Header Ads

विश्वकप क्रिकेटमा क्वाटरफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्दै

काठमाडौ, चैत १ । विश्वकप क्रिकेटअन्तर्गत आज हुने खेलबाट क्वार्टरफाइनलमा पुग्ने दाउमा रहेका तीन प्रतिस्पर्धीबाट दुईको छनोट हुनेछ। समूह ‘बी’बाट भारत र दक्षिण अफ्रिका क्वार्टरफाइनलमा पुगिसकेका छन्। पाकिस्तान, आयरल्यान्ड र वेस्ट इन्डिजमध्ये दुई टिम क्वार्टरफाइनलमा पुग्नेछन्। आयरल्यान्डका माथिल्लो क्रमका ब्याट्सम्यान एड जोयसले पाकिस्तानविरुद्ध आइतबार हुने खेलबारे भनेका छन्, ‘हाम्रो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट खेल हो।’

जोयसले जस्तै आइरिस टोली र यसका समर्थकलाई यो खेलको महत्त्व राम्रोसँग थाहा छ। पाकिस्तानलाई हराउन सके एसोसिएट टोली आयरल्यान्ड पहिलोपटक विश्वकपको दोस्रो चरणमा पुग्नेछ। हार्ने टोली पनि अगाडि बढ्ने सम्भावना छ तर त्यस्तो अवस्थामा आयरल्यान्डको सम्भावना कम हुनेछ। वेस्ट इन्डिजले एसोसिएट टोली युएईसँग खेल्ने भएकाले नेट रनरेटमा कमजोर देखिएको आयरल्यान्डलाई जित हात पार्नुको विकल्प प्राय: देखिँदैन। पाकिस्तान र आयरल्यान्ड दुवैका लागि यो समूहगत चरणको अन्तिम खेल हुनेछ। आयरल्यान्डले समूहगत चरणमा वेस्ट इन्डिज र जिम्बावेजस्ता टेस्ट टोलीलाई हराएर सनसनी मच्चाइसकेको छ। साथै अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्डको माथि आउने भोक पनि छरप्रस्ट छ।

यस्तो स्थितिमा पाकिस्तानमाथि प्राप्त हुने जितले अघिल्लो चरण पुग्नेभन्दा ठूलो महत्त्व राख्नेछ। आयरल्यान्डले खासगरी ब्याटिङमा निकै राम्रो प्रदर्शन गरिरहेको छ। तर पूर्वविजेता पाकिस्तानमाथि जित हात पार्ने प्रयास आयरल्यान्डका लागि अहिलेको स्थितिमा ठूलो महत्त्वाकांक्षा हुनेछ। समूहगत चरणमा सुरुका दुई खेलमा हार बेहोरेर पनि उत्कृष्ट पुनरागमन गरेको पाकिस्तानले पछिल्ला तीन खेल जितेको छ। यसमध्ये पनि सबैभन्दा महत्त्वपूर्ण, अघिल्लो खेलमा दक्षिण अफ्रिकामाथि प्राप्त जित हो। पाकिस्तानको सबैभन्दा बलियो पक्ष भनेको उसको बलिङ हो जसका आधारमा यो दक्षिण एसियाली टोलीले जित यात्रा रचिरहेको छ।

पाकिस्तानका तीनजना बायाँहाते तीव्र गतिका बलर मोहम्मद इरफान, वाहब रियाज र राहत अलीको प्रदर्शन बेजोड देखिएको छ। पाकिस्तानका ब्याट्सम्यानमा कप्तान मिसवाह उलहकबाहेकको प्रदर्शन भरोसायोग्य छैन। यसैबीच आइतबार हुने अर्को खेलमा वेस्ट इन्डिज, आयरल्यान्डभन्दा बढी दबाबमा हुनेछ। दुईपटकको विजेता वेस्ट इन्डिजले समूहगत चरणको अन्तिम खेलमा एसोसिएट टोली युएईको सामना गर्दैछ। वेस्ट इन्डिजलाई क्वार्टरफाइनल प्रवेश गर्न युएईलाई हराउनैपर्ने दबाब छ।

वेस्ट इन्डिजले समूहगत चरणको पहिलो खेलमै एसोसिएट टोली आयरल्यान्डसँग हार बेहोरेको थियो। वेस्ट इन्डिजले फराकिलो जित हार पारेर नेटरनरेटमा पनि भारी सुधार गर्नुपर्नेछ। भारतसँग बाहेक अन्य खेलमा युएईले राम्रो ब्याटिङ गरिरहेको छ। मध्यक्रमका ब्याट्सम्यान साइमान अनवरले कीर्तिमानी प्रदर्शन गरिरहेका छन्। समूहगत चरणमा युएई भारतसँग मात्र अलआउट भएको थियो। यस्तो स्थितिमा वेस्ट इन्डिजले जित हात पारे पनि नेटरनरेटमा भारी सुधार गर्नु निकै चुनौतीपूर्ण देखिएको छ। वेस्ट इन्डिजको ब्याटिङ पनि स्थिर देखिन्न। – एजेन्सी
Powered by Blogger.