खाडीदेखि अफ्रिकासम्मका डान्स बारमा नेपाली युवती
पछिल्लो समय अफ्रिकी तथा खाडी मुलुकमा यौनधन्दाका लागि नेपाली युवतीको तस्करी हुने गरेको पाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो। मानव तस्करले डान्सबारमा काम गर्दा उच्च पारिश्रमिक दिलाउने आस देखाएर नेपाली युवतीलाई त्यस्ता मुलुकमा पुर्याई जबरजस्ती यौनधन्दामा लगाउने गरेका पाइएको छ।
विशेषगरी भारतीय बाटो भएर नेपाली युवती लैजाने गरिएको सीआईबीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

सीआईबीका अनुसार मानव तस्करले युवतीलाई भारतमा पु:याएपछि डान्सबारमा काम गर्न ‘इन हाउस’ तालिम दिएर दक्षिण अफ्रिका तथा खाडी मुलुकमा लैजाने गरेका छन्। तस्करले कसैलाई पर्यटक भिसा र कसैलाई कामकै लागि भनेर सरकारबाट श्रम स्वीकृति लिएरै पनि लैजाने गरेका छन्। तस्करले भारतसँगै थाइल्यान्ड, तान्जेनिया, नाइजेरिया, केन्यासम्म नेपाली युवती लैजाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सीआईबीका अनुसार १६ वर्षकी युवतीदेखि ३५ वर्षकी महिलासम्म तस्करको निसानामा पर्ने गरेका छन्। तस्करले दुईवटा रुटबाट युवती लैजाने गरेको सीआईबीले जनाएको छ।
काठमाडौंबाट सीधै दुबई तथा नयाँदिल्ली हुँदै दुबई र अफ्रिकी मुलुक (तान्जेनिया, नाइजेरिया र केन्या) सम्म युवतीलाई विभिन्न बहानामा लैजाने गरेका हुन्। युवतीलाई गन्तव्यमा पु:याएपछि भने मसाज पार्लर र यौनजन्य क्रियाकलापमा लगाउने गरेको प्रहरीले जनाएको छ। सीआईबीका अनुसार चार तहका तस्कर समूह सक्रिय छन्। वैदेशिक अपराध सेल हेर्दै आएकी सीआईबीकी एसपी किरण बज्राचार्य भन्छिन्, ‘तस्करले वैध रूपमा युवती लिएर गए पनि सुरुमा तान्जेनियामा पाँच महिना पर्यटक भिसामा राख्ने गर्छन्। त्यहाँ डान्सबार र मसाजमा काम लगाउने तथा यौनशोषण गर्छन्। पछि त्यहाँबाट दुबई ल्याउने र दुबईमा पाँच महिना त्यस्तै काम लगाएपछि मलेसिया लैजाने गर्दै आएका छन्। मानव तस्करको जालो ठूलो छ।’
परराष्ट्र मन्त्रालयले त्यस्ता युवतीको उद्धारका लागि प्रयास गरे पनि विभिन्न कठिनाइ देखिएका छन्। ‘पीडितसँग केही प्रमाण हुँदैन। उनीहरूका क्रियाकलाप गोप्य राखिएका हुन्छन्। राहदानी जफत गरिएको हुन्छ’, बज्राचार्यले भनिन्। नेपालबाट वैदेशिक रोजगारका लागि जाने मुलुकमा नेपाल प्रहरीको श्रम सहचारी राख्ने अवधारणा पनि त्यस्ता युवतीको उद्धारसँगै पीडकमाथि कानुनी कारबाही गर्ने अभिप्राय हो। सीआईबीका प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीका अनुसार सुरुमा छुट्टै काम भनेर लैजाने अनि पछि यौनजन्य क्रियाकलापमा लगाउने गरेको सूचना प्रहरीसँग छ।
‘हामीले सूचनाकै आधारमा सम्बन्धित मुलुकको आधिकारिक निकायसँग समन्वयमा अनुसन्धान गरिरहेका छौं’, ठकुरीले भने। सीआईबीका अनुसार कतिपय युवती भने आफूखुसी पनि मसाज पार्लरमा काम गर्न गएका छन् भने कतिपय बाध्यताले यौनजन्य क्रियाकलापमा सहभागी भएका छन्।
सीआईबीले गत माघमा नेपालबाट भारत पुर्याई तीनचार महिना राखेर पोल्यान्ड पठाएको आरोपमा गणेश पुरी र काजकिस्तानमा बसेर नेपाली युवती लिन आउने एजेन्ट भुवन अधिकारीलाई पक्राउ गरेको थियो। उनीहरूलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ।-सम्बादमिडियाबाट
