Header Ads

‘यो हाम्रो उसलाई सम्झने बाटो हो’ हरिवंशकी स्वर्गीय पत्नीको सम्झनामा मीरा सेन्टर

गुणराज लुइँटेल संखु, काभ्रेपलाञ्चोक । चार वर्षअघि आजकै दिन वरिष्ठ कलाकार हरिवंश आचार्यको जीवनमा पत्नी मीराको निधनले अकल्पनीय दुःख ल्याएको थियो। त्यो घटनाले उनका आँखा धेरै दिन ओभाएनन्। पत्नी वियोगमा उनी एक वर्ष त सार्वजनिक जीवनमै पनि आउन सकेनन्। यी बितेका वर्षहरूले उनको घाउ अवश्यै कम गरेको छ। कम्तीमा उनी रुन छाडेका छन्। हो, उनी सोमबार देखिने गरी रोएनन्। तर, उनको भित्री मनको उदासी भने अनुहारमा प्रष्टै देखिन्थ्यो। हरिवंश र उनको परिवारकै लागि एउटा सन्तोषको विषय भने सोमबारदेखि थपिएको छ। त्यो हो– उनको पुर्ख्यौली थलो काभ्रेपलाञ्चोकको संखुमा स्थापना भएको मीरा सेन्टर। हरिवंशकी ती प्रिय मीराका सम्झना अब एउटा स्मारकका रुपमा उभिएका छन् त्यहाँ। सेन्टरभित्र स्थापित मीराको सालिक उनको निधनपछि हरिवंशको जीवनमा आएकी उनकी पत्नी रमिलाले अनावरण गरिन्। पत्नी रमिलाकै छेउमा उभिएर उदासीले भरिएका दृष्टिले हरिवंशले हेरिरहेका थिए। छेउमै थिए कान्छा छोरा मोहित। अनि उनको परिवारका सदस्यहरू। सबैले मीराको शालिकमा फूलमाला र अविर लगाइदिए। लाग्थ्यो– सबैजना उनलाई आफू पनि आएको जनाउ दिन चाहन्छन्।

मीराको असामयिक निधनले सम्पूर्ण कलाकार क्षेत्रलाई पनि शोकमा डुबाएको थियो। मीरा सेन्टर र त्यो सेन्टरमा स्थापित उनको शालिक अनावरण कार्यक्रममा चलचित्र र हाँस्य कलाको क्षेत्रमा सक्रिय धेरै कलाकारको उपस्थिति थियो। ती सबै उनको सालिक अघि उभिएर उनीप्रति श्रद्धा प्रकट गरिरहेका थिए। उनीसँगै उभिएर तिनीहरूले सेल्फी पनि खिचिरहेका थिए। समय अलि सहज भएको थियो। चाइल्डरिच नेपालको पहलमा जापानी राजदूताबास लगायत दर्जनौं संघसंस्थाहरूसमेतको सहयोगमा स्थापित मीरा सेन्टरले पाँच वर्ष उमेर नपुगेका बालबालिकाहरूलाई पूर्व स्कुल सेवा दिने भएको छ।

त्यस्तै ती बालबालिका र तिनका आमाहरू पनि यो सामुदायिक भवनबाट लाभान्वित हुनेछन्। जापानी राजदूत मासासी ओगावाले भवनको उद्‌घाटन गर्दै यस क्षेत्रमा बालबालिकालाई पूर्व स्कुल सुविधा उपलब्ध नभएकोले यो भवनले सेवा पुर्‍याउने आशा व्यक्त गरेका थिए। ‘यसले भविश्यका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ’ उनले भने, ‘यस्तो केन्द्र काठमाडौं टाढाको यो गाउँमा स्थापना किन गर्नु पनि आवश्यक भयो भने निजी क्षेत्रले संचालन गर्ने यस्तो केन्द्र निकै महँगो हुन्छ।’ चाइल्ड रिच नेपालका छिरिङ लामाले हरिवंशबाट प्राप्त भएको दुई रोपनी जग्गामा पूर्व बाल विकासका निम्ति यो केन्द्र स्थापनाका निम्ति सहमति गरेर प्रक्रियालाई अघि बढाएका थिए। भवन निर्माणका बेला स्वयंसेवी बिदेशी विद्यार्थीहरूले आएर जमिन सम्याउने र भवनको भित्तामा रङ लगाउने काम समेत गरेका थिए। सबैभन्दा महत्वपूर्ण त यो पुर्ख्यौली सम्पत्तिमा मीराका निम्ति पनि केही स्थान होस् भन्ने अपेक्षा परिवारले गरेको देखिन्थ्यो।

