Header Ads

सस्तोमा सुन किन्न खोज्दा ३० लाख गुम्यो

काठमाडौं, वैशाख ११। राजधानीको चाबहिलमा बिहीबार साँझ दुईजनाले सुन व्यापारीको ३० लाख रुपैयाँ ठगेका छन् । गणेशस्थान अगाडि न्यू भिन्तुना ज्वेलर्सका सञ्चालक हीराभाइ शाक्यलाई सस्तोमा भन्दै नक्कली सुन बेचेर उनीहरुले ३० लाख रुपैयाँ ठगेका हुन् ।

 विराटनगर घर भई चाबहिल मैजुबहाल बस्ने नारायणप्रसाद धितालले सक्कली सुन देखाउँदै ‘हामीसँग सुन छ, सस्तोमा किन्ने हो’ भन्दै शाक्यलाई लोभ देखाएका थिए ।

 महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता एसपी विश्वराज पोखरेलका अनुसार शाक्यले सस्तोमा सुन किन्ने बताएपछि धितालले ४.५ ग्राम सुनको जलप लगाएको फलामका टुक्रा गजानन्द गोल्ड एन्ड सिल्भर पसलमा जाँच गरेर बिलसहित शाक्यलाई नमुना देखाउन पुगेका थिए । शाक्यसँग चिनजान रहेका धितालले ४० लाख रुपैयाँमा सुन बिक्री गर्ने बताएका थिए ।

बिहीबार अपराह्न १२ बजे शाक्यको पसलमा नमुना सुन देखाएर फर्केका धिताल पुनः साँझ सवा पाँच बजे शाक्यकैपसलमा पुगी पैसा लगेर सुन ल्याइदिन्छु भन्दै ३० लाख रुपैयाँ लगेका थिए ।

 चाबहिल नजिकै आफ्ना साथी मैजुबहालमै बस्ने भक्त लामालाई दिएलगत्तै धितालले पैसा लुटिएको खबर शाक्य र प्रहरीलाई गरेका थिए । लामा रकमसहित फरार छन्, आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.