बलात्कारको उजुरी गर्ने बाबुमाथि गोली प्रहार

जाहेरी दर्ता भएदेखि नै गाउँमै मिलाउने भन्दै फिर्ता लिन दबाब आइरहेको स्थानीयले बताए । दबाबकै कारण छोरी बलात्कृत भएको उजुरी दुई दिन ढिलो भएको उनीहरूले बताए । किशोरीको स्वास्थ्य परीक्षणपछि बलात्कृत भएको प्रमाण भेटिएपछि प्रहरीले उजुरी दर्ता गरी आरोपितको खोजी गरिरहेको थियो । 'त्यही बेलामा किशोरीका बाबुमाथि गोली प्रहार भएको छ । उनको पेटमा गोली लागेका कारण अवस्था चिन्ताजनक छ,' जिल्ला प्रहरीका डीएसपी सुशीलसिंह राठौरले भने, 'गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको छ । उनीहरूलाई पक्राउका लागि प्रहरी परिचालन गरिसकेका छौं ।'
छोरीलाई सामूहिक बलात्कार गरेको भन्दै वृद्धाले स्थानीय युवा महेश बर्मा, सुशील बर्मा र रामफेरन कोरीविरुद्ध जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । त्यसलगत्तै उनीहरू गाउँबाट भागेका थिए । तर, छोरीलाई न्याय दिलाउन उजुरी दर्ता गरेका बाबुमाथि गोली प्रहार भएपछि स्थानीय बासिन्दा त्रसित छन् । प्रहरीले सुरक्षा दिन नसकेको स्थानीयको आरोप छ । सामूहिक बलात्कार घटनालाई गाउँमा दबाउन खोज्दा उक्त घटना भएको उनीहरूको गुनासो छ । 'सामूहिक बलात्कार भएको घटना दर्ता गरी आरोपीलाई पक्राउ गरेको भए उक्त घटना नहुन सक्थ्यो । तर, प्रहरीले ढिलाइ गर्दा आरोपीहरू फरार हुन सफल भए ।
अहिले पीडित किशोरीका बाबुमाथि गोली प्रहार भयो,' स्थानीय एक अगुवाले भने, 'आरोपीहरू आर्थिक अवस्थाले बलियो भएका र पहुँचवाला भएकाले गाउँमै मिल्ने बढी दबाब परेको थियो ।' घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । आरोपित युवाहरू अझै पनि फरार रहेको प्रहरीले जनाएको छ ।
