Header Ads

पानी र बत्तीको व्यवस्था घरधनीले गर्नुपर्ने विधेयक संसदमा

काठमाडौँ, कार्तिक १९ । सरकारले घर बहालसम्बन्धी व्यवस्थासमेत रहेको विधेयक व्यवस्थापिका संसद्‌मा दर्ता गरेपछि हाल दफावार छलफल भइरहेको छ। कानुन तथा न्यायमन्त्री नरहरि आचार्यले संसद्‌मा प्रस्तुत गरेको सो विधेयकमा घरधनी र बहालमा बस्ने दुवैको दायित्व स्पष्ट रुपमा तोकिएको छ।

 देवानी कानुनको संशोधन र एकीकरण गर्न बनेको यो विधेयकमा घर बहालसम्बन्धी व्यवस्थामा ‘घरमा उपलब्ध भएसम्म पानी तथा विजुलीको आपूर्ति र ढल निकास तथा सरसफाइको व्यवस्था गर्नु पर्ने’ दायित्व घर बहालमा दिने व्यक्तिको तोकिएको छ।

घरधनीले ‘बहालमा बस्ने व्यक्तिलाई सो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट रोक्नुपर्ने’ दायित्व पनि ऐनले तोकेको छ। त्यस्तै घर बहालमा बस्नेले निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नु पर्ने, बहालमा लिएको घर आफ्नो घर सरह मानी सरसफाइ, उचित र मनासिव तवरले हेरचाह, संरक्षण तथा सुरक्षा गर्नु पर्ने, आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न नहुने जस्ता दायित्व ऐनले तोकेको छ।

बहालमा बस्नेले घर छाड्नु परे वा घरधनीले हटाउनु परेमा कम्तिमा ३५ दिन अगाडि नै लिखित सूचना दिनुपर्ने व्यवस्था ऐनमा गरिएको छ।

घरधनीले आफैलाई आवश्यक पर्‍यो भनी बहालवालालाई हटाएको अवस्थामा आफैले प्रयोग नगरी तीन महिनासम्म अन्य व्यक्तिलाई बहालमा दिन नपाउने निषेधात्मक व्यवस्था पनि ऐनमा गरिएको छ। अन्य व्यक्तिलाई बहालमा दिनै परेमा र पहिला बहालमा बस्ने व्यक्तिले बहाल लिन चाहेमा उसले प्राथमिकता पाउनु पर्ने व्यवस्था ऐनमा छ।
Powered by Blogger.