स्कुलमै खाइयो ५७ हजारको रक्सी, लेखापरीक्षणबाट बिल पास
धनगढी । कैलालीको गदरियास्थित जनता उच्चमाविका प्रधानाध्यापकलगायत शिक्षकहरूले स्कुलमै ५७ हजारको रक्सी सेवन गरेको बिल लेखापरीक्षणमा पास गराएका छन् । २०६९ सालको लेखापरीक्षणमा रक्सी खाएको बिल पास भएको तथ्य अहिले विद्यालयका शिक्षक दुई समूहमा विभाजित भएपछि बाहिर आएको हो।
प्रधानाध्यापक हरिप्रसाद यादवले मदिराका बिल पास गराएको आरोप अभिभावकले लगाएका छन्। 'विद्यालयलाई सरसस्वतीको मन्दिर मानिन्छ, विद्यालयबाट पाँच सय मिटरभित्रको क्षेत्रमा मदिरा बिक्री गर्न पनि पाइँदैन, तर प्रधानाध्यापकले मदिरा सेवन गरेका बिल पास गराएका छन्', अभिभावक चन्द्रबहादुर बोहोराले भने।
२०६९ सालको लेखापरीक्षणमा भोड्का, भर्जिन, जिन, बियर र मासुको गरी ५७ हजार रुपैयाँभन्दा बढीका बिल पास गराइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
गदरिया कैलाली सदरमुकामदेखि झन्डै ४० किलोमिटर पूर्वमा पर्छ।

'किताब राख्ने दराजका र्याकमा बियर र भोड्काका बोतल भेटिएका छन्, लेखापरीक्षणमा मदिरासँगै अन्य नक्कली बिल पनि पास भएका छन्', अध्यक्ष खेमराजले भने। शिक्षा मन्त्रालयको रकमबाट निर्माण भइरहेको सोही विद्यालयको दुईकोठे भवनमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरु पयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। भवन निर्माणका सबै कागज अख्तियारको नियन्त्रणमा छन्। 'तर जिल्ला शिक्षा कार्यालयले भ्रष्टाचार गरेको प्रमाणित भइसक्दासमेत प्रधानाध्यापक यादवलाई संरक्षण दिइरहेको छ', शिक्षक घनश्याम भट्टले भने। प्रधानाध्यापक यादवले विद्यालयमा हुने निरीक्षण र निर्माणका बेला केही मदिरा खाएको स्वीकारेका छन्। 'प्रधानाध्यापक नै यसरी जाँडरक्सीमा बिक्री हुन थालेपछि अरू शिक्षक कसरी अनुशासनमा बसून्? विद्यार्थीलाई कस्तो शिक्षा दिइरहेका होलान्', गदरिया पुगेका पत्रकारसँग अभिभावकहरूले भने, 'यहाँ भ्रष्टाचारी शिक्षकलाई राजनीतिका नाममा संरक्षण भइरहेको छ।'
शिक्षक श्यामलाल चौधरीले जागिर बचाउन प्रधानाध्यापक यादव र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गगनसिंह रानाका लागि आफूले विद्यालयमा मदिरा लगेको स्वीकारे। 'मलाई जागिरको डर थियो। मैले विद्यालयमा लैजान पटकपटक मदिरा बोकेको छु', उनले भने, 'विद्यालयको कोठामा मदिरा खाइन्थ्यो।' जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले छानबिन गरी दोषीमाथि कारबाही हुने बताएका छन्।
प्रधानाध्यापक यादव र विद्यालयका लेखापालले कागज मिलाएर वर्षमा १४ महिनाको तलब खाएको पनि भेटिएको छ। जिल्ला शिक्षा अधिकारी सिंहले १४ महिनाको तलब खानेबाट रकम असुलउपर गर्न र भ्रष्टाचारको आरोप लागेका प्रधानाध्यापक यादवको स्थानमा योग्यता पुगेका नयाँ व्यक्तिलाई नियुक्ति गर्न प्रक्रिया अघि बढाउन स्रोतव्यक्ति हरिकृष्ण पन्तलाई पत्र लेखिसकेको बताए। -अन्नपूर्ण पोस्टबाट
