Header Ads

३० दलीय मोर्चाले सहमतिको जिम्मा सुशिल र प्रचण्डलाई दियो

काठमाडौं, चैत १ । प्रमुख चार राजनीतिक शक्तिले संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार बसेको बैठकले कांग्रेस र एमालेका तर्फबाट प्रधानमन्त्री कोइराला र ३० दलीय मोर्चाबाट दाहाललाई सहमतिका उपाय खोज्ने जिम्मेवारी सुम्पेको हो।

‘दलीय सहमतिको विकल्प छैन, अब दुई नेता बसेर अबको बाटो खोज्नुहुन्छ,’ एमाले उपमहासचिव घनश्याम भुसालले बैठकबारे जानकारी दिँदै भने। जिम्मेवारीअनुरुप कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला र मोर्चाका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष दाहालबीच आइतबार बिहान ८ बजे छलफल तय गरिएको छ। ‘दुई नेताबीचको छलफलबाट सहमतिमा संविधान जारी गर्नका लागि सकारात्मक कुरा आउँछ भन्ने आशा गरेका छौं,’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने। कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले असहमतिका विषयमा केन्द्रित भएर सहमतिको प्रयास गरिने बताए। ‘सहमति जुटेका विषयलाई लिपिबद्ध गर्दै संघीयताका सन्दर्भमा विभिन्न विकल्पसहित यथाशक्य छिटो सहमतिमा पुग्नुपर्छ भन्नेमा सबैको एकमत छ,’ बडूले भने। बैठकमा कांग्रेस र एमालेका नेताहरूले शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीमा दलीय सहमति जुटिसकेको बताउँदै त्यसलाई लिपिबद्ध गर्दै अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए।
सहमति जुट्न बाँकी रहेको संघीयताका विषयमा विभिन्न विकल्पसहित समाधान खोज्न सकिने उनीहरूको धारणा थियो। बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतमले संविधानसभाअन्तर्गतको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा कांग्रेस र एमालेले पेस गरेको नौबुँदे अवधारणालाई आधार बनाएर सहमति खोज्नुपर्ने धारणा राखेका थिए। ‘दुई दलले पेस गरेको नौबुँदे साझा धारणाप्रति हामी (कांग्रेस–एमाले) एकमत छौं,’ गौतमलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘त्यो नै अन्तिम होइन, सहमतिका लागि हामी अघि सारिएको साझा प्रस्ताव हो।’ तर, गौतमले जातीय आधारमा प्रदेश नामकरण गर्न नसकिने पुरानै अडान दोहोर्‍याउँदै विवादित रहेका पाँच जिल्लामा केही लचिलो बन्न सकिने धारणा राखेका थिए। कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेस र एमाले तथा मोर्चाबाट अघि संविधानका विवादित विषयमा अघि सारिएका नौ–नौ बुँदे धारणाबाट साझा बिन्दु खोज्नुपर्ने तर्क गरेका थिए।

‘तपाईंहरू (मोर्चा) को पनि नौबुँदे प्रस्ताव छ, हाम्रो (कांग्रेस र एमाले) पनि नौबुँदे नै धारणा छ, त्यसमा साझा विन्दु खोजांै,’ आचार्यले दलीय बैठकमा भनेका थिए, ‘विवादित विषयमा छिटो सहमतिमा पुगौं।’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कांग्रेस र एमालेले अघि सारेको नौबुँदे प्रस्तावमाथि मोर्चाको धारणा पुनः मागेका थिए। ‘हाम्रो नौबुँदे प्रस्तावमा तपाईंहरूको सोच के छ?’ भन्ने पौडेलको प्रश्नपछि एमाओवादी उपाध्यक्ष श्रेष्ठले नौबुँदे प्रस्तावमा अझै धारणा मागेकोमा असन्तुष्टि जनाएका थिए।

‘कांग्रेस र एमालेले नौबुँदे प्रस्ताव अघि सारेको यतिका समय भइसक्यो, अझै त्यसमा मोर्चाको धारणा माग्ने?’ श्रेष्ठलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘सहमति खोज्न बसको बैठकमा फेरि पनि त्यही पुरानो कुरा गर्ने हो भने हामी कतै पुग्न सक्दैनौं, यसले विश्वासको वातावरण बनाउँदैन।’ आजको नागरिकमा खबर छ । कांग्रेस प्रवक्ता बडूका अनुसार प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष दाहाल आइतबार बिहानबाट संघीयताकेन्द्रित भएर सहमति प्रयास थाल्नेछन्। दलहरू सबैभन्दा पेचिलो बनेको संघीयता र त्यससँगै आएको पाँच जिल्लाको विवाद टुंगो लगाउन विभिन्न विकल्पमा छलफल गर्न तयार भएका छन्।
- स्रोत-साभार/हाम्रो संदेशबाट
Powered by Blogger.