Header Ads

पत्याउनै गाह्रो : छ वर्षमा छ लाख छाक निःशुल्क जनभोजन

धादिङ, चैत २९ । मानवीय हितको कार्यक्रममा समर्पित प्रेमसागर फाउन्डेसन नेपालले स्थानीय बालबालिका र वृद्धवृद्धाका लागि छ वर्षका अवधिमा निःशुल्क रुपमा छ लाख बढी छाक खाना खुवाएको छ । द प्रेम रावत फाउन्डेसनका प्रमुख ‘बालयोगेश्वर’ एवं अन्तर्राष्ट्रिय शान्तिदूत प्रेम रावतको अवधारणामा चलेको सो फाउन्डेसनले गत वर्ष(२०७०चैत २८–२०७१ चैत २७)सम्म मात्र दैनिक ७८९–१,११३ सम्मका सहभागीलाई रु ५५ लाख ५८ हजार नौ सय १४ खर्च गरी एक लाख नौ हजार ७८१ छाक निःशुल्क भोजन गराएको थियो ।

पढ्न जाने उमेरका करिब ५०० विद्यार्थी बिहानीको ‘जनभोजन’मा समान रुपले विभेदरहित हिसाबले सरिक भई आआफ्ना विद्यालयमा पढ्न जान्छन् । जनभोजनमा दैनिक करिब १०० ज्येष्ठ नागरिक पनि लामबद्ध भई भोजन ग्रहण गर्छन् । “बाबुआमा काममा जाँदा बाध्य भई भोकै विद्यालय आउने विद्यार्थीको विद्यालय छाड्ने प्रवृत्ति रोक्न सो कार्यक्रम सञ्चालन गरिएको हो”, फाउन्डेसन नेपालका उपाध्यक्ष प्रेमराज ढुङ्गेलले जनभोजनको छैटौँ वार्षिकोत्सवका अवसरमा भन्नुभयो,“यसबाट विद्यार्थीको स्कुल छाडने प्रवृत्ति घटी ९५प्रतिशत विद्यार्थी नियमित रुपमा विद्यालयमा जान्छन् । ”

जनभोजनबाट लाभान्वित हुनेमा तसर्पु–३स्थित महाकाली उमावि, तसर्पु–७स्थित शिवशङ्कर प्रावि र तसर्पु–९स्थित आदर्श मावि, थाक्रे गाविस तथा नजिकैको मकवानपुर टिस्टुङ गाविसस्थित एक विद्यालय गरी नौ विद्यालयका विद्यार्थी छन् । फाउन्डेसनलाई नेपालका विभिन्न पाँच हजार व्यक्ति र संस्थाले आफ्नो जन्मदिन, पितामाताको पुण्यतिथिको स्मरणमा आर्थिक तथा भौतिक सहयोग गरेका छन् । यसमा जिविस धादिङ र तसर्पु गाविसले पनि केही आर्थिक एवं भौतिक सहयोग गरेका छन् ।

 फाउन्डेसनले दामेचौरमा रहेको आफ्नो करिब १५ रोपनी जग्गामा प्राङ्गारिक काउली, बन्दा, गोलभेंडा, च्याउ आदि खेती गरी वर्षमा छ महिना भोजनका लागि वार्षिक रु साढे दुई लाखको तरकारी पनि उत्पादन गरिरहेको बोर्ड सदस्य दुर्गादत्त घिमिरेले जानकारी दिनुभयो । जग्गामा स्याउ, एभोकाडो, आँप र लिची पनि लगाइएको छ । विश्वमा यस्तो कार्यक्रम अफ्रिकाको घाना, भारतको राँची र नेपालको धादिङमा मात्र सञ्चालित छ । धादिङमा त फाउन्डेसनले स्वास्थ्य, खानेपानी, कृषि तालिम तथा अभिमुखी कार्यक्रममार्फत आयआर्जन, बचत, जीविकोपार्जन, जीवनस्तर उठाउन तथा स्वास्थ र सरसफाइ एवं शैक्षिक चेतना वृद्धिमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पनि गरिरहेको छ । ‘मास्टरको जागिर जोगाउन हाम्रा बालबच्चा स्कुल पठाउने ?’ भन्ने सोचका बाबुआमाले बालबालिका विद्यालय पठाउन थालेपछि सात कक्षासम्म पढाउने विद्यालय १२ कक्षासम्म पढाउने भयो, भर्नादर बढ्यो, स्कुल छाड्ने काम घट्यो, पढाइको गुणस्तर बढ्यो, पढाइ छाडेकाहरु पनि पनि फेरि भर्ना भई क्याम्पस पढ्न थाले ।

