Header Ads

बन्दकर्ताले प्रहरीबाट खोसे हिसिला यमीलाई, पक्राउ परेका आन्दोलनकारी छुटाउन खोज्दा झडप

काठमाडौंं, चैत २४ । काठमाडौंको बिजुलीबजार क्षेत्र आज विहानैदेखि रणमैदानमा परिणत भएको छ । अपरान्ह सोही मोर्चाबाट प्रहरीले पक्राउ परेकी एमाओवादी नेतृ हिसिला यमीलाई बन्दकर्ताले प्रहरी नियन्त्रणमा फुत्काउने क्रममा ठूलै झडप समेत भयो ।

मोटरसाइकल आगजनी भएको स्थानमा विहानैदेखि तनाव भइरहेको थियो । सानो संख्यामा रहेका बन्दकर्ताहरु बिजुलीबजार पुल नजिकै प्रदर्शन गरिरहेका थिए । मध्यान्ह १२ बज्नुभन्दा केही बेर अघि प्रहरीको भ्यान आइपुग्यो । भ्यानमा बिभिन्न ठाउँबाट पक्राउ परेका बन्दकर्ताहरु भित्र थिए । उनीहरुले आफ्ना साथीहरुलाई सडकमा देखेपछि भित्रैबाट नारा लगाए ।

प्रदर्शनकारीहरुले भ्यान भित्रका साथीहरुलाई छुटाउनका लागि प्रयास गरे । शान्तिपूर्ण रुपमा सडकमा सुतेर भ्यान अघि बढ्न नदिने प्रयास गरिरहेको बेला प्रहरीले बल प्रयोग गरेको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य दिपेश पुनले बताए । उनले भने-हामीले भ्यान अघि बढ्न नदिन सडकमा सुतेर अवरोध गरेका थियौं तर प्रहरीले अत्यधिक बल प्रयोग गर्‍यो, हिसिला यमीलाई डिएसपी दानवहादुर कार्कीले पक्राउ गरेपछि हामीले फुत्काएर ल्यायौं ।

प्रदर्शनकारीहरुले भ्यान अघि बढ्न नदिएपछि प्रहरीले भ्यान ब्याक गरेको थियो । त्यसक्रममा उनीहरुले भ्यानको सिसा फुटाएपछि प्रहरी बल प्रयोग गर्न बाध्य भएको हो । त्यस क्रममा केही सेल अश्रु ग्यास प्रहार भएको थियो भने भने प्रहरीले लाठी र आन्दोलनकारीले ढुंगा प्रहार गरेका थिए । प्रहरीको प्रहारबाट ९ जना साथीहरु घाइते भएको क्रान्तिकारीका नेता दिपेशले बताए । त्यस मोर्चाको नेतृत्व हिसिला यमी र अग्नि सापकोटाले गरेका थिए ।-तस्बिर/अनलाइन खबर बाट 
Powered by Blogger.