Header Ads

राजपक्षबाट लुम्बिनी र चारुमतीको विकासमा सघाउने प्रतिबद्धता

काठमाडौँ, चैत १९ । चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले श्रीलङ्काका पूर्वराष्ट्रपति महीन्द राजपक्षसँग बुधबार कोलम्बोस्थित उहाँकै निवासमा भेटी नेपाल–श्रीलङ्काबीचको सांस्कृतिक सम्बन्धबारे कुराकानी गर्नुभयो ।

सो अवसरमा पूर्वराष्ट्रपति राजपक्षले लुम्बिनीको विकासमा नेपाल सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल र श्रीलङ्काबीच विशेष सम्बन्ध हुनुपर्नेमा जोड दिँदै चाबहिलस्थित चारुमती चैत्यको विकासमा पनि आफूले सहयोग गर्ने आश्वासन दिनुभयो ।

सो अवसरमा भिक्षु धम्मले राजपक्षलाई स्वयम्भू चैत्यको मूर्ति उपहार दिनुभएको थियो । मौर्यसम्राट् अशोकका छोरा महेन्द्र र छोरी सङ्घमिता श्रीलङ्कामा बौद्धधर्म प्रचार गर्न धर्मदूत र दूतिकाका रुपमा खटिनुभएको थियो भने अर्की छोरी चारुमती नेपाल आई चारुमती विहार स्थापना गरेर बसेकी थिइन् ।
Powered by Blogger.