Header Ads

विश्वमा खेलाडीको ग्ल्यामर छविको चर्चा : यी हुन् सुन्दरी पौडीबाज


विश्वमा खेलाडीको ग्ल्यामर छविको चर्चा सधैं हुने गर्छ। केही यस्ता खेल पनि छन्, जसका खेलाडी खेल जीवनभन्दा ग्ल्यामरस छविका कारण बढी चर्चामा आउने गर्छन्। त्यस्तैमध्ये एउटा खेल हो, पौडी। विश्वमा चम्किएका पौडीबाज सुन्दरीहरूको चर्चा अन्य सेलिब्रेटीको भन्दा कम छैन।
नाताली कगलिन
इन्टरनेट प्रयोगकर्तामाझ गरिएको सर्वेक्षणमा सबैभन्दा 'सेक्सी' पौडी खेलाडीको उपाधि जित्न सफल पौडीबाज हुन्, नाताली कगलिन। पौडीको दुनियाँमा जमेपछि उनी चर्चाको शिखरमा पुगिन्। 
३० वर्षीया नातालीको नाममा १२ वटा ओलम्पिक स्वर्ण पदक छन्। पाँच फिट आठ इन्च अग्ली नातालीले समग्रतामा ४८ वटा अन्तर्राष्ट्रिय स्वर्ण जितेकी छन्। आफ्नै नाममा 'गोल्डेन गर्ल' पुस्तकसमेत लेखेकी नातालीले पौडीको दुनियाँबाट सन्न्यास लिए पनि चर्चाबाट ओझेल भने भएकी छैनन्।
मिसी फ्रान्क्लिन
अमेरिकाकी सुन्दरी मिसी फ्रान्क्लिन विश्व पौडीमा पछिल्लो समयकी चर्चित नाम हुन्। १९ वर्षीया मिसीले ओलम्पिकमा चार स्वर्ण जितेर आफ्नो नाम स्थापित गरिसकेकी छन्।
अमेरिका र क्यानाडाको दोहोरो नागरिकता भए पनि अमेरिकाका लागि खेल्ने निर्णय गरेकी मिसीका नाममा दुई सय मिटर ब्याकस्ट्रोकको विश्वकीर्तिमान छ। 
१७ वर्षको उमेरमा नै सन् २०१२ को लन्डन ओलम्पिक खेलेकी मिसीले हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा १४ स्वर्ण, पाँच रजत र तीन कांस्य जितेकी छन्।
रुइटा मिलेउट
लिथुआनियाकी नवप्रतिभा रुइटा मिलेउट पौडी पोखरीमा मात्र दमदार छैनन्, निजी जीवनमा पनि उत्तिकै चर्चित छिन्। १७ वर्षको कलिलो उमेरमै उनी चर्चाको शिखरमा छिन्। 
लन्डन ओलम्पिकमा पाँच सय र एक सय मिटर ब्रेस्ट स्ट्रोकमा स्वर्ण जितेकी छन्। यति सानो उमेरमा उनले उमेर समूहका सबै स्पर्धामा स्वर्ण जितेर नयाँ कीर्तिमान रचेकी छन्। 
अझ ओलम्पिकमा दुई स्वर्ण जित्दा त उनको उमेर केवल १५ वर्षको मात्र थियो। बेलायतको प्लाई माउथमा बसेर त्यहीँको विश्वविद्यालयमा अध्ययन गरिरहेकी रुइटालाई भविष्यकी स्टार पौडी खेलाडीका रूपमा लिने गरिन्छ।
ई सिविन
विश्व खेलकुदमा तहल्का मच्चाउन सफल चीन पौडीमा पनि आधिपत्य जमाउन तम्तयार छ। पौडीमा जम्ने प्रयासमा रहेको चीनकी एक प्रतिनिधि पात्र हुन्, ई सिविन। 
सन् २०१२ को लन्डन ओलम्पिकमा चार सय मिटर र दुई सय इन्डिभिजुएल मेड्लीमा स्वर्ण जितेकी सिविनको नाममा ओलम्पिक कीर्तिमान पनि छ। 
