एयर एशियाको वेपत्ता विमानको खोजी जारी
काठमाडौं । एयर एशियाको वेपत्ता विमान क्यूजेड ८५०१ को खोजी आजका लागि बन्द गरिएको र स्थानीय समय अनुसार भोली विहान फेरि खोजी कार्य शुरु हुने इण्डोनेशियाली अधिकारीहरुले बताएका छन् । विमान दुर्घटना भएको संभावित स्थानहरुमा पानी परिरहेको र बाक्लो बादलका कारण पनि खोजी कार्यमा बाधा भएको बताइएको छ । बिमानकाे खाेजीमा इन्डोनेशिया, सिंगापुर र मलेशियाका सैन्य विमान परिचालित भएका छन् । इन्डोनेशियाबाट सिंगापुर जाँदै गरेको क्यूजेड ८५०१ कल साइनको एयर एशियाको विमान ‘एयरबस ए ३२०–२००’ समुद्रमा खसेको इन्डोनिशियाको समाचार एजेन्सी अन्तराले ‘राष्ट्रिय खोज तथा उद्दार एजेन्सी’ लाई उद्धृत गर्दै जनाएको छ ।
विमान बेलिटुङ टापुदेखि १४५ किमी टाढा समुद्रमा खसेको बांग्का पोष्टलगायतका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरे पनि त्यहाँका सरकारी अधिकारीहरुले विमान समुद्रमा खसेको पुष्टी भइनसकेको बताएका छन् । विमान दुर्घटना भएको ठानिएको क्षेत्रमा भारी वर्षा र अँध्यारो भएकोले खोजी कार्यमा कठिनाइ भएको खोजीमा संलग्न अधिकारीहरुले बताएका छन् । यद्दपी विमानमा ४ घण्टा भन्दा बढी उड्नका लागि इन्धन नभएको जनाइएको छ । विमानमा ५ जना चालकदलका सदस्यसहित १६२ यात्रु सवार थिए । जसमध्ये १५६ जना इन्डोनेशियाली, तीन जना दक्षिण कोरियाका साथै सिंगापुर, फ्रान्स र मलेशियाका एकएक जना रहेको एयरलाईन्स कम्पनीले जनाएको छ ।
खराब मौषमका कारण विमानले एयर ट्राफिक कन्ट्रोलरलाई वैकल्पिक मार्गका बारेमा सोधेको र त्यसलगत्तै सम्पर्कविहिन भएको इण्डोनेशियाली अधिकारीहरुले जनाएका छन् । चीनको सीसीटीभीले पनि बेलिटुंग टापु नजिक विमानको अवशेष देखिएको बताएको छ भने एयर एशियाले यसको पुष्टि गरिसकेको छैन । स्थानीय समय अनुसार इण्डोनेशियाको सुराबायाबाट विहान ५ः३५ मा उडेको विमान ४२ मिनेटपछि सम्पर्कविहिन भएको थियो । उडान तालिका अनुसार उक्त विमान सिंगापुरमा स्थानीय समय अनुसार विहानको ८ः३० बजे पुग्नुपर्ने थियो । इन्डोनेशियाको एयर एशियामा ४९ प्रतिशत लगानी मलेशियामा मुख्यालय भएको एयर एशियाको छ । विमानका चालकको ६ हजार १०० घण्टा र प्रथम अफिसरको २ हजार २७५ घण्टा उडानको अनुभव भएको पनि एयरलाइन्सले जनाएको छ ।
३२ हजार फिटको उचाइँमा उडिरहेको विमानको रुटमा बाक्लो बादल भएकाले विमान बायाँ तर्फ मोडिएकोसम्म सूचना आफूलाई भएको इन्डोनेशियाली अधिकारीले बताएका छन् । यसअघि मलेशियाको राष्ट्रिय विमान सेवा मलेशिया एयरलाइन्सका दुई वटा विमान ‘एमएच ३७०’ र ‘एमएच १७’ यसै वर्ष दुर्घटनामा परिसकेका छन् । २३९ जना यात्रु र चालकदलका सदस्य बोकेको ‘एमएच ३७०’ विमान गत मार्च महिनामा क्वालालम्पुरबाट बेजिंग जाँदै गर्दा वेपत्ता भएको थियो जसको अहिलेसम्म केही पत्ता लागेको छैन । त्यसैगरी २९८ यात्रु बोकेको ‘एमएच १७’ विमान युक्रेनमा मिसाइल आक्रमणमा परी दुर्घटना भएको थियो ।
