बंगलादेशी प्रधानमन्त्रीले भारतले अम्पायरकै कारण जितेको भनेपछि
एजेन्सी । एघारौं विश्वकपअन्तर्गत भारत र बंगलादेशबीचको पहिलो क्वार्टरफाइनल खेल विवाद तानिएको छ । बंगलादेशले अम्पायरको गलत निर्णयका कारण आफ्नो टोली विश्वकपबाट बाहिरिनुपरेको आरोप लगाएको छ ।

यो आरोप लगाउनेमा बंगलादेशी प्रधानमन्त्री शेख हसिना स्वयं छिन् । उनले अम्पायरको गलत निर्णयका कारण बंगलादेश विश्वकपबाट बाहिरिनुपरेको बताएकी छन् । यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)मा बंगलादेशका सभापति रहेका मुस्तफा कमलले अम्पायरको गलत निर्णयका कारण बंगलादेश विश्वकपबाट बाहिरिनुपरेको बताएका थिए ।
उनले भारतीय टोलीले अम्पायरसँग खेल मिलेमतो गरेको आरोपसमेत लगाएका थिए । प्रधानमन्त्री हसिनाले पनि मुस्तफाकै समर्थनमा अभिव्यक्ति दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको आफ्नो टोली प्रतियोगिताबाट बाहिरिएसँगै बंगलादेशी पत्रपत्रिकाहरुले समेत अम्पायरलाई नै दोष दिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
