हेराहेर र हात मिलाउने काम समेत भएन , के धुलिखेलमा बोलचाल होला त मोदी र सरिफको ?
काठमाडौं, मंसिर ११ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनमा क्षेत्रीय एजेण्डा र मुद्दासँगै भारत र पाकिस्तानबीचको सम्बन्धले पनि निकै चर्चा पाएको छ । बुधबारको उद्घाटन सत्रमा दुवै देशका प्रधानमन्त्रीबीच बोलचाल र भेटवार्ता त परको कुरा एकआपसमा हेराहेर र हात मिलाउने काम समेत भएन ।
उद्घाटन सत्रमा अरु देशका राष्ट्र प्रमुखबीच कुराकानी भैरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले एकअर्कालाई देखे नदेखे झैं गरे ।
मोदीले भाषण गर्दा सरिफले आफ्नो ध्यान अन्तै लगे । सरिफले भाषण गर्दा मोदीले पत्रिका पढेर टारे ।
उद्घाटन सकिएपछि होटल सोल्टीमा सबै देशका प्रतिनिधिबीच आपसी हित र सम्बन्धको विषयमा महत्वपूर्ण छलफल भयो । तर भारत र पाकिस्तानबीच यस्तो छलफल र भेटवार्ता नै भएन । १३ वर्षअघि काठमाडौंमा भएको सार्क सम्मेलनमा दुवै देशका प्रमुखहरुले हात मिलाएको दृश्य सबैभन्दा चर्चित भएको थियो । तर यसपटक हात नमिलाएर र बोलचाल नगरेर चर्चा पायो ।
सार्कको पहिलो दिन भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच बोलचाल नभएपनि दोस्रो दिन अर्थात बिहीबार भने केही हुने धेरैले अपेक्षा गरेका छन् । सार्क सदस्य देशका राष्ट्राध्यक्ष÷ सरकार प्रमुख रिट्रीटका लागि बिहीबार बिहान काभ्रेको धुलिखेल पुग्दैछन् । रिट्रिटलाई सार्कको एउटा नियमित प्रक्रिया र आर्कषणको रुपमा लिइन्छ । सार्कको औपचारिक मञ्चमा द्विपक्षीय मुद्दा उठाउन नमिल्ने परम्परा रहेको कारण पनि रिट्रिटले बढी चर्चा पाउने गर्छ ।
रिट्रिटका समयमा सहभागी राष्ट्र÷सरकार प्रमुखबीच खुलेर एक आपसमा भलाकुसारी गर्दै आपसी हितमा मात्र सीमित नरही द्विपक्षीय समस्याका गाँठो फुकाउने अवसर पनि मिल्छ । त्यसैले धुलिखेलमा हुने रिट्रिटमा भारत र पाकिस्तानका दुई समकक्षीबीच भेटवार्ता र कुराकानी हुने सम्भावना छ । तर निश्चित छैन । बोलचाल भयो पनि यसले दुई देशबीचको तनाव कम गर्न तत्काल कुनै भूमिका निर्वाह गर्न नसक्ने परराष्ट्र विज्ञहरु बताउँछन् ।