धावक पिता र लङ जम्पर आमाकी छोरी सिविन ६ वर्षको उमेरदेखि पौडी पोखरी धाउन थालेकी हुन्। सन् २००८ देखि चीनको राष्ट्रिय टिममा परेकी १९ वर्षीय सिविनबाट धेरै अपेक्षा राख्न सकिन्छ।
बिया र ब्रान्का
ब्राजिलका दुई जुम्ल्याहा बिया र ब्रान्का फेरेस 'सिन्क्रोनाइज्ड' पौडीका विख्यात खेलाडी हुन्। उनीहरू पौडी पोखरीभन्दा बाहिरी क्रियाकलापका कारण चर्चाको शिखरमा छन्। 
२५ वर्षीया यी दिदीबहिनी मोडलिङ र कलाकारिताको क्षेत्रमा बढी लोकप्रिय छन्। सन् २००८ को ओलम्पिकका लागि छानिए पनि उनीहरूले प्रतियोगितामा भाग लिएनन्।
सन् २०१२ मा आयोजना भएको लन्डन ओलम्पिकमा सहभागी भएका बिया र ब्रान्काको जोडी जिम्न्यास्टिकका पनि राम्रा खेलाडी हुन्। 
दुवैजना तीन वर्षको कलिलो उमेरदेखि खेल क्षेत्रमा लागेका थिए। अघिल्लो वर्ष आयोजना भएको विश्वकप फुटबलमा यी दुई दिदीबहिनी ब्रान्ड एम्बेसडर भएकाले धेरैको ध्यान खिच्न सफल भएका थिए।
रेबिका एडलिङटन
राम्री बन्न जसलाई पनि मन लाग्छ। खेलाडी पनि के कम। बेलायतकी पौडी खेलाडी रेबिका एडलिङटनले पनि राम्री बन्न 'कस्मेटिक सर्जरी' गरेर नाकको आकार घटाएकी छन्।
नाक ठूलो भएपछि दर्शकबाट समेत अपमानित हुनु परेकाले रेबिका धेरैपटक रोएकी थिइन्। त्यसैले उनले दर्शकको 'हुटिङ'बाट मुक्ति पाउन अन्तत: नाकको आकार घटाउने निर्णय लिएकी हुन्। उनले खेल जीवनको संन्यासपछि मात्र नाकको आकार घटाएकी हुन्।
दुई वर्षअघि एउटा रियालिटी सोमा भाग लिँदा पनि रेबिकालाई ठूलो नाकका कारण निकै हीनताबोध अनुभव भएको खुलासा गरेकी थिइन्। ठूलो नाकका कारण आफूले असुरक्षित महसुस गरेको उनले दी मेललाई दिएको अन्तर्वार्तामा बताएकी छन्। 
रेबिकाले 'कस्मेटिक सर्जरी' गरेर नाकलाई चिटिक्क बनाएपछि ऐनाअगाडि बस्दा खुसी लाग्ने गरेको बताउने गरेकी छन्। 
नाक निकै ठूलो भएकाले समर्थकले आफूलाई डल्फिनसँग तुलना गर्ने गरेको तथा डल्फिनजस्तै नाक र स्वभावका कारण पौडी खेल्न खप्पिस बनेको भनेर आलोचना गर्ने गरेको पनि उनले अन्तर्वार्तामा बताएकी छन्।
सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण पदक जितेकी रेबिकाले सन् २०१२ को लन्डन ओलम्पिकमा दुईवटा कांस्य पदक हात पारेकी थिइन्। लन्डन ओलम्पिक सकि एलगत्तै रेबिकाले पौडीबाट संन्यास लिएर आफ्नो सौन्दर्यमा ध्यान दिन थालेकी हुन्।
(एजेन्सीको सहयोगमा)
Powered by Blogger.