Header Ads

आज फागुपूर्णिमा ! रङ्गहरुको पर्व होली अर्थात फागु यसरी मनाइँदैछ

काठमाडौँ, फागुन २१ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा पहाडी भेगमा आज र तराइ भेगमा भोलि भव्यताका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रङ्गीन बनाएर मनाउँछन् । नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागुपूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी गराउनुभयो ।

होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलि आएको हो । स–साना बच्चादेखि वृद्ध वृद्धासम्म सबैले होलीको मजा लिने गर्दछन् । होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर एक आपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ । फागुपूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हुल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर(विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भीमसेन मन्दिरमा राखिएको लिङ्ग(लग)लाई टोल टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी पुनः मन्दिरको पाटीमा राखिने परम्परा छ ।

संस्कृतिविद् तीर्थ श्रेष्ठका अनुसार सत्ययुगमा भगवान विष्णुका भक्त प्रल्हादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भइ असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको हो । होलीमा प्रयोग गरिने रङहरुको आ–आफ्नै महत्व रहेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतमको भनाइ छ ।

नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।
Powered by Blogger.