रहस्य मय माघ ८ - थाहा पाई राख्नुहोस !
काठमाडौं । एउटै मञ्चबाट राष्ट्र निर्माणमा सञ्चारको भूमिकाबारे बोल्न पत्रकार महासंघले निम्त्याएका सभामुख तथा तीन दलका शीर्ष नेताले माघ ८ गते संविधान आउने सम्भावनाबारे फरकफरक अभिव्यक्ति दिएका छन्।
सभामुख सुवास नेम्बाङले चार दलको सहमतिलाई मुलुकले स्वामित्व प्रदान गर्ने मान्यता व्यक्त गर्दै विभिन्न नियम तथा प्रक्रिया निलम्बन गरेर पनि माघ ८ मा संविधान ल्याउन सकिने बताए।
त्यही मञ्चबाट फरक सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले तोकिएको समयतालिका नाघिँदै गएको वर्तमान परिस्थितिमा माघ ८ गते संविधान आउन नसक्ने बताए।
जर्मन सोसल डेमोक्रेटिक पार्टी निकट रहेको फ्रेडरिक एवर्ट स्टिथुङको सहयोगमा आयोजित कार्यक्रममा एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस-एमालेको वर्तमान नेतृत्व शान्तिप्रक्रिया तथा १२ बुँदे सम्झौताको प्रयासमा प्रत्यक्ष संलग्न नभएकाले अहिले संविधानलेखन जटिल बन्दै गएको बताएर सुशील कोइराला तथा केपी ओलीको नेतृत्वलाई त्यसको दोष भिराए।
'गिरिजाबाबु बित्नुभो।
माधव नेपाल नेतृत्वमा हुनुहुन्न', कांग्रेस- एमालेको वर्तमान नेतृत्वप्रति अविश्वास व्यक्त गर्दै भट्टराईले भने, 'तर प्रचण्ड र मेरो प्रतिबद्धता यथावत् छ, १२ बुँदेप्रति, बृहत् शान्तिसम्झौताप्रति र राज्यको अग्रगामी पुनर्संरचनामा आधारित संविधानप्रति।'
प्रक्रियाका नाममा 'क्रान्ति' र दोस्रो निर्वाचनको जनादेशका अन्तरविरोधलाई अघि सारी राजनीतिक, सामाजिक, भौतिक र लैंगिक अन्तरविरोध सम्बोधन नगरेमा मुलुक अग्रगमनमा जान नसक्ने भट्टराईको निष्कर्ष थियो। संविधान माघ ८ मा आउला या नआउला भन्नेबारे आफूले केही भन्न नचाहेको पनि उनले स्पष्ट गरे।
परिवर्तनको सहयोगीको विशेषण भट्टराईले दिए पनि एमाले नेता नेपालले एमाओवादी प्रत्यक्ष या घुमाउरो किसिमले जातीय राज्य खडा गर्न लागेको आरोप लगाउँदै त्यो स्वीकार्य नहुने बताए। 'प्रान्त बहुजातीय, जिल्ला बहुजातीय, निर्वाचन क्षेत्र बहुजातीय भए एकल जातीयतालाई संघीयताको आधार कसरी स्वीकार गर्ने?' नेपालले सोधे।
पृथ्वीनारायण शाहको सैन्य विजय र राष्ट्रनिर्माणको आलोचना गरेकोमा माओवादीलगायत अन्य शक्तिलाई आलोचना गर्दै नेपालले भने, 'लड्डु बाँडेर कुन मुलुकको एकीकरण भएको छ?'
एमाओवादीको राष्ट्रिय धार कमजोर भएको भन्दै उनले एमाले राष्ट्रिय एकता, अखण्डता, सामाजिक सद्भावप्रति बढी संवेदनशील रहेको दाबी गरे। उनले भट्टराईलाई कम्युनिस्टहरूले वर्गीय र जातीय प्रश्नलाई कसरी हेर्ने, त्यसबारे स्पष्ट हुन आग्रह गरे।
'जेजति हुन सक्छ, मिलनबिन्दुमा पुगौं, तर जातीयतामा नजाऔं। तराईबाट पहाडीलाई विस्थापित गर्ने नसोचौं', नेपालले भने, 'प्रक्रिया छोट्ट्याएर माघ ८ मा संविधान जारी गरौं।
माघ ८ मा संविधान आउनैपर्छ। माघ ८ गते नआए अर्को तीनचार वर्ष नआउन पनि सक्छ।'
एमाओवादी नेता भट्टराईले कांग्रेस र एमालेको अडानले यथास्थितिवादी संविधान आउने डरबाट आफ्नो पार्टी त्रस्त रहेको बताए। उनका अनुसार अहिलेको आवश्यकता एमाओवादीको ':याडिकल समाजवाद' र नेपाली कांग्रेस-एमालेको 'उदारवादी प्रजातन्त्र' बीच सहमति खोज्नु हो। -अन्नपूर्ण पोस्ट डट कम