‘मान्छे भनेको सधैँ बाँच्दैन तर ऊ ४७ वर्षकै उमेरमा गई’ हरिवंशले मीराप्रतिका गहिरा भावनालाई समेट्दै भने, ‘यो हाम्रो उसलाई सम्झने बाटो हो।’ ‘हामी आफैँ त उसलाई सम्झन्छौं नै अरुले पनि सम्झिउन भनेर यो काम गरेका हौं' उनले अगाडि भने, ‘हाम्रो यो पुर्ख्यौंली जग्गामा उसको पनि अधिकार छ। यो ठाउँ हामीले उसका निम्ति बनाइदिएका हौं।’ हरिवंश पाहुनाको स्वागत र विदाइका निम्ति व्यस्त थिए। उनी बिहानै त्यो ठाउँमा पुगिसकेका थिए। मीरा सेन्टरको शिलान्यासका बेला झमझम झरी परिरहेको थियो। मानौं प्रकृति पनि त्यो बेला शोकमग्न थियो। उद्घाटनको दिन सोमबार भने दिन खुलेको थियो।

हरिवंशको अनुहार मलिन भए पनि मीराको स्मारकका निम्ति यति काम गर्न पाएको सन्तुष्टी देखिन्थ्यो। पहिलेको स्थितिलाई उनको जीवनमा सधैँ अभिन्न रहेका अर्का वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि सम्झना गरे। जग्गा पूजा गर्न आएका बेला उनलाई पनि निकै गाह्रो भएको थियो। ‘आज फेरि मीराको मूर्ति देखेपछि म फेरि अल्मिलिएँ' मदनकृष्णले भने, ‘फेरि मलाई लाग्यो अब धेरै भावुक हुनुपर्छ जस्तो मलाई लाग्दैन। त्यो भावुकताको क्षण परिवर्तन भइसक्यो।’ उनले अगाडि थपे, ‘मृत्यु अवश्यम्भावी छ। तर मीराको मृत्यु सम्मानित छ।’ भवन उद्घाटन, शालिक अनावरण, फोटो सेसन आदिइत्यादि सकियो। पाहुनाहरू विदा भए।

हिड्नेबेला भएपछि फेरि एक पटक मदनकृष्ण र हरिवंश (महजोडी)ले शालिकलाई बीचमा पारेर फेरि तस्विर खिचे। त्यो पंक्तिमा थपिइन् रमिला पनि। अनि अरुअरु सबै। हरिवंश आफैँ पनि कति धेरै भावुकतामा थिए होलान्। तर, तिनले त्यसलाई धेरै प्रकट हुन दिएका थिएनन्। धन्य, उनको परिवार र उनकी पत्नी रमिला सबैले स्थितिलाई सहज बनाइरहेका थिए। हामी हिड्यौं त्यहाँबाट। भावुकताको क्षण सकियो भन्ने मदनकृष्ण आफैं कतै डुबिरहेका थिए। उनले हरिवंश र मीराको सूर्यबिनायकमा विवाह भएको क्षणलाई सम्झिए। त्यो बेला आफू र पत्नी यशोदा, हरिवंशकी सासु र नव विवाहित दुलही मीरालाई ट्याक्सीमा राखेर घर लैजादै गर्दाको समय उनको मनमा थियो। ‘म कहिल्यै बिर्सन्न त्यो क्षण’ उनले भने, ‘त्यो बेला ट्याक्सीमा गीत बजिरहेको थियो– प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँकहाँ पुर्‍याउँछ कहिले हँसाउँछ कहिले रुवाउँछ...।'- सेतो पाटि बाट 
Powered by Blogger.