Header Ads

अब दरबारमार्ग र ठमेल चौबिसै घण्टा खुल्ने, तर डिस्को, डान्सबारमा पूर्ण साउन्ड प्रुफ प्रबन्ध गर्नुपर्ने

काठमाडौं, चैत १ । सुरक्षा असर पुर्याएको भन्दै रात्रिकालीन व्यवसाय अंकुश लगाएको स्थानीय प्रशासनले उपत्यकाको मुख्य पर्यटकीय र व्यापारिक केन्द्र दरबारमार्ग, ठमेल र पाटनको झमेल चौबिसै घन्टा खोल्न अनुमति दिने भएको छ ।

रात्रिकालीन गतिविधिलाई बन्देज गर्दा नकारात्मक प्रभाव परेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी आयुक्त कार्यालयले सर्तसहित सो क्षेत्रमा लागेको समयको अंकुश हटाउने तयारी गरेको हो । निश्चित समय तोकेर व्यवसाय बन्द गराउँदा सुरक्षा प्रबन्धबारे नकारात्मक सन्देश गएकाले सर्तसहित रात्रिकालीन समयमा बढी चहलपहल हुने क्षेत्रलाई चौबिसै घन्टा सञ्चालन गर्न दिने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिए ।
चौबिसै घन्टा व्यवसाय सञ्चालनका लागि स्थानीय प्रशासन र प्रहरीले केही सर्त राखेका छन् । आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माकाअनुसार रात्रिकालीन समयमा सडकसहित मुख्य क्षेत्रमा बत्ती, गतिविधि अनुगमनका लागि पर्याप्ट क्लोज सर्किट टेलिभिजन र निजी सुरक्षा गार्डको प्रबन्ध गर्नुपर्नेछ ।

रात्रिकालीन मनोरञ्जन व्यापारीका हकमा आन्तरिक सुरक्षा प्रबन्ध, सबै गतिविधि देखिनेगरी आन्तरिक र बाह्य क्लोज सर्किट टेलिभिजन, डिस्को, डान्सबारमा पूर्ण साउन्ड प्रुफ प्रबन्ध गर्नुपर्ने सर्त स्थानीय प्रशासनको छ ।

सर्तअनुसार पूर्वाधारका लागि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा प्रहरी र काठमाडौं महानगरपालिकासहितको टोलीले ठमेल र दरबारमार्ग विकास बोर्ड, स्थानीय व्यापारी र सरोकारबाला व्यक्तिसँग समन्वय गरिरहेको छ ।

 स्थानीय प्रशासनको सर्तअनुसार दरबारमार्ग विकास बोर्ड र सरोकारवाला व्यापारिक फर्मले सोर्य सडक बत्ती, व्यापारिक फर्ममा सिसिटिभीसहित सुरक्षा प्रबन्ध गरेकाले पहिलो चरणमा दरबारमार्गलाई २४ धण्टा खुल्ला गर्ने स्थानीय प्रशासनको तयारी छ । आजको नागरिक दैनिकमा खबर छ ।
Powered by Blogger.