Header Ads

सार्कको लागि यसरि ल्याइए ३२ गाडी भाडामा

काठमाडौं । सरकारले सार्कको १८ औं शिखर सम्मेलनका लागि भारतबाट भाडामा मगाएका ३२ वटा सुविधासम्पन्न मर्सिडिज तथा बिएमडब्लु गाडी मंगलबार साँझ काठमाडौं आइपुगेका छन्। बुधबार जाँच परीक्षण गरेपछि ती गाडी नेपाली सेनालाई हस्तान्तरण गरिनेछ। मंसिर १० र ११ गते काठमाडौंमा हुने सार्क सम्मेलनका बेला सहभागी हुने सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखका पति वा पत्नी, विदेश मन्त्री, पर्यवेक्षक राष्ट्रका प्रतिनिधिलाई ती गाडी उपलब्ध गराइनेछ। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीका अनुसार ती गाडी सार्क सम्मेलनभर सेनाका तालिमप्राप्त सैनिकले चलाउनेछन्। गाडी भारतको राजधानी नयाँ दिल्लीबाट ती गाडी सुनौली नाका हुँदै मंगलबार नेपाल प्रवेश गरेका थिए। भैरहवाबाट बिहान साढे १० बजेतिर काठमाडौं ल्याइएको हो। ३२ वटै गाडीलाई दिल्लीबाटै भारतीय चालकले चलाएर सुनौली हुँदै तीन दिनमा काठमाडौं ल्याइएको हो। 'बुधबार परीक्षण गरेपछि गाडी हामी बुझ्छौं,' नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले भने। 

 गाडी नयाँ दिल्लीबाट नोयडा, अलिघर, इथ, कननौज, लखनउ, फौजावाद, बस्ती, नौतनहवा, सुनौली, भैरहवा, बुटबल, नारायणगड, मुग्लिन हुँदै काठमाडौं ल्याइएको हो। ३२ गाडमा ६ वटा मर्सिडिजको 'एस क्लास' छन् भने बाँकी बिएमडब्लु र मर्सिडिजकै अन्य मोडल हुन्। परराष्ट्र प्रवक्ता अधिकारीका अनुसार ६ वटा 'मर्सिडिज एस क्लास' प्रतिकिलोमिटर १ सय ३८ भारतीय रुपैयाँ (करिब २ सय २० नेपाली रुपैयाँ) र बाँकी २६ वटा बिएमडब्लु तथा मर्सिडिज गाडी प्रतिकिलोमिटर ९९ भारतीय रुपैयाँ (करिब १ सय ५८ नेपाली रुपैयाँ) भाडा तिर्ने सर्तमा ल्याइएको हो।

 'गाडीले नयाँ दिल्लीबाट हिँडेदेखि नयाँ दिल्ली पुगुन्जेलसम्म जति किलोमिटर यात्रा गर्छन् त्यहीअनुसार हामीले पैसा दिने सहमति भएको छ,' परराष्ट्र प्रवक्ता अधिकारीले भने, 'गाडीमा लाग्ने तेल तथा मर्मत खर्च उनीहरूले नै व्यहोर्ने हो।' नयाँ दिल्लीबाट काठमाडौं आउन गाडीले करिब १ हजार १ सय किलोमिटर पार गर्नुपर्छ। यही आधारमा पनि ६ वटा 'मर्सिडिज एस क्लास' काठमाडौंसम्म ल्याउन र दिल्ली पुर्यािउँदा २९ लाख १४ हजार ५ सय ६० रुपैयाँ लाग्ने देखिन्छ। 

यस्तै, अन्य २६ गाडी दिल्लीबाट काठमाडौं र काठमाडौंबाट दिल्ली पुर्या१उँदा ९० लाख ६० हजार ४ सय ८० रुपैयाँ लाग्ने देखिन्छ। भाडामा ल्याइएका सबै गाडी दिल्लीबाट काठमाडौं र काठमाडौंबाट दिल्लीसम्म पुर्यााउँदा नेपाल सरकारले भारतलाई कम्तीमा पनि एक करोड १९ लाख ७५ हजार रुपैयाँ बुझाउनुपर्नेछ। सार्क सम्मेलनका बेला काठमाडौं भित्र गुड्दा थप भाडा लाग्नेछ। सार्क सम्मेलनका लागि परराष्ट्र मन्त्रालयले ७ वटा बुलेट प्रुफसहित १ सय ३९ वटा गाडीको माग गरेको थियो।

 सार्क सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखलाई आवश्यक पर्ने ७ वटा बुलेट प्रुफ गाडीमध्ये ६ वटा भारतले उपलब्ध गराएको छ भने एउटा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफूसँगै ल्याउनेछन्। भारतले सार्क शिखर सम्मेलन अवधिका लागि मात्र भनेर ६ वटा बुलेट प्रुफ गाडी नेपाललाई भाडा नलिने गरी उपलब्ध गराएको हो। यी गाडी दिल्लीबाट काठमाडौं र काठमाडौंबाट दिल्लीसम्म कार्गो जहाजबाट पुर्‍याउँदा लाग्ने खर्च भने नेपाल सरकारले व्यहोर्नेछ। 

बुलेट प्रुफ गाडी गत शनिबार काठमाडौं ल्याइएको थियो। परराष्ट्रले माग गरेअनुसार ७० वटा गाडी विभिन्न सरकारी निकायबाट उपलब्ध गराइएको छ भने २० वटा नयाँ किनिएको छ। सार्कका लागि नयाँ गाडी किन्दा अर्थले भन्सार र मूल्य अभिवृद्धि करमा छुट दिएको थियो।
भारतबाट ल्याएको गाडी धादिङको नौबिसेमा। तस्बिर : विजय राई
Powered by Blogger.