Header Ads

खाली खुट्टा चिसो भुइँमा बसेका १ सय ५ जना नेपालीलाई हत्कडीले मात्रै होइन, सबैलाई चेनले बाँधिएको थियो

काठमाडौं । अग्ला फलामे बारभित्र खाली खुट्टा चिसो भुइँमा पलेंटी कसेर बसेका एक सय पाँचजना नेपालीलाई हातमा हत्कडीले मात्रै होइन, सबैलाई लामो चेनले बाँधिएको थियो।

नेपाली दूतावासका श्रम सहचरी बुद्धिनाथ भट्टराई एकजना सहयोगीसहित क्वालालम्पुरको यो थुनुवा केन्द्र पुग्दा सबैको एउटै प्रश्न थियो, ‘हामी कहिले नेपाल उड्न पाउने हो सर ? प्लिज हामीलाई घर पठाइदिनुहोस्।’ भट्टराईले पालैपालो बोलाएर सबैलाई सोधे, ‘के कारणले जेल परेको?’ दुवै हातमा हत्कडीसहित मलेसियाली प्रहरीको सुरक्षामा उपस्थित धेरैको एउटै उत्तर थियो, ‘हामी बेचिएछौं तर किन्नेले हाम्रो भिसा पनि लगाइदिएको रहेनछ।’

मलेसियाको लिंगिङ र अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेका दुईवटा थुनुवा कक्षमा गरी एक सय २२ नेपाली युवाले आफ्नो उद्धार गरिदिन राजदूतावाससमक्ष आग्रह गरेको अन्नपूर्ण पोस्टमा खबर छ। ‘हामी बेचिएका रहेछौं’, केही कमाइ गरेर परिवार पाल्ने रहरले मलेसिया पुगेका उदयपुर बेलटारका कृष्णबहादुर गिरीले भने, ‘एजेन्टले हामीलाई ल्याएर एअरपोर्टबाटै बेचेको रहेछ। उम्कन खोज्दा जेल परियो।’ चारजना कामदार चाहिनेमा कम्पनीबाट २५ जनाको मागपत्र मगाउने, चारजनालाई सम्बन्धित कम्पनीमा पठाई बाँकी २१ जनालाई एउटै हलमा राखेर कमिसन खाँदै अन्य कम्पनीमा बिक्री गर्ने गरेको पाइएको छ।

विभिन्न एजेन्ट हुँदै नेपालबाट मलेसिया पुगेपछि त्यहाँको एजेन्टले कम्पनी खोजेर काम लगाइदिएबापत मासिक कमिसन लिने गरेको र आम्दानी थोरै भएपछि कम्पनी छाडेर भाग्दा जेल बस्नुपरेको बाजुराका धनबहादुर शाहीले बताए।
Powered by Blogger.