आज सार्क घोषणापत्र जारी गरिंदै, १९औं सार्क सम्मेलन आयोजक राष्ट्रको पनि औपचारिक घोषणा गरिने
काठमाडौ, मंसिर ११ । हिजो शुरु भएको १८औं सार्क शिखर सम्मेलन आज सकिंदैछ । दिउँसो ४ बजे सार्क काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलनको औपचारिक समापन गरिनेछ ।
सार्क मन्त्रीस्तरीय बैठकले तयार गरेको मुद्दालाई घोषणापत्रको रुपमा जारी गरिनेछ । समापन समारोहमै १९औं सार्क सम्मेलन आयोजक राष्ट्रको पनि औपचारिक घोषणा गरिनेछ ।
समापनपछि होटल पुगेर राष्ट्र प्रमुखहरु राष्ट्रपति डा. रामवरण यादवले उहाँहरुको सम्मानमा आयोजना गर्नुहुने रात्रीभोजमा सहभागी हुनुहुनेछ ।
रात्री भोज सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे र अफगानिस्तानका राष्ट्रपति असरफ घानी आजै स्वदेश फर्किनु हुने भएको छ ।
यसअघि सार्क मुलुकका कार्यकारी प्रमुखहरुले सार्क क्षेत्रलाई आतंकवाद सून्य क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राजधानीमा बुधबारबाट सुरु भएको अठारौ सार्क शिखर सम्मेलनको उद्घाटनका क्रममा बोल्दै आठवटै देशका कार्यकारी प्रमुखले आतंकवादलाई नै यस क्षेत्रको विकासको प्रमुख बाधकको रुपमा औल्याए । आतंकवादलाई न्यूनीकरण मात्र नभई निर्मुल नै पार्नुपर्ने उल्लेख गर्दै यसका लागि संयुक्त पहलको आवश्यकता रहेको उनीहरुको धारणा थियो ।
आतंकबाद, उग्रवाद हुदै धार्मिक अतिवादीहरुको जगजगि भइरहेको यो क्षेत्रलाई यसबाट मुक्त गर्न सके मात्र विकासको र समृद्धिलाई सहज हुने उनीहरुको भनाई थियो । सार्क क्षेत्रको शान्ति र समृद्धिका लागि सवल एकिकृत एवं अर्थपूर्ण एकताको अपरिहार्यतामा पनि सार्क राष्ट्रका कार्यकारी प्रमुखहरु एकवद्ध भएका छन् । ‘शान्ति र समृद्धिको लागि गहन एकता’ भन्दै राजधानीमा बुधबार आरम्भ भएको शिखर सम्मेलनको उद्घाटन सत्रमा अफगानिस्तान, बंगलादेश भुटान, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका राष्ट्र एवं सरकार प्रमुखहरुले यस्तो ऐक्यवद्धता जनाएका हुन् ।
राजधानी आएर मंगलबारबाटै भेटघाटमा सक्रिय रहेका उनीहरुले शिखर सम्मेलनमा यस क्षेत्रको विकासमा जोड दिए ।
तीन दशक लामो यात्रा पुरा गर्न लागेको सार्कले अझै पनि यसअघि गरिएको प्रतिबद्धता पुरा गर्न नसकेको अवस्थामा परिणाममुखी बनाउन ऐक्यबद्ध भएर लाग्नु पर्नेमा कार्यकारी प्रमुखहरुले जोड दिए । सदस्य देशबीच साँचो अर्थमा गहन एकताको अभिवृद्धि, व्यापार-वाण्ािज्य क्षेत्रको विकास गर्दै दक्षण्िा एसियाली स्वतन्त्र व्यापार सम्झौता -साफ्टा) सोचअनुरुप कार्यान्वयन हुन नसकेको भन्दै त्यसमा जोड दिएका हुन् ।
सार्कका संस्थागत संयन्त्रहरुको सुदृढीकरण, सार्क क्षेत्रमा वस्तु तथा सेवा व्यापारको अवरोधरहित ढुवानी र जनताको आवागमनका लागि साझा प्रतिबद्धताका साथ आवश्यक काम गर्न जरुरी रहेको भएकोमा सबैले औंल्याए । बहुआयामिक गरिबी घटाउन कृषि, स्वास्थ्य, सरसफाइ, महिला सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखेर दक्षिण एसियालाई समुन्नत क्षेत्रका रुपमा विकास गर्न स्रोत, साधन, प्रविधि तथा विज्ञान र प्रविधिको क्षेत्रले प्रतिपादन गरेका नवीनतमा साधनको बुद्धिमत्तापूर्वक उपयोग गर्न पर्नेमा पनि उनीहरुको जोड छ ।
सार्कमुलुकहरु बीच यातायात संजाल, रेल हवाईसेवा र ठूला आयोजनाको विकासमा उनीहरुले आ- आफ्ना धारणा ब्यक्त गरे । सार्कमा भएका प्रतिवद्धता पुरा गर्न यस क्षेत्रमा रहेको अविस्वाशलाई हटाउन पर्नेमा पनि उनीहरुको जोड थियो ।
सार्कलाई अगामी १५ बर्ष भित्र आर्थिक युनियनको रुपमा स्थापित गराउन यस्ता कार्यहरु अघि बढाउन पर्नेमा उनीहरुले जोड दिएका थिए ।
गरिवी निवारणको लक्ष्य र त्यसको यथार्थ, साझा ब्यापार साफ्टाको अनिवार्य लागू, यसका कमि कमजोरी, सडक संजाल, हवाई सेवा लगायतका विषयमा सबैले आफ्नो धारणा राखेका थिए । प्रजातान्त्रिकरणले यस क्षेत्रको विकासमा सहजता आएको भन्दै अव कार्यावन्यन पक्षमा जोड दिन लाग्नुपर्ने उनीहरुको धारणा थियो । भ्रष्टचार ब्याप्त रहेको यो क्षेत्रमा त्यसलाई सुन्यमा झार्ने संयन्त्र तयार गर्नु पर्नेमा पनि उनीहरुको जोड थियो ।
सचिवालयलाई बलियो बनाउने र सार्कलाई कार्यावन्यनमा ल्याएर अघि बढ्ने सबैको प्रतिबद्धता थियो । पर्यवेक्षकको भूमिकामा सन्तुष्ट रहेको भए पनि अहिले यस क्षेत्रको विकासलाई संस्थागत गरेपछि पर्यवेक्षक संग सहकार्यको आवश्यकतामा पाकिस्तानले औल्याएको थियो ।
सबै कार्यकारी प्रमुखले आफ्नो मुलुकको आन्तरिक राजनीतिक र विकासका कुरा पनि गरेका थिए । १८ औँ शिखर सम्मेलनको आयोजना र विशेष आतिथ्यताका लागि सबै कार्यकारी प्रमुखले प्रधानमन्त्री सुशील कोइराला र नेपाली जनतालाई विशेष धन्यवाद एवम् बधाई ब्यक्त गरेका थिए । उदघाटनमा सार्क महासचिव अर्जुनबहादुर थापाले सत्रौ सार्क शिखर सम्मेलन देखि अहिले सम्म भएको क्रियाकलापको विश्लेषण गर्दै सार्क सचिवालयको भूमिका र स्तरोउन्नतीको बारेमा सबैको ध्यानाकर्षण गराएका थिए ।