका विचमा ध्रुवे हात्तीको आतंक समेत बढेको थियो । चालु आर्थिक बर्षमा बन्यजन्तु आक्रमणमा ५ जनाको ज्यान गएको छ ।
अहिलेसम्म सबैभन्दा बढी हात्ती , बाघ र गैंडाले मानिसको जयान लिने गरेको छ । निकुञ्जले सोलार तारजाली लगाएपनि बन्यजन्तु बस्तीमा पस्ने क्रम भने रोकिएको छैन । ६६ देखि अहिलेसम्म ५३ जनाको बन्यजन्तुकै आक्रमणमा यहाँ ज्यान गएको तथ्यांक निकुञ्जको छ ।
