Header Ads

महाविपत्तिमा धेरै दिन काजक्रिया गर्नु पर्दैन : पण्डितहरु

काठमाडौँ, वैशाख १७ । भूकम्पबाट परेको विपत्तिसँगै मृतकका परिवार शोकमा डुबेका अवस्थामा धर्मशास्त्रका विज्ञले यस्तो महाविपत्तिमा धेरै दिन काजक्रिया गर्नु नपर्ने बताउनुभएको छ ।

भूकम्पका कारण आफन्तको ज्यान गएको अवस्थाका साथै परिवारका सदस्य गम्भीर घाइतेसमेत भइरहेको वर्तमान अवस्थामा काजक्रिया छोट्याउन सकिने शास्त्रीय व्यवस्था रहेको विज्ञको भनाइ छ । धर्मशास्त्रमा विपत्तिमा काजक्रिया छोटो गर्न सकिने स्पष्ट व्यवस्था भएको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी गराउनुभयो ।

उहाँका अनुसार यस्ता विपत्तिम मृत्यु भएको नवौँ दिनमा मात्र काजक्रिया सुरु गर्न सकिने व्यवस्था छ । नवौँ दिनमा काजकिरिया सुरु गरी १०औँ दिनमा त्यसअघि नवौँ दिनसम्म दिइने सम्पूर्ण पिण्ड दान गरिन्छ । एघारौँ दिनमा जीवन निर्वाहका सामान दान गरिने र १२औँ दिनमा सपिण्डी गरेपछि काजक्रियाको सम्पूर्ण काम सकिने उहाँले जानकारी गराउनुभयो ।

यस्ता महाविपत्तिमा धेरै सङ्ख्यामा मृत्यु भएमा सामूहिक दाहासंस्कार गर्न सकिने व्यवस्था रहेको ज्यो पं माधवप्रसाद सापकोटाको भनाइ छ । उहाँका अनुसार प्राकृतिक विपत्ति तथा अन्य विभिन्न दुर्घटनामा ज्यान गुमाउनेको आत्माको चिरशान्तिका लागि काजकिरियाका क्रममा नारायण बलिको शास्त्रीय व्यवस्थासमेत छ ।
Powered by Blogger.