“स्थानीय बासिन्दा बीच मेलमिलापमा वृद्धि भयो, आत्मसम्मान र आत्मअनुशासन बढ्यो, अझ उनीहरुमा आत्मविश्वास पनि बढेको छ ” फाउन्डेसनका महासचिव डोरनाथ न्यौपानेले भन्नुभयो । जनभोजन कार्यक्रमलाई विस्तार गर्न अन्य इच्छुक पनि देखिएका छन् । भुवनेश्वरी मावि, जीवनपुर–९ धार्केका प्रअ रामचन्द्र आचार्यले फाउन्डेसनले आसपासका विद्यालयमा पनि कार्यक्रम लागु गर्नुपर्ने सुझाव दिँदै आफ्नो विद्यालयमा कार्यक्रम अनुसरण गर्ने इच्छा व्यक्त गर्नुभयो । महाकाली उमाविका प्रअ टेकनाथ श्रेष्ठले जनभोजनले बालबालिकालाई पढ्न उत्प्रेरित गरेको तथा उचित पोषणयुक्त खानेकुरामार्फत विद्यालयप्रति आकर्षित गरेको बताउँदै अन्य क्षेत्रमा पनि त्यसको विस्तार गर्न सुझाव दिनुभयो । “पहिले ३०–३५ प्रतिशत ड्रप आउट हाम्रो विद्यालयमा अहिले आठ प्रतिशत मात्र हुन्छ, फाउन्डेसन यस क्षेत्रको मुटु हो ” आदर्श माविका प्रअ विष्णु गौतमले भन्नुभयो । आदर्श माविका पूर्व विद्यार्थी ऋजु बल( हाल दश जोड दुई अध्ययनरत)ले उच्च शिक्षा पढनेलाई पनि छात्रवृत्ति प्रदान गर्न आग्रह गरिन् ।

खान खान दुई घन्टा हिँडेर आउने शिवशङ्कर प्राविका कक्षा ४का छात्र आश्विन थापा र आदर्श माविका रोशनले फाउन्डेसन नै आफूहरुको भविष्य भएको बताए । आदर्श माविकै गौरी वाइवा( कक्षा ९ जसका दुई बहिनी र एक भाइ त्यहीँ खान्छन्)ले भनिन्–“फाउन्डेसनमा पारिवारिक वातावरण नै छ, दुई वर्षदेखि खाना खाएर विद्यालय जाँदा समय बचत भएको छ, पढ्न पाइएको छ, पढाइ पनि राम्रो भइरहेको छ । ” फाउन्डेसनले आफ्नो जग्गामा दुई लाख लि पानी अट्ने ट्यांकी पनि निर्माण गरेको छ जसबाट दैनिक दश हजार लि उपभोग हुने गर्छ । जनभोजनमा १७ स्वयम्सेवक छन् जो व्यवस्थापन, भान्छा र सरसफाइमा संलग्न छन् ।

“गुणस्तर कायम गर्न हरेक दिन एकै ब्रान्डका खाद्य पदार्थ पकाइन्छ, कति परिणामको के के पाक्यो, कति जनाले खाए सबै अभिलेख हुन्छ, खाना पकाउनुअघि हरेक व्यक्तिको हात र नाडीको जाँच हुन्छ, भान्छमा संलग्न हुनेले एप्रोन र टाउकामा भान्छको टोपी लगाउनै पर्छ, तरकारी क्लोरिन पानीले सफा गर्नुपर्छ, जुठा भाँडा पनि सफा र क्लोरिन पानीले माझिन्छ, यहाँ सबै कुरा पारदर्शी हुन्छ”–बोर्ड सदस्य घिमिरेले भन्नुभयो ।

 जनभोजन कार्यक्रम सञ्चालन भएको राँचीमा तालिम लिएर दामेचौरमा पनि सोही पद्धति अपनाइएको भान्छाका पूर्व ‘चिफ सेफ’ मूलपानीका रामकृष्ण पन्त(सोल्टी र मल्ल होटेलका पूर्व कर्मचारी) ले जानकारी दिनुभयो । दुई तीन महिना मात्र खान पुग्ने कोदो र मकै फल्ने दुई चार रोपनी पाखोबारी भएका मानिसहरुका बालबालिका होटेल र गाडीमा बालश्रमिकको भविष्य बनेको फाउन्डेसनमा लाग्ने हामीहरुको कुनै स्वार्थ छैन, यो विशुद्ध मानवीय हितको काम हो, यसबाट हामी सन्तुष्ट छौँ–उपाध्यक्ष ढुङ्गेल र बोर्ड सदस्य घिमिरेले एकै आवाजमा भन्नुभयो ।
Powered by Blogger.