Header Ads

भूकम्पका कारण क्षतिग्रस्त भएपनि लोडसेडिङ नबढ्ने प्राधिकरणको दाबि

काठमाण्डौ । भूकम्पका कारण करिब डेढ दर्जन जलविद्युत् आयोजना क्षतिग्रस्त भई १ सय ६० मेगावाट विद्युत् उत्पादन बन्द भए पनि विद्युत् प्राधिकरणले भने लोडसेडिङ बढ्न नदिने जनाएको छ ।

प्राधिकरणले नजिकिँदो वर्षाले नदीको बहावमा वृद्धि हुने हुँदा विद्युत् उत्पादन बढ्ने भएकाले लोडसेडिङ बढ्न नदिने जनाएको हो । प्राधिकरणले भारतबाट हाल २ सय १० मेगावाट बिजुली आयात गरिरहेको छ । त्यस्तै प्राधिकरणले हाल स्वतन्त्र ऊर्जा उत्पादकबाट १ सय ९ मेगावाट विद्युत् मात्र पाइरहेको छ ।

प्राधिकरणको आफ्नै आयोजनाबाट पनि २ सय ४५ मेगावाट उत्पादन भइरहेको छ । दैनिक विद्युत् माग १ हजार मेगावाटभन्दा बढी भए पनि हाल प्राधिकरणसँग ५ सय ६४ मेगावाट बिजुली उपलब्ध छ । त्यस्तै चुहावट नियन्त्रण तथा अनावश्यक समयमा ठूला उपभोक्तालाई बिजुली कटौती गर्ने जस्ता वितरण प्रणालीमा आन्तरिक व्यवस्थापन चुस्त पारेर लोडसेडिङ बढ्न नदिने प्राधिकरणको योजना छ ।

‘त्यस्तै परे क्यापासिटर थपेर भए पनि भारतबाट १५ र २० मेगावाट आयात बढाउन सकिएला,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने । प्राधिकरणका अनुसार अहिले चिलिमेसहित स्वतन्त्र ऊर्जा उत्पादकका आयोजनाबाट १ सय २५ मेगावाट विद्युत् आपूर्ति हुन सकेको छैन ।

 त्यस्तै प्राधिकरणको १० मेगावाटको सुनकोसी, २१ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट पनि सञ्चालन हुन सकेको छैन ।
Powered by Blogger.