विद्यार्थी सङ्गठनले रोक लगाए सेमेस्टर प्रणालको फारम

पूर्वाधारबिना सेमेस्टर प्रणाली सञ्चालनमा ल्याइएको भन्दै आन्दोलनरत नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत विद्यार्थी सङ्गठनले विश्वविद्यालय क्याम्पसअन्तर्गतका ३४ वटै केन्द्रीय विभागमा १७ बुँदे मागसहित फारम वितरण कार्य रोकेका हुन् ।
विश्वविद्यालय क्याम्पस कीर्तिपुरका नेपाल विद्यार्थी सङ्घका नेता पारशमणि घिमिरेका अनुसार सङ्गठनबाट प्रस्तुत गरिएको मागपत्रमा सेमेस्टर प्रणालीलाई आन्तरिक मापदण्डअनुसार व्यवस्थित गरी नतिजा प्रणाली व्यवस्थित हुनुपर्ने, सेमेस्टर प्रणालीको नतिजा चित्त नबुझेमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नतिजा प्रकाशन भएको मितिले एक महिनाभित्र मौका परीक्षा हुनुपर्नेलगायतका कुरा समेटिएका छन् । हालै आएको प्रथम सेमेस्टरको परीक्षाफलमा ग्रेडिङ प्रणाली नभएको भन्दै विद्यार्थीले गत पुस ७ गतेदेखि शिक्षाशास्त्र केन्द्रीय विभागमा लगाएको ताला अझै खुल्न सकेको छैन ।
विभागका विभागीय प्रमुख प्रा डा शिवशरण महर्जनले तालाबन्दी खोल्न प्रयास भए पनि सेमेस्टर प्रणालीका सम्बन्धमा विद्यार्थी सङ्गठनहरूबाट संयुक्तरुपमा माग अघि आएका कारण विश्वविद्यालयस्तरबाटै समस्या समाधानको पहल भइरहेको जानकारी दिए । पूर्वाधारसहित सेमेस्टर प्रणाली लागू गर्न माग यसैबीच, संयुक्त विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयका आङ्िगक क्याम्पसमा पूर्वाधारसहित सेमेष्टर प्रणाली लागू गर्न माग गरेको छ । विश्वविद्यालयका पदाधिकारीसँग भएको छलफलमा गत वर्ष लागू भएका विश्वविद्यालय क्याम्पसमा राम्रो नतिजा प्राप्त हुन नसकेका कारण अन्य क्याम्पसमा प्रशस्त गृहकार्य गरी पूर्वाधार तथा गुणस्तरको विकास गरेर मात्र निर्णय लिन सङ्गठनमा सहभागी विद्यार्थीले सुझाएका हुन् ।
विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले विद्यार्थीको मागका विषयमा पदाधिकारी सकारात्मक रहेको उल्लेख गर्दै विश्वविद्यालयको कार्ययोजना तथा तालिकामा आइसकेको सो कार्यक्रम कसरी कार्यान्वयन गर्न सकिन्छ त्यसको विकल्प विद्यार्थीसँग छलफल गरी खोजिने जानकारी दिए । रासस
