सेक्स भन्ने कुरा नहुने हो भने जीवन नै हुँदैन -शुभेच्छा थापा

प्रेम भनेको मानिसका लागि पहिलो र अन्तिम कुरा बाँच्ने आधार हो । यो आधार सबैका लागि जरुरी छ । घरपरिवार सबैबीच प्रेम हुनुपर्छ । यो बिना कोही पनि मानिस बाँच्न सक्दैन । आपसी प्रेम र मायाबिना जीवन अगाडि बढ्नै सक्दैन, त्यसैले यो एकदम जरुरी छ । बिनाप्रेम मनुष्य जीवनको शुरूआत नै हुँदैन । मनुष्य जीवन शुरू हुन्छ नै प्रेम र मायाबाट । एकअर्काको प्रेमबिना बाँच्न सकिन्न, त्यसैले जीवनलाई सही रूपमा अगाडि बढाउन प्रेम अपरिहार्य छ ।
कुन उमेरमा गरिएको प्रेम सही हुन्छ ?
प्रेम र माया भन्ने कुरा जुनसुकै उमेरमा हुन सक्छ । तर यदि एउटा केटा र केटीबीचको माया प्रेम हो भने यो परिपक्व उमेरमा गरिएकै ठीक हुन्छ । टिनएजमा गरेको अजकल्टो हुन्छ । त्यस्तो प्रेम आफैंमा परिपक्व नहुन सक्छ । यो उमेरमा जीवनका बारेमा निर्णय गर्न सक्ने विकास पनि भएको हुँदैन ।
तपाईंको जीवनमा प्रेम कतिपटक भयो ?
मेरो जीवनमा प्रेम धेरै पटक भयो । फिल्मी जीवनमा, फिल्ममा धेरै पटक प्रेम भए पनि वास्तविक जीवनमा भने एकै जनासँग प्रेम भयो । प्रेम पनि एकै पटक भयो, बिहे पनि एकै पटक भयो । जोसँग प्रेम भयो, बिहे पनि उसैसँग भयो ।
रोमान्स भनेको के हो ?
रोमान्स भनेको मान्छेमा भित्रैदेखि उत्पन्न हुने खुसी हो, अन्तर आत्मादेखिको मीठो भाव उत्पन्न हो । यो भाव उत्पन्न भएपछि नै रोमान्स हुन्छ । मानिस बाहिरी दुनियाँमा पनि रमाउन थाल्छ । यदि कपलबीचको रोमान्सको कुरा हो भने एकअर्कासँग प्रेम माया गर्नुहुन्छ भने संस्कारभित्र बसेर रोमान्स गर्नु राम्रो हुन्छ । यसका लागि सेप्रेट ठाउँ भएको राम्रो हुन्छ।
रोमान्सको बाधक के हो ?
रोमान्स एकदमै खुला माहोलमा भिजेर पनि लिन सक्छौं । तर यो वातावरण र परिस्थितिअनुसार हुन्छ । रोमान्स लिने कहाँसम्म भन्ने हुन्छ । तर संस्कारभित्र बसेरै रोमान्सको मज्जा लिनुपर्छ । रोमान्स भन्दैमा जे पनि गर्नुहुन्छ भन्ने हो भने त्यो ठीक हुँदैन । यो मान्छेपिच्छेको सोचमा पनि भर पर्छ । रोमान्सको बाधक संस्कार नै हो । हाम्रो जुन संस्कार छ, त्यसलाई कसरी लिने भन्ने कुरा पनि हुन्छ । तर संस्कार नै बिर्सनचाहिँ हुँदैन ।
रोमान्सबिनाको जीवन कस्तो होला ?
हरेक मान्छे जीवनमा रोमान्टिक हुनु जरुरी छ । दु:खपछिको सुख भनेजस्तै प्रेमपछि आफसेआफ रोमान्स हुन्छ । रोमान्स गर्न जानेन भने लाइफलाई ब्यालेन्स गरेर अगाडि बढाउन सकिँदैन ।
सेक्सको परिभाषा कसरी गर्नुहुन्छ ?
मान्छेको लाइफ सेक्सबाटै शुरूआत हुन्छ । सेक्स भन्ने कुरा नहुने हो भने जीवन नै हुँदैन थियो । भगवान्ले केटा र केटी बनाइदिएको नै जीवनको शुरूआत होस् भनेर हो ।
बिहेअगाडिको सेक्सलाई के भन्नुहुन्छ ?
म बिहेअगाडिको सेक्सलाई मान्दिनँ । हाम्रो सामाजिक संस्कारले पनि बिहेअगाडिको सेक्सलाई अनुमति दिँदैन । हामी जतिसुकै एड्भान्स भए पनि, जति खुला भए पनि हाम्रो संस्कार र संस्कृतिभन्दा बाहिर जान सकिँदैन । यसैले नै मानिसको जीवनलाई सुन्दर बनाएको छ र सेक्सको महत्वलाई
बढाएको पनि छ ।
दुईबीच मन मिले पनि बिहेअघिको सेक्स ठीक हुँदैन ?
मन मिले सेक्स होइन, बिहे गर्नु । हाम्रो संस्कार नै त्यही हो । बिहे नै गर्न नमिल्ने हो भने मान्छेको मन जता पनि बहकिन सक्छ, जता पनि जान सक्छ । तर मनलाई कन्ट्रोल गर्न सक्नुपर्छ । मनलाई कन्ट्रोल गर्न सकेन भने दुर्घटनामा पर्न सकिन्छ ।
तपाईंको सेक्स अनुभव ?
मेरो सेक्स अनुभव नै मेरो विवाह हो । मेरो लभ म्यारिज हो । १६ वर्षको थिएँ, सेक्स बिहेपछि भयो । यसबाट सुखी र खुसी छु ।
कुन उमेरको सेक्स रिलेसन ठीक हुन्छ ?
कुन उमेरको भन्दा पनि सेक्स रिलेसन राख्न माया हुनु पर्यो । मेरो पनि सानै उमेरमा बिहे भयो । डिसाइड गर्न सक्ने उमेर त थिएन । तर जीवनलाई सन्तुलित राख्न समर्थ भएँ । व्यावहारिकदेखि सबै कुरामा सोच्न सक्ने भएपछि सेक्स रिलेसन राख्नु ठीक हुन्छ । सेक्सका लागि पनि परिपक्व उमेर भएको राम्रो हुन्छ ।
बिहेपछि सेक्स सस्तो लाग्छ रे नि ?
म यो कुरा मान्दिनँ । बिहेपछि भनेको त कन्फिडेन्ट हुन्छ, मर्यादित हुन्छ । बिहेपछिको सेक्स मर्यादित र मीठो हुन्छ ।
सेक्सका लागि कस्तो ठाउँ उपयुक्त र रोमान्टिक हुन्छ ?
यदि हसबेन्ड वाइफ हो भने संस्कारभित्रको स्थान ठीक हुन्छ । बेडरुमजस्तो रोमान्टिक ठाउँ अरु के हुन्छ र ?नबुझी नजानी र आकर्षणको हिसाबले मात्र सेक्स रिलेसन बनायो भने त्यो असुरक्षित मात्र होइन, त्यसले दुर्घटना पनि गराउन सक्छ ।
फिल्ममा सेक्स जरुरी छ ?
फिल्ममा सेक्स जरुरी त छ । तर त्यसलाई कसरी फिट गर्ने र प्रिजेन्ट गर्ने भन्ने कुरा हुन्छ । फिल्म मान्छेको जीवनलाई लिएरै बन्ने भएकाले जरुरी चाहिँ छ । स्रोत/हाम्रो संदेशबाट
