Header Ads

सासुससुरा मिली गर्भवती बुहारीको हत्या गरेको खुलासा

चरिकोट, चैत २६ । दोलखाको भुषाफेदा गाविस–६ मा सासुससुरा मिली आठ महिने गर्भवती बुहारी लालुमाया तामाङको हत्या गरेको खुलासा भएको छ । नजिकैको गोल्फुपाखा जङ्गलमा १७ वर्षीया लालुमाया तामाङलाई आफ्नै सासु फुलमाया तामाङ र ससुरा असलमान तामाङले हत्या गरेका हुन् ।

लालुमायाको गत चैत १६ गते सोमबार वेवारिसे अवस्थामा शव फेला परेको थियो । छोराले प्रेम विवाह गरी बुहारी ल्याएको र सासुससुराले बुहारी नस्वीकारेपछि उनी गोठमा बस्दै आइरहेकी थिइन् । बुहारीको हत्यामा सासुससुराले योजना बनाई नजिकैको छिमेकी मनिस वाइवालाई समेत साथमा लिई बुहारीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

 प्रहरी प्रतिवेदनअनुसार हत्यामा सासु फुलमाया, ससुरा असलमान र छिमेकी वाइवा संंलग्न रहेको जनाइएको छ । उनीहरूले स्थानीय औजार कोदालो, ढुङ्गा र लात्तीको प्रयोग गरी टाउकोको छेदविछेद गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख अजय केसी बताए । घटनामा संलग्नहरूलाई कर्तव्य ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा चलाउने केसीले उल्लेख गर्नु भयो ।

मागापौवा गाविसकी तामाङलाई १६ महिना अगाडि चतुरमान तामाङले प्रेम विवाह गरेका थिए । प्रेम विवाहसँगै लालुमायालाई माइती पक्षले समेत स्वीकार नगरेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । मृतकका श्रीमान काभ्रेको धुलिखेल नगरपालिका–११ मा रहेको कोल्ड स्टोरका मजदुर हुन् ।
Powered by Blogger.