Header Ads

मोहन वैद्यविरुद्ध श्रीमतीको विद्रोह ! ‘मर्ने बेलामा हरियो काँक्रो’ भन्न नहुने रहेछः सुष्मा

काठमाडौं, चैत्र १२ । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यकी श्रीमती सुष्मा वैद्यले श्रीमानको इच्छा विपरित आफूले पढ्न सुरु गरेको बताएकी छन् । बुधबार बेलुकी बिबिसीका रबिन्द्र मिश्रसँगको अन्तरवार्ताका क्रममा सुष्माले यस्तो बताउँदै आफूले श्रीमानको चाहनाविपरितै पढ्न सुरु गरेको बताइन् । ‘मैले पढ्ने कुरा गर्दा सर (श्रीमान मोहन वैद्य) ले अरुले के के भन्लान्, फलानाको श्रीमति भन्लान् भयो पर्दैन भन्नुभयो तर, मेरो मनले मान्दै मानेन्’, उनले भनिन्, ‘जे सुकै होस् म जान्छु, पढ्छु तपाईँ सुकै भन्नुस् भनेर भर्ना गरेर स्कुल सुरु गरेँ ।’

उनले श्रीमानले समाजका लागि विद्रोह गरेजस्तै घरमा आफूले श्रीमानविरुद्ध विद्रोह गरेको मौन स्वीकार गर्दै शिक्षा लिनको लागि संघर्ष गर्दा विद्रोह नै भन्न भने नमिल्ने बताइन् । उनले तत्कालिन युद्धताका माओवादीले बुर्जुवा शिक्षा भन्दै त्यसलाई बहिस्कार गर्ने प्रयास गरेपनि यहि शिक्षाको निकै महत्व भएको समेत बताइन् । ‘उहाँहरु पनि त त्यही बुर्जुवा शिक्षा पढेर युद्धमा जानुभएको हो नि त, ’ उनले प्रष्ट्याउँदै भनिन्, ‘मलाई युद्धको ज्ञान भयो, सबै कुराको ज्ञान भयो तर पढाईको ज्ञान नहुँदा कताकता पछुतो लागेको थियो र पढेँ । उनले माओवादी आन्दोलन ताका विद्यार्थी तथा बालबालिका प्रयोग भएकोबारे बचाउ गर्दै कतिपय इच्छाले युद्धमा होमिएको तर जबरजस्ती नभएको दाबी गरिन् ।

५८ वर्षीया बैद्यले आफूले बुढेसकालमा पढ्न थाल्नुको रहस्य खोलेकी छन् । ५२ वर्षको उमेरमा औपचारिक शिक्षा लिन सुरु गरेर यसैवर्ष एसएलसी परीक्षा दिँदै गरेकी उनले भनिन्–बाल्यकालमा पढ्नुको साटो घाँस, दाउरा गरेर विताएँ, पछि गएर नपढेकैले समस्या भोग्नु पर्यो । उनले अगाडी भनिन्, युद्धमा हिँडेपछि इन्डियातिर पनि जानुपर्ने पूर्व पश्चिमपनि गरिहनु पर्ने । तर केहि पढ्न नजानेपछि साह्रै नमज्जा लाग्यो र पढ्नुपर्छ भन्ने लाग्यो ।
इन्डियामा पसलमा सामान किनेपछि पैसा सोध्दा अंग्रेजीमा ४४ भन्यो तर मैले बुझिन अनि हिन्दीमा भन्न लगाएँ, तर, त्यति नै बेला लाग्यो नपढेर म निकै पछि परेँ, अनि घर फर्किएपनि छोरीलाई सानो किताव किन्न लगाएर दुई दिनसम्ममा त हन्ड्रेड कण्ठै पारेँ ।’ उनले आफूले बिस्तारै घरमै अक्षरहरु पढ्न जान्न थालेपछि थप पढ्नुपर्छ भन्ने महशुस भएर पछि औपचारिक रुपमा विद्यालय नै जान थालेको बताइन् ।

आफूले औपचारिक रुपमा पढ्न थालेपछि किनै राम्रो गरेको बताउँदै उनले कक्षा २ मा त अग्रेजीमा ९२ नम्बर ल्याएको बताइन् । आफ्नो एसएलसी अनुभव सुनाउँदै उनले अरु विद्यार्थीले जस्तै सबै प्रश्नका उत्तरहरु हल गरेर भ्याउन भने निकै मुस्किल पर्ने गरेको बताइन् ।

उनले शिक्षा लिन बुढेसकालले नछेक्के भन्दै भनिन् , ‘भन्न त मान्छेले मर्ने बेलामा हरियो काँक्रो भन्छन् तर, मान्छेले शिक्षा लिन त त्यस्तो भन्न नहुने रहेछ ।’ उनले यसपाली एसएलसी पास नभई हालेपनि २–४ वर्षमा भएपनि पास गरिछाड्ने भइछाड्ने अठोट गर्दै पढ्न भने कुनै पनि हालतमा नछाड्ने बताइन् ।-राजकुमार सिग्देल/रातोपाटी डट कम
Powered by Blogger.