Header Ads

मलेसियामा जेट विमान आकाशमै ठोक्किए, पाइलट सुरक्षित

मलेसिया, एजेन्सी । आइबार मलेसियामा भइरहेको एउटा एयर शोको तयारी गरिरहेका दुई जेट विमान आपसमा ठोक्किएका छन् । अधिकारीहरुका अनुसार इन्डोनेसियन टिमको दुई विमानको पंखा आपसमा ठोक्किएर यो घटना भएको हो ।

विमानमा रहेका चारै जना पाइलट भने समयमै सुरक्षित रुपमा बाहिर निस्कन सफल भएका छन् । मलेसियन सैन्य अधिकारीले बताएअनुसार विमान नियन्त्रणबाहिर गएपछि पाइलट प्यारासुटको सहयोगमा विमानबाट हामफालेका थिए ।

यस विषयमा संचार माध्यमसँग कुरा गर्ने अधिकार नभएका कारण अधिकारीहरुले आफ्नो नाम बताउन अस्वीकार गरेका छन् । यो दुर्घटनामा कसैको मृत्यु वा घाइते नभएको बताइएको छ। यद्यपि विमानको टुक्रा भुँइमा खस्दा एउटा गाडी र एउटा घरमा आगो लागेको छ। चारै जना पाइलटलाई भने लंकाभीस्थित एउटा अस्पतालमा भर्ना गरिएको छ।

मलेसियाका रक्षामन्त्री हिशामुद्दिन हुसैनले अस्पतालमा पाइलटसँग भेट गरेपछि भनेका छन्–धन्य छ कि चारै जना पाइलट सुरक्षित छन् । उनीहरुको हौसलामा कुनै कमी आएको छैन ।

लंकाभीमा हुने अन्तर्राष्ट्रिय मेरिटाइम एण्ड एयरोस्पेस प्रदर्शनीमा भाग लिइरहेका पाँच टिममध्ये इन्डोनेसियाको टिम पनि संलग्न थियो । यो प्रदर्शनी १७ देखि २१ मार्चसम्म हुनेछ । -एजेन्सीको सहयोगमा
Powered by Blogger.