Header Ads

राष्ट्रपति डा. रामवरण यादवले दिएको शुभकामना संदेश यस्तो छ !

काठमाडौँ, वैशाख १ । राष्ट्रपति डा. रामवरण यादवले नेपालीको चाहनाबमोजिम संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भई देशमा शान्ति, स्थिरता र समृद्धिको नयाँ युग प्रारम्भ हुन सकोस् भन्ने हामी सबैको आकाङ्क्षा रहिआएको बताउनुभएको छ ।

नयाँ वर्ष २०७२ सालका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले यो आकाङ्क्षा पूरा गर्न राजनीतिक दलले तात्कालीक लाभहानिभन्दा माथि उठेर राष्ट्र र जनताको दीर्घकालीन हितलाई सर्वोपरि राखी देशका सबै वर्ग र क्षेत्रले अपनत्व महसुस गर्ने संविधान दिन सक्नुपर्ने बताउनुभएको छ ।

उहाँले सन्देशमा मुलुकमा लोकतान्त्रिक संस्कार र पद्धतिको संस्थागत जग बसाउनका निम्ति पनि संविधानसभाबाट अविलम्ब संविधान जारी हुनु अपरिहार्य भएको उल्लेख गर्नुभएको छ ।

“प्राकृतिक साधनस्रोतको अभाव नेपाललाई छैन, प्रचुर मात्रामा उपलब्ध त्यस्ता साधनस्रोतको प्रभावकारी र न्यायपूर्ण परिचालन गरी हरेक नेपाललाई समृद्ध तुल्याउन सकिन्छ, त्यसका निम्ति राजनीतिक, आर्थिक, सामाजिक र भौगोलिक हिसाबले समेत एकताबद्ध भएर अघि बढ्नु जरुरी छ” सन्देशमा भनिएको छ ।

नववर्षसँगै देशमा नयाँ लोकतान्त्रिक संविधान जारी भई राजनीतिक स्थिरता, आर्थिक विकास र सामाजिक सद्भाव कायम हुन सकोस् भन्दै उहाँले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । ‘लोकतान्त्रिक संविधानबाट लोकतान्त्रिक परिपाटी’ उपराष्ट्रपति परमानन्द झाले नव वर्ष २०७२ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै जनचाहनाबमोजिम लोकतान्त्रिक संविधानको निर्माणबाट नै नेपालीमा जनप्रतिनिधिमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुन सक्छ भन्नेमा कुनै द्विविधा नभएको बताउनुभएको छ ।

नेपाली जनताले अनवरत रुपमा गर्दै आएको बलिदानपूर्ण सङ्घर्ष र जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागतरुपमा सुदृढ गर्नु नै आजको टड्कारो आवश्यकता भएको सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ । उहाँले सन्देशमा २०७२ सालमा सुख, शान्ति, आपसी समझदारी, सद्भाव तथा सहकार्यको वातावरण थप अभिवृद्धि होस् भन्ने कामनासमेत गर्नुभएको छ ।
Powered by Blogger.