Header Ads

स्वाइन फ्लुबाट एमाले नेता रामनाथ ढकालको निधन

काठमाडौ, चैत २२ । एमाले पोलिट्ब्यूरो सदस्य रामनाथ ढकालको निधन भएको छ । निमोनिया र स्वाइन फ्लुबाट गम्भीर बिरामी ढकालको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अस्पतालमा आइतबार निधन भएको हो ।

ग्रान्डी अस्पतालका चिकित्सक प्रेम ज्ञवालीले ढकालको आइतबार दिउँसो एक बजेर ४० मिनेटमा निधन भएको पुष्टि गरे । स्वाइन फ्लू संक्रमण भएपछि ढकाललाई चैत १४ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा उपचारका क्रममा उनलाई दिल्ली लैजान १४ गते नै एयर एम्बुलेन्स समेत बोलाइएको थियो ।
तर, मौसमले साथ दिएन भने उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि १७ गते दिल्ली नलैजाने निर्णय भएको थियो । गुल्मीको खड्गकोटमा जन्मिएका ढकाल अखिलका पूर्व अध्यक्ष समेत हुन् । उनी अघिल्लो संविधानसभा/व्यवस्थापिकामा राज्य व्यवस्था समितिको सभापति थिए । गुल्मीको खड्गकोट, ३ मा २०१९ साल पुस ५ गते जन्मेका ढकालले २०३६ सालमा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए ।

उनी अनेरास्ववियुको बिभिन्न पदमा रहेर काम गर्दै २०५० सालमा अध्यक्ष भएका थिए । २०५१ सालमा गुल्मी क्षेत्र नम्बर १ बाट चुनाव जितेका ढकाल २०६४ सालमा रुपन्देही ४ बाट विजयी भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए । ढकाल ब्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको निवर्तमान सभापति पनि हुन् ।

उनका श्रीमती दुई छोरा र एक छोरी रहेका छन् । ढकालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिने र सोमबार विहान ८ वजे अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय बल्खुमा लगिने एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

पार्टी कार्यालयमा श्रद्धाञ्जली पछि सोमबार अपरान्ह अन्तिम संस्कार गरिने उनले बताए । नेता ढकालको निधन भएको खबर पाएपछि एमाले नेताहरु ग्राण्डी अस्पतालतर्फ गएका छन् । पार्टी उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव विष्णु पौडेल निधन अघि नै अस्पतालमै थिए
Powered by Blogger.