Header Ads

अर्काको नाममा रहेको जग्गा बिक्री गर्न खोज्नेलाई २ करोड जरिवाना

काठमाडौं, कात्तिक १५ । जग्गा किर्ते गरी बिक्री गर्न खोज्दा दुई वर्षअघि पक्राउ परेका २३ मध्ये १२ जनालाई जिल्ला अदालत भक्तपुरले जनही २ करोड १० लाखसहित कैद सजायको फैसला सुनाएको छ । काठमाडौं महानगरपालिका २५ बटु इन्द्रचोक बस्ने ५९ वर्षीय वीरमानन्द अग्रवालको नाममा दर्ता कायम रहेको जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा बिक्रीको प्रयास भएको थियो ।

मध्यपुर ठिमी नगरपालिका १६ लोकन्थलीस्थित अरनिको राजमार्गसँगै जोडिएको कित्ता नं. ३२३को ३ रोपनी ६ आना सक्कली जग्गाधनीलाई थाहै नदिई बिक्रीको प्रयास भएको थियो ।

आजको कान्तिपुर दैनिक लेख्छ –नेपाली नागरिकतासमेत नक्कली बनाई मालपोतको जग्गा स्रेस्तामा भएको सक्कली जग्गाधनीको फोटो निकाली नक्कली जग्गाधनीको फोटो टाँसेर ठगी गरेको पाइएकाले मालपोतका कर्मचारी कर्णबहादुर विष्टसहित ५ जनालाई जनही २ करोड १० लाख २९ हजार ८५ जरिवानासहित १ देखि ३ वर्ष कैदको फैसला भएको छ ।

 किर्ते गरी बिक्रीको अवस्थामा डोर पास गर्न लाग्दा २०६९ साउन १६ मा माफिया टोलीलाई प्रहरीले पक्राउ गरेको थियो । जग्गाधनी प्रमाणपुर्जा र नागरिकतासमेत नक्कली बनाई साविकको बजार मूल्य १६ करोड २० लाखमा बिक्री गर्न लाग्दा सक्कली जग्गाधनीले थाहा पाएपछि किर्ते गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

यसरी किर्ते गर्नेमध्ये मोरङ,सिजुवा–९घर भई मालपोत कार्यालय भक्तपुरका कर्मचारी कर्णबहादुर बिष्टलाई २ करोड १० लाख २९ हजार ८५ जरिवानासहित १ वर्ष कैद तथा सरकारी कर्मचारीले कसूर गरेबापत थप दुई वर्ष गरी कुल ३ वर्ष कैदको फैसला सुनाएको छ ।

Powered by Blogger.